रूपन्देहीमा ८ वर्षका बच्चालाई जिउँदै गाडेको आरोपमा उनकै बाबुसहित चार जना पक्राउ परेका छन्।
रूपन्देही जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी हेमकुमार थापाले केही बेरअघि नेपालखबरलाई दिएको जानकरीअनुसार बच्चाको शवसहित उनका बाबु र अन्य तीन जना पक्राउ गरिएको हो।
उनका अनुसार रूपन्देहीको बुटवल उपमहानगरपालिका वडा नम्बर ११ प्रगतिनगरका ८ वर्षीय राजेश परियारलाई गाडिएको अवस्थामा फेला पारिएको हो। उनलाई त्यही जिल्लाकाे तिलोत्तमा-४ को जंगलमा बोरामा लगेर गाडिएकाे थियाे।
एसपी थापाका अनुसार ती बालक लामाे समयदेखि बिरामी थिए। त्यसका लागि उनका बाबुले गाउँमा चन्दासमेत जम्मा पारेका थिए। तर शुक्रबार बिहान अचानक ती बालकलाई जिउँदै गाडेकाे खबर आएपछि प्रहरी टाेली पुग्दा गाडिएकाे अवस्थामा फेला पारिएकाे हाे। तर उनकाे मृत्यु भइसकेकाे थियाे।
एसपी थापाले घटना विस्तृत रुपमा खुलाउन चाहेनन्। ‘अहिले सबै कुरा नखुलाऔं,’ उनले भने, ‘यसबारे गम्भीर ढंगले अनुसधान सुरु गरेका छौं।’
बुटवल इलाका प्रहरी कार्याल्यका प्रमुख डीएसपी प्रतीकसिंह ठाकुरका अनुसार ती बालकलाई उद्धार गरी अस्पतला पुर्याइएको थियो। तर चिकित्सकले तत्काल मृत घोषणा गरे।
त्यसपछि सुरक्षा र घटना अनुसन्धान दुवैका हिसाबले ती बालकका बाबु ३६ वर्षीय राजु परियारसहित अन्य तीन जनलाई पक्राउ गरिएको उनले बताए। उनले पनि अन्य तीन जनाको नाम खुलाउन चाहेनन्।
बच्चा जिउँदै गाडेकाे भनेर गाउँलेले घेरा हालेपछि मृतकका बाबुसहित अन्य तीन जनालाई अहिले वडा प्रहरी कार्यालयकाे नियन्त्रणमा राखिएकाे डीएसपी राठाैरले नेपालखबरलाई बताए।
बाबु राजु परियारले भने छाेराे मरिसकेपछि गाडेको प्रहरीसमक्ष बताएका छन्। पोस्टमार्टम रिपोर्ट आएपछि मात्र यसको निर्क्याेल हुने प्रहरीले जनाएको छ।

प्रतिक्रिया