जी-७ देशकोतर्फबाट रूसको तेलको मूल्य प्रतिब्यारल ६० डलरसम्म सीमित गर्ने निर्णयपछि सोमवार अन्तरराष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा उछाल आएको छ।
अन्तरराष्ट्रिय बजारमा बिक्री हुने ब्रेन्ट क्रुडको मूल्य एसियाली कारोबारमा करिब एक प्रतिशतसम्म बढेको हो।
पश्चिमी देशले युक्रेनमा हमलापछि रूसमाथि दबाब बढाउने उद्धेश्यले यो सम्झौता गरेका थिए। जसको असर सोमबमारदेखि नै देखिन थालेको हो।
घट्दो विकास दर र बढ्दो ब्याज दरबीच ओपेक प्लस देशकोतर्फबाट तेल उत्पादन घटाउने निर्णयमा अडिग रहेपछि यो सम्झौता भएको हो।
ओपेक प्लस २३ तेल नियार्तक देशको एक समूह हो, जसमा रुस पनि सामेल छ। अन्तरराष्ट्रिय बजारमा कति कच्चा तेल बेच्ने, यो तय गर्नका लागि यो समूह निश्चित समयमा जुट्छ।
गत साता जी-७ र अस्ट्रेलियाले एक संयुक्त वक्तव्य निकालेर रूसी तेलको मूल्यमा ६० डलर प्रतिब्यारलको सीमा सोमवारदेखि लागु हुने जनाएका थिए। यस समूहले यो निर्णयबाट युक्रेनमाथि हमला गरेपछि रूसलाई नाफा कमाउनबाट रोक्ने दाबी गरेको छ।
यस सम्झौताको सिधा अर्थ भनेको ६० डलर प्रतिब्यारल या त्यसभन्दा कम मूल्यमा खरिद गरिएको रूसी तेललाई मात्रै जी-७ र युरोपेली संघको ट्यांकरमार्फत पठाउन सकिनेछ।
यस कदमबाट रूसका लागि आफ्नो तेल उच्च मूल्यमा बेच्न मुस्किल हुनेछ। किनकि धेरै ठूला सिपिङ र बीमा कम्पनी जी-७ देशमा छन्।
जी-७ विश्वका सबैभन्दा धेरै अर्थव्यवस्था भएका मुलुकको समूह हो। यसमा क्यानाडा, फ्रान्स, जर्मनी, इटली, जापान, ब्रिटेन र अमेरिका छन्।
Shares
प्रतिक्रिया