अमेरिकाले महिनौँदेखि जारी तेल नाकाबन्दीपछि रुसी स्वामित्वको एक कच्चा तेल बोकेको ट्यांकरलाई क्युबा पुग्न अनुमति दिएको छ।
करिब सात लाख ३० हजार ब्यारेल तेल बोकेको उक्त ट्यांकर आइतबार साँझ क्युबाको समुद्री सीमाबाट केही माइल टाढा पुगेको छ।
उक्त जहाज सोमबार रातिसम्म मातान्जास बन्दरगाह पुग्ने अपेक्षा गरिएको छ।
अमेरिकी तटरक्षकसँग सो क्षेत्रमा ट्यांकर रोक्न सक्ने दुई जहाज भए पनि हस्तक्षेप गर्न आदेश दिइएको थिएन।
उक्त ट्यांकर क्युबा पुगेपछि त्यहाँको चर्किंदो ऊर्जा सङ्कट केही हप्तासम्म कम हुन सक्ने अनुमान गरिएको छ।
जनवरीदेखि अमेरिकी प्रशासनले क्युबामा थप तेल प्रतिबन्ध लगाउँदै आएको छ र बारम्बार सैन्य चेतावनी पनि दिएको छ।
अमेरिकाले क्युबामा शासन परिवर्तनको प्रयासबारे पनि विचार गरिरहेको बताइएको छ।
यसैबिच रुसको विदेश मन्त्रालयले अमेरिकाको बढ्दो दबाबप्रति गम्भीर चिन्ता व्यक्त गर्दै क्युबालाई आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।
मन्त्रालयले क्युबाको सार्वभौमिकतामा हस्तक्षेप गर्ने प्रयासको कडा विरोध पनि गरेको छ।
Shares

प्रतिक्रिया