इरानले अमेरिका र इजरायलको आक्रमणबाट झन्डै २७० अर्ब डलर बराबरको क्षति भएको बताएको छ।
इरानी सरकारका प्रवक्ता फातिमा मोहजेरानीले यो तथ्यांक प्रत्यक्ष र अप्रत्यक्ष दुवै क्षति जोडेर निकालिएको बताइन्।
रुसी समाचार एजेन्सी आरआईए नोवोस्तीलाई दिएको अन्तर्वार्तामा उनले भनेकी छन्, ‘हाम्रो वार्ता टोलीले काम गरिरहेका मुद्दामध्ये युद्धमा भएको क्षतिको पूर्ति माग पनि हो।’
गत शनिबार पाकिस्तानमा अमेरिकासँग भएको वार्तामा इरानले राखेका दस सर्तमध्ये एक युद्धको क्षतिपूर्ति पनि हो।
साथै इरानले आफ्ना छिमेकीहरू साउदी अरेबिया, यूएई, कतार, बहराइन र कुवेतबाट पनि क्षतिपूर्ति हुनुपर्ने माग गरेको छ।
संयुक्त राष्ट्र संघका लागि इरानका राजदूत अमिर सइद इरवानीले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसलाई पठाएको पत्रमा यो माग गरेका हुन्।
गत फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानमा संयुक्त हमला गरी युद्धको सुरुवात गरेका थिए। यद्यपि अघिल्लो मंगलबार रातिदेखि अमेरिका र इरानले युद्धविराम गरेका छन्। जसमा इजरायलले पनि सहमति जनाएको छ।
तर इजरायलले लेबननमा आक्रमण जारी राखेपछि युद्धविराम सम्झौताका विषयमा विवाद सिर्जना भएको छ।
यसैबिच गत शनिबार पाकिस्तानमा अमेरिका र इरानबिच भएको २१ घण्टा लामो वार्ता पनि असफल भएको छ।
Shares

प्रतिक्रिया