नेपाली कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिक गर्ने अभियान सुरु गरेको छ। सभापति गगन थापाले मंगलबार काठमाडौँ महानगरपालिका-३० मा आफ्नो सदस्यता अद्यावधिक गर्दै अभियानको शुभारम्भ गरेका हुन्।
कांग्रेसले क्रियाशील सदस्यता अध्यावधिक र पार्टीलाई पुनर्संगठित गर्ने कांग्रेसले आजबाट ‘जरा अभियान’ थालेको सभापति थापाले बताए। संगठनलाई व्यवस्थित, सुदृढ र अद्यावधिक बनाउने उद्देश्यले सुरु गरिएको जरा अभियान वैशाख मसान्तसम्म सञ्चालन हुने उनको भनाइछ।
अभियानअन्तर्गत देशभरका क्रियाशील सदस्यलाई समयमै सदस्यता नवीकरण तथा अद्यावधिक गर्न उनको आग्रह छ। कांग्रेसले अभियानका लागि ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधि खटाइएको छ।
जिल्लामा खटिएका केन्द्रीय प्रतिनिधिलाई सदस्यता अद्यावधिकको प्राविधिक प्रक्रियाबारे प्रशिक्षण दिइएको छ। केन्द्र र स्थानीय तहबाट अतिरिक्त प्राविधिक टोलीसमेत परिचालन गरिनेछ।

आजदेखि एक महिनासम्म सञ्चालन हुने ‘जरा अभियान’अन्तर्गत क्रियाशील सदस्यता अद्यावधिक, नयाँ सदस्यता वितरण, सांगठनिक गतिविधि तथा नागरिक संवाद कार्यक्रम सञ्चालन गरिनेछ। अभियान अवधिमा पुरानो सदस्यताको अद्यावधिकसँगै नयाँ सदस्यता वितरण पनि हुनेछ।
नयाँ सदस्यता वडा र क्षेत्रीय कार्यसमितिले वितरण गर्नेछन् भने पुरानो सदस्यता अद्यावधिकको जिम्मा जिल्लालाई दिइएको छ। केन्द्रबाट खटिएका प्रतिनिधिले सहजीकरण गर्नेछन्।
कांग्रेसका हाल आठ लाख ६३ हजार क्रियाशील सदस्य छन्। तीमध्ये करिब एक लाख सदस्यको फोन नम्बर अभिलेखमा छैन भने धेरै नम्बर गलत वा दोहोरिएको महामन्त्री प्रदीप पौडेलले बताए।
साढे आठ लाख सदस्यतामध्ये करिब ५० हजारको फोटोसमेत अभिलेखमा छैन। उनका अनुसार अब अद्यावधिकका क्रममा सम्बन्धित स्थानमै पुगेर फोटो खिच्नुपर्ने र मोबाइल नम्बर अनिवार्य राखिएको छ।
अब डिजिटल अभिलेखसहित सदस्यता अद्यावधिक गरिने भएकाले सदस्यता वितरण र नवीकरणमा विवादको सम्भावना कम हुने महामन्त्री पौडेलको भनाइ छ। उनका अनुसार नयाँ व्यवस्थाअनुसार सदस्यता आईडी नलिनेले महाधिवेशनमा सहभागी हुन पाउने छैनन्।

अद्यावधिक प्रक्रियामा बैंकिङ प्रणालीजस्तै ‘ओटीपी’ को व्यवस्था गरिएको छ। ओटीपी प्रमाणीकरणपछि मात्रै सदस्यताको डिजिटल आईडी मोबाइलमा प्राप्त हुनेछ। चाहनेले केन्द्रीय कार्यालयबाट भौतिक कार्ड पनि लिन सक्ने उनको भनाइ छ। कांग्रेसले आधुनिक सदस्यता प्रणाली आगामी निर्वाचनमा उम्मेदवार छनोटका लागि गरिने प्राइमरी निर्वाचनलाई लक्षित गरेर विकास गर्न लागेको पौडेलले बताए।
अभियानको मूल उद्देश्य पार्टीको क्रियाशील सदस्यता प्रणालीलाई व्यवस्थित र वैज्ञानिक बनाउने सभापति थापाले बताए। यससँगै संगठन सुदृढीकरणलाई पनि अभियानसँग जोडिने उनको विश्वास छ।
‘संगठन सुदृढीकरणको अभियान अगाडि बढेको छ। म सभापतिको हिसाबले भन्दै छु। सकिन्छ सहियोग गर्नुहोस्। सकिँदैन डिस्टप नगरिदिनुहोस्,’ सभापति थापाले भने।
अभियानका क्रममा निर्वाचन समीक्षा, नागरिक तहसँग संवाद, भ्रातृ संस्थाको अवस्था अध्ययन, स्थानीय जनप्रतिनिधिसँग अन्तरक्रिया तथा आगामी बजेट निर्माणमा पार्टीको भूमिकाबारे छलफल गरिनेछ।
Shares

प्रतिक्रिया