जोकसैलाई आफ्नो परिचयबिना एक दिन पनि बाँच्न कठिन हुन्छ। सानोभन्दा सानो काम पनि उसले गर्न सक्दैन। तर, धनुषाको मिथिला बिहारी नगरपालिका-३ का ३५ वर्षीय शिवनारायण पाण्डे र २५ वर्षीय वीरनारायण पाण्डेले आफ्नो पहिचान पाउन वर्षौं संघर्ष गर्नुपर्यो।
आफ्नै जन्मभूमिमा यत्तिका वर्षसम्म अस्तित्व नै नभएजसरी बाँच्नुपर्यो।
उनीहरू जीवित त थिए, तर उनीहरूको अस्तित्व जनाउने कुनै सरकारी कागज थिएन।
गत फागुन ११ गते शिवनारायणले आफ्नो हातले नेपाली नागरिकताको प्रमाणपत्र समात्दा उनलाई लाग्यो, जुगौँदेखिको अँध्यारोबाट बाहिर निस्किए। १६ वर्षको हुँदा पाउनुपर्ने अधिकार पाउन उनले आधा उमेर खर्चिनुपर्यो। नागरिकता पाउँदा उनले ३५ वर्षदेखि थुनिएको सपनाको साँचो भेटेको महसुस गरे।
करिब चार दशकअगाडि शिवनारायणका बुवा रामपुजन पाण्डे र आमा रामसुमारी कुमारी मिश्रको विवाह भएको थियो। रामपुजन भारतीय नागरिक थिए भने आमा नेपाली थिइन्। रामसुमारी आफ्ना बुवाआमाकी एक्ली सन्तान थिइन्। त्यसैले उनीहरूले अभिभावक नभएका रामपुजनलाई घरज्वाइँ राख्ने विचारले छोरीको विवाह गरिदिएका थिए।
करिब १० वर्षसम्म रामपुजन ६ महिना भारतमा काम गर्ने र ६ महिना ससुरालीमै बस्ने गर्थे। तर, जब शिवनारायण ५ वर्षका भए, कमाउन भारतको आसाम जान्छु भनी निस्किएका बुवा फेरि कहिल्यै फर्किएनन्।
बुवा बेपत्ता भएपछि शिवनारायण र उनको परिवारको जीवन कष्टकर बन्यो। आमा रामसुमारीले एक्लै संघर्ष गरेर चार छोराछोरीलाई हुर्काइन्। दस नंग्रा खियाएर उनले छोराछोरीलाई गाँस–बासको जोहो त गरिन्, तर राज्यबाट पहिचान दिलाउन सकिनन्। दुई छोरीको विवाह भयो र त्यतैबाट नागरिकता बनाए। छोराहरू अनागरिक नै रहे।
आमा नेपाली हुँदाहुँदै पनि उनीहरूलाई नागरिकता दिइएन। उनीहरू जति पटक प्रशासन पुग्थे, उति पटक बाबु खोजेर ल्याउन भनिन्थ्यो। शिवनारायणलाई आफ्ना बुवाको अनुहार समेत राम्रोसँग याद छैन। अनुहार समेत याद नभएका बुवाको पहिचान बिना नागरिकता नबन्ने भएपछि पाण्डे परिवारले निकै सास्ती बेहोर्यो।
छोराहरूको अवस्था देखेर रामसुमारी आँसु झार्थिन्।
अदालतले दिलायो अंगीकृत नागरिकता
नागरिकता नहुँदा शिवनारायणले निकै चोट बेहोर्नुपर्यो। स्नातक पढ्ने ठूलो इच्छा भए पनि नागरिकता नभएकै कारण क्याम्पसले उनको भर्ना लिएन। बैंक खाता खोल्न, जागिर खान, व्यवसाय गर्नदेखि कोरोनाको खोप लगाउनसम्म नागरिकता तगारो बन्यो।
विवाहका प्रस्तावहरू समेत नागरिकता नभएकै कारण टुटे।
‘नागरिकता नभएको मान्छेले के गर्न सक्छ र भन्दै आफन्त, छरछिमेकी र समाजले सधैँ उपेक्षा र हेपाइको नजरले हेरे। कहिलेकाहीँ त म यो धर्तीमा किन बाँचेँ जस्तो लाग्थ्यो,’ शिवनारायणले नेपालखबरसँग भने।
प्रशासनले नागरिकता बन्दैन भनेपछि करिब तीन वर्षअघि धिपधिपे आशा बोकेर शिवनारायण र वीरनारायणले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। आमाले पालेको बाख्रा बेचेर शिवनारायण कयौँ पटक सुनुवाइ हुने आश बोकेर काठमाडौँ धाउँथे।

महँगो काठमाडौँमा दुई छाक खान र बस्न गाह्रो हुँदा पाण्डे अलमलमा पर्थे। अधिवक्ता गोपीकृष्ण थापाले शुल्क नलिई वकालत गरेपछि खर्च कम भयो। अदालतले अग्राधिकार दिए पनि पेसीको पालो नआएपछि निराश भई घर फर्किन्थे।
भदौ २३ र २४ मा भएको जेनजी आन्दोलनमा सर्वोच्च अदालतका धेरै मुद्दाका फाइल जले पनि शिवनारायणको मुद्दा जोगियो। त्यसपछि पेसीको पालो आयो। अन्ततः पाण्डे दाजुभाइले न्याय पाए। उनीहरूले अंगीकृत नागरिकता पाए।
अहिले शिवनारायणको जीवनको लय बदलिएको छ। धमिलिएका सपना अब सङ्लिन थालेका छन्। ३५ वर्षसम्म अविवाहित रहेका शिवनारायणको विवाह आउँदो असारमा हुने भएको छ। भाइ वीरनारायण भने विदेश जाने तयारीमा राहदानी बनाइरहेका छन्।
‘घरको स्थिति राम्रो छैन, अब नागरिकता बन्यो, त्यसैले भाइलाई विदेश पठाउँदै छु,’ शिवनारायणले नेपालखबरसँग भने।
हिजोसम्म कुल्लीको काममा सीमित शिवनारायण अब आफ्नै गाउँमा खेतीपानी र भैँसीपालन व्यवसाय दर्ता गरेर अगाडि बढ्ने सोचमा छन्।
आज शिवनारायणकी आमाको खुसीको सीमा छैन। अनुहारमा छुट्टै चमक देखिएको छ। छोराहरूले नागरिकता पाएपछि ‘केही गर्छु’ भन्ने आशा र जाँगर देखाउँदा आमा गद्गद् भएकी छिन्।
हिजो ‘यसले केही गर्न सक्दैन’ भनेर हेप्ने छिमेकीहरू आज शिवनारायणको नजिक भएका छन्। एउटा सानो कागजको टुक्राले जिन्दगी कसरी बदलिदिँदो रहेछ, देखेर शिवनारायण छक्क छन्।
Shares

प्रतिक्रिया