इजरायली बैंकहरूले समकक्षी प्यालेस्टिनी बैंकहरूलाई सूचना गर्दै केही हप्ता भित्र बैंकिङ सेवा समाप्त गर्ने इच्छा व्यक्त गरेका छन्। इजरायली र प्यालेस्टिनी अधिकारीहरूले भने इजरायलले यो इच्छा कार्यान्वयन गरेमा वेस्ट ब्यांक क्षेत्रमा थप आर्थिक संकट बढ्ने जनाएका छन्।
यी बैंकिङ सेवा इजरायलबाट कब्जा गरिएको प्यालेस्टिनी क्षेत्रमा बिजुली, पानी, इन्धन र खानासहित इजरायलमा काम गर्ने प्यालेस्टिनीहरूले कमाएको ज्याला हस्तान्तरण गर्न जस्ता आवश्यक कामका लागि प्रयोग भइरहेको जनाइएको छ।
इजरायली बैंकमा निर्भर पाँचवटा प्यालेस्टिनी बैंकले अगस्ट १३ को पत्राचारपछि बैंक सेवाहरूको पहुँच गुमाउने प्यालेस्टिनी बैंकका अधिकारीहरूलाई उधृत गर्दै एएफपीले जनाएको छ।
यसैगरी डिस्काउन्ट ब्यांकमार्फत सेवा प्रवाह गर्ने ब्यांकहरूले सेप्टेम्बर १ बाट सेवा कटौतीको सामाना गर्नुपर्ने जनाइएको छ।
इजरायलको अर्थ मन्त्रालयले दुईवटा बैंकले आफ्ना प्यालेस्टिनी समकक्षीसँग सेवा सहकार्यको सम्बन्ध अन्त्य गर्ने प्रस्ताव गरेको पुष्टि गरेको छ।
समग्र जोखिमको वातावरण र बैंकिङ संस्थाहरूविरुद्धका सवालमा बढ्दो चिन्ताका कारण इजरायली बैंकहरूले समकक्षता बैंकिङ सेवा प्रदान गर्न बन्द गर्ने घोषणा गरेको मन्त्रालयले विज्ञप्तिमार्फत जनाएको छ।
मन्त्रालयले इजरायलको सुरक्षा र आर्थिक हितको रक्षा गर्दै सुरक्षित र जिम्मेवार तरिकाले पत्राचार गरी बैंकिङ गतिविधि जारी राख्न सक्षम बनाउन बैंकहरूसँग छलफल गरिरहेको जनाएको छ।
हाल यी दुई बैंकले प्यालेस्टिनी र इजरायली वित्तीय प्रणालीबिचको पुलका रूपमा सेवा गर्दै आएको छ।
इजरायली बैंकहरूलाई प्यालेस्टिनी बैंकरूका तर्फबाट प्रशोधन गरिएको लेनदेनको कानुनी दायित्वबाट जोगाउन, इजरायली सरकारले प्रत्येक ६ महिनामा क्षतिपूर्ति नवीकरण गर्ने गरेको जनाइएको छ।
इजरायली बैंकका अधिकारीलाई उधृत गर्दै एएफपीले व्यावसायिक बैंकहरू अब मनी लान्ड्रिङ वा आतंकवादी वित्तपोषणको सम्भावित जोखिम जोखिम वहन गर्न नचाहेको र पछिल्लो समय यस्तो जोखिम बढ्दै गएकाले सेवा सम्बन्ध अन्त्य गर्ने निर्णयमा पुगेको जनाएको छ।
अर्थ विज्ञहरूलाई उधृत गर्दै बैंकिङ सम्बन्ध तोड्नाले थप लेनदेन नगदमा बाध्य पार्न सक्ने र बैंकिङ संकटको जोखिम बढ्न गई अनौपचारिक अर्थ व्यवस्था विस्तार गर्न सक्ने चेतावनी दिएको जनाएको छ।
प्यालेस्टिनी प्राधिकरण स्थानीय बैंकहरूको सबैभन्दा ठुलो उद्धारकर्ता भएकाले यो सार्वजनिक क्षेत्रको तलब र बजेट घाटाको वित्तपोषण गर्न इजरायली बैंकहरूमा निर्भर रहेकाले यदि बैंकिङ सेवाको सहकार्य अन्त्य भयो भने प्राधिकरण आर्थिक संकटमा पुग्ने स्थानीय व्यापारीले जनाएका छन्।
इजरायलले प्राधिकरणका तर्फबाट संकलन गर्ने भन्सार राजस्वको हस्तान्तरण निलम्बन गरेपछि प्यालेस्टिनी प्राधिकरण पहिले नै तीव्र आर्थिक दबाबमा छ। (रासस/एएफपी)
Shares

प्रतिक्रिया