ग्लोबल


प्यालेस्टाइनको समर्थन र इजरायलको विरोधको प्रतीक कसरी बन्यो तरबुजो?

प्यालेस्टाइनको समर्थन र इजरायलको विरोधको प्रतीक कसरी बन्यो तरबुजो?

नेपालखबर
कात्तिक ३०, २०८० बिहिबार ११:५२, काठमाडौँ

इजरायल–गाजा युद्धका बेला तरबुजो प्यालेस्टिनी समर्थनको एक शक्तिशाली प्रतीक बनेको छ।

तरबुजोमा हुने रातो, कालो, सेतो र हरियो रङ प्यालेस्टाइनको झण्डाका रङ पनि हुन्। तरबुजो फेरि एकपट प्यालेस्टाइन समर्थक र्‍याली र सोसल मिडियाका पोस्टमा प्रमुख रूपमा देखा परेको छ। 

आउनुहोस् जानौँ– तरबुजो कसरी प्यालेस्टिनी एकताको बलियो प्रतीक बन्यो?

‘प्यालेस्टाइनमा जहाँ प्यालेस्टिनी झण्डा फहराउनु अपराध मानिन्छ, त्यहाँ प्यालेस्टिनीहरू इजरायी सैनिकविरुद्ध रातो, कालो, सेतो र हरियो रङका लागि तरबुजोका टुक्रा देखाउँछन्।’ 

यी पंक्ति अमेरिकी कवि अरासेलिस गिरमेको कविता ‘ओड टु द टरमेलन’का हुन्। 

रातो, कालो, सेतो र हरियो तरबुजोका मात्र नभई प्यालेस्टिनी झन्डाका पनि रङ हुन्। तसर्थ इजरायल–गाजाबीच युद्धका बेला विश्वभर प्यालेस्टाइन समर्थक मार्च र सामाजिक सञ्जालमा तरबुजोका प्रतीक देख्न सकिन्छ।

तर तरबुजो यस्तो प्रतीक बन्नाका पछाडि इतिहास छ।

प्यालेस्टिनी झण्डामा प्रतिबन्ध

बर्लिनमा प्यालेस्टिनी झण्डा र तरबुजोका तस्बिरका साथ विरोध प्रदर्शन गरिरहेका मानिस।

सन् १९६७ को अरब–इजरायली युद्धपछि जब इजरायलले गाजा र वेस्ट बैंक आफ्नो नियन्त्रणमा लियो, तब उसले आफूले जितेका क्षेत्रमा प्यालेस्टिनी झण्डा र यसमा रहेका रङजस्ता राष्ट्रिय प्रतीक प्रदर्शन गर्न प्रतिबन्ध लगायो। प्यालेस्टिनी झण्डा बोक्ने अपराध भयो। अनि यसको विरोधमा प्यालेस्टिनीहरूले तरबाजाका टुक्रा प्रयोग गर्न थाले।

सन् १९९३ मा इजरायल र प्यालेस्टाइनबीच भएको ओस्लो अन्तरिम सम्झौतापछि प्यालेस्टिनी प्राधिकरणले झण्डालाई मान्यता दिएको थियो। गाजा र कब्जा गरिएको वेस्ट बैंकका केही भागमा शासन गर्न प्राधिकरण सिर्जना गरिएको थियो।

न्युयोर्क टाइम्सका पत्रकार जोन किफनरले ओस्लो सम्झौतामा हस्ताक्षर भएपछि लेखेका थिए, ‘एकपटक गाजामा केही युवालाई काटिएको तरबुजो बोकेको आरोपमा पक्राउ गरिएको थियो। ती युवाले रातो, कालो र हरियो प्यालेस्टिनी रङ प्रदर्शन गर्दै प्रतिबन्धित झण्डासहितको जुलुस निकालेका थिए र त्यहाँ उपस्थित सैनिकहरूविरुद्ध नारा लगाएका थिए।’ 

यसको धेरै महिनापछि डिसेम्बर १९९३ मा अखबारले रिपोर्टमा गिरफ्तारीको दाबी पुष्टि गर्न सकेन भनेर नोट गर्‍यो। सँगसँगै के पनि भनियो भने जब इजरायली सरकारका प्रवक्तालाई सोधियो, तब उनले यस्तो घटना भएको हुनसक्ने कुरालाई नकार्न नसक्ने बताए।

त्यही बेलादेखि कलाकारहरूले प्यालेस्टिनी एकताका लागि तरबुजोका चित्र बनाउन थाले।

तरबुजोको टुक्रो

खालिद होरानीले बनाएको चित्र।

सबैभन्दा प्रसिद्ध कलाकृतिमध्ये एक खालिद होरानीको हो। सन् २००७ मा उनले ‘सब्जेक्टिब एटलस अफ प्यालेस्टाइन’ नामक पुस्तकका लागि तरबुजोको टुक्रा बनाएका थिए। ‘द स्टोरी अफ द वाटरमेलन’ नामको यो पेन्टिङले विश्वभर चर्चा पायो। मे २०२१ मा इजरायल–हमास द्वन्द्वको समयमा यसले थप महत्त्व प्राप्त गर्‍यो। 

तरबुजो चित्रणमा थप बढोत्तरी यही वर्षको सुरुमा आयो। जब जनवरीमा इजरायलका राष्ट्रिय सुरक्षामन्त्री इटामार बेन गभिरले सार्वजनिक स्थानबाट प्यालेस्टिनी झण्डा हटाउन प्रहरीलाई निर्देशन दिए।

उनले प्यालेस्टिनी झण्डा फहराउनु भनेको आतंकवादलाई समर्थन गर्नु बराबर भएको बताए। यसपछि इजरायलविरोधी मार्चहरूमा तरबुजोका तस्बिर देखिन थाले। 

इजरायली कानुनले प्यालेस्टिनी झण्डा गैरकानुनी मान्दैन, तर प्रहरी र सेनालाई त्यस्ता झन्डा हटाउने अधिकार छ, जहाँ उनीहरूलाई यसले सार्वजनिक व्यवस्थालाई खतरामा पार्छ भन्ने लाग्छ। 

यसै क्रममा गत अगस्टमा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको न्यायिक सुधार योजनाको विरोध गर्न तेल अभिभमा एउटा समूहले तरबुजअंकित टीसर्ट लगाएर प्रदर्शन गरेको थियो। 

हालैका दिनमा गाजा युद्धको विरोध गर्दै सोसल मिडिया पोस्टहरूमा पनि तरबुजोका तस्बिर प्रयोग गरिएका छन्।

प्यालेस्टाइनको समर्थनमा कलाकार 


बेलायती मुस्लिम हास्य कलाकार सुमिरुन नेस्ताले टिकटकमा तरबुजो  फिल्टर बनाए र आफ्ना फलोअर्सलाई त्यससँग भिडिओ बनाउन प्रेरित गरे। उनले यसबाट हुने आम्दानी गाजालाई सहयोग गर्ने घोषणा गरे।

केही सामाजिक सञ्जाल प्रयोगकर्ताले आफ्ना अकाउन्ट वा भिडिओ सामाजिक सञ्जालबाट हटाउन सक्ने डरले प्यालेस्टिनी झण्डाको सट्टा तरबुजो पोस्ट गरिरहेका छन्। 

विगतमा प्यालेस्टिनी समर्थक प्रयोगकर्ताहरूले इन्स्टाग्रामलाई ‘छाया प्रतिबन्ध’ लगाएको आरोप लगाएका छन्। छाया प्रतिबन्ध तब हुन्छ जब सोसल मिडिया प्लेटफर्म निश्चित पोस्ट अन्य व्यक्तिको फिडमा नदेखियोस् भन्ने सुनिश्चित गर्न हस्तक्षेप गर्छन्। 

तर बीबीसी साइबर मामिला संवाददाता जो टिडी अहिले यस्तो भइरहेको छ भन्ने कुनै प्रमाण नभएको बताउँछन्। 

उनी भन्छन्, ‘प्यालेस्टाइन समर्थक सामग्री पोस्ट गर्ने प्रयोगकर्ताविरुद्ध छाया प्रतिबन्ध लगाउने कुनै षड्यन्त्र छजस्तो लाग्दैन।’

उनी थप्छन्, ‘मानिसहरूले सामाजिक सञ्जालका पोस्टमा तरबुजो प्रयोग गरिरहेका त छन्, तर उनीहरूले प्यालेस्टिनी झण्डा पनि खुलेर उपयोग गरिरहेका छन् र द्वन्द्वको बारेमा लेखिरहेका छन्।’

यतिबेला तरबुजो यस क्षेत्रमा अविश्वसनीय रूपमा लोकप्रिय फल मात्र होइन,  प्यालेस्टिनीहरूको पुस्ता र उनीहरूको संघर्षलाई समर्थन गर्नेहरूका लागि एक शक्तिशाली प्रतीक पनि बनेको छ। बीबीसीबाट भानुवाद

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .