ad ad

ग्लोबल


गोली लागेका स्लोभाक प्रधानमन्त्रीको ५ घण्टा लामो शल्यक्रिया, अवस्था ‘गम्भीर तर स्थिर’

गोली लागेका स्लोभाक प्रधानमन्त्रीको ५ घण्टा लामो शल्यक्रिया, अवस्था ‘गम्भीर तर स्थिर’

नेपालखबर
जेठ ३, २०८१ बिहिबार १६:१०,

बुधबार गोली प्रहार गरिएका स्लोभाकियाका प्रधानमन्त्री रोबर्ट फिकोको अवस्था गम्भीर तर स्थिर रहेको चिकित्सकहरुले बताएका छन्। 

पाँच घण्टा लामो शल्यक्रियापछि आईसीयूमा उनलाई राखिएको छ।

उनलाई भर्ना गरिएको एफडी रुजबेल्ट युनिभर्सिटी हस्पिटलकी निर्देशक मिरियम लापुनिकोवाले उनको अवस्था अत्यन्त गम्भीर रहेको बताइन्।

यसअघि उनी जीवनका लागि संघर्ष गरिरहेको चिकित्सकहरुले बताएका थिए।

स्लोभाकियाको एउटा सानो सहर ह्यान्डलोभामा उनीमाथि गोली प्रहार भएको थियो। घटनास्थलबाट एक आरोपितलाई पक्राउ गरिएको छ।

मुलुकका गृहमन्त्रीले यो आक्रमण राजनीतिक रुपले प्रेरित भएको बताएका छन्। फिकोले युक्रेनलाई हतियार सहयोग रोक्नुपर्ने र रुसलाई प्रतिबन्ध लगाउन नहुने अडान राख्दै आएका थिए।

ह्यान्डलोभाको एक सांस्कृतिक केन्द्रबाहिर समर्थकहरुको सानो भेला थियो। कार्यक्रमपछि बाहिर निस्किँदै गर्दा सोही भीडमा भएका बन्दुकधारीले नजिकैबाट उनलाई गोली प्रहार गरेका थिए।

गोली उनको पेट र हातमा लागेको छ।

आक्रमणबाट चकित परेका सुरक्षाकर्मीले फिकोलाई कारमा राखेर घटनास्थलबाट बाहिर निकालेका थिए। लगत्तै उनलाई एयर एम्बुलेन्समा राखेर अस्पताल पुर्‍याइएको थियो।

प्रहरीले आक्रमणकारीको नाम अझै सार्वजनिक गरेको छैन। तर, स्थानीय सञ्चारमाध्यमले ती व्यक्ति ७१ वर्षीय लेखक तथा राजनीतिक कार्यकर्ता भएको बताएका छन्।

सामाजिक सञ्जालमा पोस्ट गरिएको भिडिओमा ती व्यक्तिले आफू सरकारको नीतिमा असहमत भएको बताउँछन्। यद्यपि, त्यसको आधिकारिकता पुष्टि भएको छैन। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .