ग्लोबल


अभिभावकको पिकअप बालकले चलाउँदा गयो ८ भिक्षुको ज्यान, १० जनाभन्दा बढी घाइते

अभिभावकको पिकअप बालकले चलाउँदा गयो ८ भिक्षुको ज्यान, १० जनाभन्दा बढी घाइते

दुर्घटनापछि पिकअप


नेपालखबर
असार १८, २०८३ बिहिबार १९:५२, बैङ्कक

थाइल्यान्डको उत्तरपूर्वी मुकदाहान प्रान्तमा बिहीबार ११ वर्षीय बालकले आफ्ना अभिभावकको पिकअप ट्रक अनुमतिबिना चलाउँदा धार्मिक जुलुसमा सहभागी ८ भिक्षुको मृत्यु भएको छ भने १० जनाभन्दा बढी घाइते भएका छन्।

प्रहरीका अनुसार ३५ जना भिक्षु र ५ सर्वसाधारण अनुयायी तीर्थयात्राका क्रममा सडक किनार हुँदै हिँडिरहेका बेला बालकले चलाएको पिकअप ट्रकले ठक्कर दिएको हो। 

दुर्घटनास्थल

दुर्घटनामा पाँच भिक्षुको घटनास्थलमै मृत्यु भएको थियो भने थप तीन जना अस्पतालमा उपचारका क्रममा बितेका हुन्।

घाइतेहरू मुकदाहान अस्पतालमा उपचाररत छन्।

मुकदाहान प्रान्तीय प्रहरी प्रमुख मेजर जनरल पैरोज थाइफुत्साले गाडीलाई प्राविधिक परीक्षणका लागि पठाइएको र दुर्घटनाको वास्तविक कारण पत्ता लगाउने काम भइरहेको जानकारी दिए।

उनका अनुसार बालकका अभिभावकलाई पनि बोलाइएको छ र बालकको जिम्मेवारी कसको थियो भन्ने आधारमा कानुनी प्रक्रिया अघि बढाइनेछ।

मुकदाहान सिटी प्रहरी प्रमुख प्रयुत रुआनथोङ्कमले दुर्घटनामा संलग्न चालक ११ वर्षीय बालक रहेको पुष्टि गरेका छन्। 

घटनालगत्तै उद्धार तथा आपत्‌कालीन स्वास्थ्यकर्मी घटनास्थलमा पुगेर घाइतेहरूको उद्धार गरेका थिए।

मुकदाहानका प्रान्तीय गभर्नर वोरायन बुन्नारतले यो घटनालाई सडक सुरक्षाबारे गम्भीर चेतावनीका रूपमा लिनुपर्ने बताए।

उनले पछिल्ला वर्षहरूमा सडक सुरक्षा कडा बनाइए पनि यस्ता दुर्घटना दोहोरिन नदिन सबैको, विशेषगरी अभिभावकको, जिम्मेवारीपूर्ण भूमिका आवश्यक रहेको उल्लेख गरे। रासस/एएफपी)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad