ग्लोबल


इरानको चेतावनी: खामेनीको अन्त्येष्टिमा आक्रमण गरिए कडा जवाफ दिनेछौँ

इरानको चेतावनी: खामेनीको अन्त्येष्टिमा आक्रमण गरिए कडा जवाफ दिनेछौँ

इरानको सर्वोच्च सैन्य कमान्डका प्रमुख अब्दुल्लाही


नेपालखबर
असार १९, २०८३ शुक्रबार ११:२६, काठमाडौँ

इरानले आफ्ना पूर्वसर्वोच्च नेता अयातुल्लाह अली खामेनीको अन्त्येष्टिमा अमेरिका-इजरायलले आक्रमण गरे उचित जवाफ दिइने चेतावनी दिएको छ। 

बीबीसी मनिटरिङका अनुसार इरानको खातम अल-अन्बिया केन्द्रीय मुख्यालयका कमान्डर मेजर जनरल अली अब्दुल्लाहीले अमेरिका, इजरायल तथा उनीहरूका सहयोगीलाई खामेनीको अन्त्येष्टिअघि इरानविरुद्ध कुनै पनि कारबाही नगर्न चेतावनी दिएका हुन्।

इरानको सर्वोच्च सैन्य कमान्डका प्रमुख अब्दुल्लाहीले भनेका छन्, ‘अन्त्येष्टि समारोहले इरानी जनता अली खामेनीको मृत्युको ‘बदला’ लिन दृढ रहेको देखाउनेछ। 

यो जानकारी इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी) सँग सम्बद्ध तस्निम समाचार एजेन्सीले जुलाई २ मा आफ्नो टेलिग्राम च्यानलमा सार्वजनिक गरेको छ। 

अब्दुल्लाहीले अगाडि भनेका छन्, ‘हामी शक्तिशाली इरानका शत्रुहरू विशेष गरी अमेरिका, जियोनिस्ट शासन (इजरायल) र यसका क्षेत्रीय तथा क्षेत्रबाहिरका सहयोगीहरूलाई कुनै पनि गलतफहमी वा गलत काम नगर्न चेतावनी दिन्छौँ।’

उनले इरानको भूभाग वा क्षेत्रविरुद्ध कुनै पनि ‘धम्की वा आक्रामक कारबाही’विरुद्ध ‘पछुतो लाग्ने कठोर कदम’ चालिने दाबी गरेका छन्।

तेहरान नगरपालिकाका सांस्कृतिक तथा सामाजिक मामिला उपप्रमुख मोहम्मद अमिन तवाक्लिजादेहका अनुसार, ‘जुलाई ४, ५, ६, ७ र ८ मा आयोजना गरिने अली खामेनीको अन्त्येष्टिमा राजधानी तेहरानमा १ करोड ५० लाख देखि २ करोडसम्म मानिस सहभागी हुने गरी तयारी भइरहेको छ।’

त्यसपछि खामेनीको शव जुलाई ९ मा मसहद सहरमा गाडिनेछ। 

अमेरिका र इजरायलले गत फेब्रुअरी २८ मा संयुक्त हवाई हमला गरी मारेका इरानका तत्कालीन सर्वोच्च नेता खामेनीको बल्ल अन्त्येष्टि गर्न लागिएको हो। 

यसअघि इरानले खामेनी हत्याको बदला लिइने चेतावनी पनि दिएको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad