ग्लोबल


भारतमा आज तेस्रो चरणको चुनाव, मोदीले गरे मतदान

भारतमा आज तेस्रो चरणको चुनाव, मोदीले गरे मतदान

रासस/एएनआई
बैशाख २५, २०८१ मंगलबार ११:४६, नयाँदिल्ली

भारतमा आज लोकसभा निर्वाचनअन्तर्गत आज (मंगलबार) तेस्रो चरणको मतदान भइरहेको छ।

भारतीय निर्वाचन आयोगका अनुसार देशका १२ राज्य र केन्द्रशासित प्रदेशका ९३ सिटका लागि  बिहान ७ बजेदेखि मतदान भइरहेको हो।

तेस्रो चरणमा आसामका ४, बिहारका ५, छत्तीसगढका ७, गोवाका २, गुजरातका २५, कर्नाटकका १४, महाराष्ट्रका ११, मध्यप्रदेशका ८, उत्तर प्रदेशका १०, पश्चिम बंगाल राज्यका ४ र केन्द्रशासित नगर हवेली एवं दामनका २ स्थानमा चुनाव भइरहेको हो। 

यस चरणमा १२० जना महिलासहित एक हजार ३०० उम्मेदवार चुनावी मैदानमा छन्। आजको मतदानमा १७ करोड मतदाता छन्। यसका लागि लागि १ लाख ८५ हजार मतदान स्थल रहेको आयोगले जनाएको छ। 

आजका लागि तय भएको जम्मु-काश्मिरको अनन्तनाग-रजौरीको निर्वाचन स्थगन गरिएको र उक्त निर्वाचन आगामी मे २५ का लागि तय भएको निर्वाचन आयोगले जनाएको छ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गुजरातको अहमदाबादस्थित निशान माध्यमिक विद्यालयको मतदान स्थलमा आज मतदान गरे।

यसअघि प्रधानमन्त्री मोदीले आमजनतालाई तेस्रो चरणको मतदानमा सक्रिय र व्यापक रूपमा सहभागी हुन आह्वान गरेका छन्। 

तेस्रो चरणको यस निर्वाचनमा केन्द्रीय गृहमन्त्री अमित शाह, मध्यप्रदेशका पूर्व मुख्यमन्त्री शिवराज सिंह चौहान र दिग्बिजय सिंह, मन्त्रीहरू ज्योतिरादित्य सिन्दिया, मनसुख मान्डविय, समाजवादी पार्टीकी नेतृ डिम्पल यादव, भारतीय कम्युनिस्ट पार्टीका नेता सुप्रिया सुलेलगायत नेता चुनावी प्रतिस्पर्धामा छन्। 

यसअघि सन् २०१९ को चुनावमा आज भइरहेका ९३ स्थानमध्ये भारतीय जनता पार्टीले ७२ स्थानमा जित हासिल गरेको थियो।

आजको तेस्रो चरणको निर्वाचनपछि भारतीय लोकसभाको कूल सिट ५४० मध्ये आधामा मतदान सम्पन्न हुनेछ। यसअघि पहिलो र दोस्रो चरणको मतदान भइसकेका छन्। 

सात चरणमा भइरहेको भारतको लोकसभाको निर्वाचन गत अप्रिल १९ तारिखमा सुरु भएर आगामी जुन १ तारिखमा सम्पन्न हुँदै छ। 

यस चुनावमा प्रधानमन्त्री मोदीको नेतृत्वको भारतीय जनता पार्टीले लगातार तेस्रोपटक विजय हासिल गर्नेगरी प्रचार गरिरहेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .