अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले पहिले आफ्ना निकट सहयोगी रहेका इलोन मस्कले नयाँ राजनीतिक दल घोषणा गरेकामा टिप्पणी गरेका छन्।
अमेरिकामा तेस्रो पार्टी खोल्नुलाई हस्यास्पद भन्दै ट्रम्पले मस्कको आलोचना गरेका हुन्।
‘मलाई लाग्छ- तेस्रो पक्ष सुरु गर्नु हास्यास्पद छ’, ट्रम्पले आइतबार एयर फोर्स वनमा चढ्नुअघि पत्रकारहरूसँग कुरा गर्दै भने, ‘यो सधैँ दुई-दलीय प्रणालीमा छ र मलाई लाग्छ- तेस्रो पक्ष सुरु गर्नाले भ्रम अरू बढ्छ।’
यति मात्र होइन, मस्कले राजनीतिक दल गठन गर्न लागेकमा ट्रम्पले आइतबार साँझ आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत पनि टिप्पणी गरेका छन्।
‘मलाई मस्क पूर्ण रूपमा लिकबाहिर गएको देख्दा दु:ख लागेकाे छ, बितेका पाँच हप्तामा उनी एक रेलको भग्नावशेषमा परिणत भएका छन्’, ट्रम्पले लेखेका छन्, ‘अमेरिकामा त्यस्तो सफल नभएको तथ्यका बाबजुद उनी तेस्रो राजनीतिक दल सुरु गर्न चाहन्छन्।’
ट्रम्पले शनिबार सामाजिक सञ्जाल एक्समार्फत आफूले अमेरिकामा ‘अमेरिका पार्टी’ नामको राजनीतिक दल सुरु गरेको घोषणा गरेका छन्।
मस्कले यत्ति लेखेका छन्, ‘फजुल खर्च र भ्रष्टाचारले देश जर्जर बनेको हुन्छ भने त्यहाँ लोकतन्त्र होइन, हामी एक दलीय प्रणालीमा हुन्छौँ, आज तपाईंहरूलाई आफ्नो स्वतन्त्रता फिर्ता दिन अमेरिका पार्टी गठन गरिएको छ।’
यसबाहेक दलका विषयमा उनले थप जानकारी दिएका छैनन्।
यसअघि ट्रम्प प्रशासनकाे सरकारी दक्षता विभाग (डज) का प्रमुख रहेका मस्कले अचानक पद छाड्दै ट्रम्पले ल्याएको कर कटौती र खर्च वृद्धिसम्बन्धी विधेयक ‘बिग ब्युटिफुल बिल’ को कडा आलोचना गरेका थिए। त्यसयता ट्रम्प र उनीबीच सामाजिक सञ्जालमा भनाभन भएको थियो।
उक्त विधेयक अमेरिकाका दुवै सदनबाट पास भएपछि शुक्रबार ट्रम्पले हस्ताक्षर गरेको पृष्ठभूमिमा मस्कले नयाँ दल घोषणा गरेका हुन्।
सन् २०२४ को निर्वाचनमा मस्कले ट्रम्पलाई राष्ट्रपति पदमा जिताउन अर्बौं डलर खर्चेका थिए। त्यसैकारण ट्रम्पले मस्कलाई सरकारी दक्षता विभागको प्रमुख बनाउँदै मन्त्रिपरिषद् बैठकमा समेत सहभागी गराएका थिए।
तर ‘बिग ब्युटिफुल बिल’मा विवाद परेपछि यी दुईबीचको मित्रता अहिले तिक्ततामा परिणत भएको छ।
मस्कले सन् २०२६ को मध्यावधि निर्वाचनमा केही सीमित कंग्रेस र सिनेट सिटमा उम्मेदवार खडा गरेर सक्रिय राजनीतिक हस्तक्षेप गर्ने योजना बनाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन्।
Shares

प्रतिक्रिया