भारतीय जनता पार्टी (भाजपा) का बिहार प्रदेश अध्यक्ष दिलीप जयसवालले पूर्वमुख्यमन्त्री लालुप्रसाद यादवलाई परिवार बचाउन अनुरोध गरेका छन्।
बिहारमा हालै सम्पन्न विधानसभा चुनावमा लालुको पार्टी राष्ट्रिय जनता दल (आरजेडी) को लज्जास्पद हार भएपछि उनकी छोरी रोहिणी आचार्यले राजनीति छाड्ने र परिवारसँगको नाता तोड्ने घोषणा गरेकी छन्।
रोहिणीले शनिबार सामाजिक सञ्जालमा लेखेकी छन्, ‘म राजनीति छाड्दै छु र मेरो परिवारसँग सम्बन्ध तोड्दै छु। सञ्जय यादव र रमिजले मलाई यसो गर्न भनेका हुन्। (चुनावी हार) सबै दोष म लिन्छु।’
यसपछि शनिबारै सञ्चारमाध्यमसँग कुरा गर्दै रोहिणीले यसमा आफ्ना दाइ तेजस्वी यादवलाई पनि आरोप लगाएकी छन्।
स्मरणीय छ- बिहार विधानसभा चुनावअघि गत मे महिनामा मात्र लालु यादवले आफ्ना जेठा छोरा तेज प्रतापलाई पार्टी र परिवार दुवैबाट निष्कासन गरेका थिए। यसपछि तेजप्रतापले आफ्नै नेतृत्वमा जनशक्ति जनता दल गठन गर्दै महुआ विधानसभा सिटमा चुनाव लडे, तर हारे मात्र होइन, तेस्रो स्थानमा झरे।
अहिले फेरि लालुकी छोरी रोहिणीले पनि परिवारसँग अलग भएको घोषणा गरेपछि बिहारमा तरंग छाएको छ।
यस विषयमा भाजपाका बिहार अध्यक्ष दिलीप जयसवालले भने, ‘यो धेरै दुःखद छ। एक व्यक्तिले सिंग परिवारलाई ध्वस्त पारिरहेको छ, यो ठिक होइन। जुन छोरीले मिर्गौला दिएर लालुजीको ज्यान जोगाइन् आज उसैलाई सडकमा फ्याँकिएको छ र यस्ता किसिमका कुरा आइरहेका छन्, यो दुःखद हो।’

उनले लालुप्रसाद यादव र उनका पत्नी राबडी देवीलाई सम्बोधन गर्दै भनेका छन्, ‘यो पारिवारिक मामिला भएकाले म यसमा धेरै बोल्न सक्दिनँ। तर म लालुजी र राबडीजीलाई यत्ति भन्छु- एक बाहिरी व्यक्तिले तपाईंको परिवार तोडिरहेको छ, उसबाट जोगाउनुहोस्।’
Shares

प्रतिक्रिया