ग्लोबल


गिरफ्तार गरिएका भेनेजुएलाका राष्ट्रपति अमेरिकामा, ट्रम्पले सार्वजनिक गरे तस्बिर

गिरफ्तार गरिएका भेनेजुएलाका राष्ट्रपति अमेरिकामा, ट्रम्पले सार्वजनिक गरे तस्बिर

ट्रम्पले सामाजिक सञ्जालमा सेयर गरेको मादुरोको तस्बिर


नेपालखबर
पुस २०, २०८२ आइतबार ६:१३, काठमाडौँ

गिरफ्तार गरिएको दाबीपछि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोको तस्बिर सार्वजनिक गरेका छन्।

नेपाली समयअनुसार गएराति ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत मादुरको तस्बिर सार्वजनिक गरेका हुन्।

मादुरोकी पत्नीसमेत पक्राउ गरिएको भनिए पनि तस्बिरमा भने उनी छैनन्। 

तस्बिरमा मादुरोले आँखामा लगाउने मास्क, खैरो ट्र्याकसुट र हेडफोन लगाएका छन्।

मादुरोको तस्बिरसहित ट्रम्पले क्याप्सनमा लेखेका छन्, ‘निकोलस मादुरो यूएसएस इवो जिमा (युद्धपोत) मा।’

घटनापछि ट्रम्पले फ्लोरिडामा पत्रकार सम्मेलन गरेका छन्।

जहाँ उनले भने, ‘शक्तिको सुरक्षित, सही र समझदारीपूर्ण परिवर्तन नभएसम्म भेनेजुएला संयुक्त राज्य अमेरिकाले चलाउनेछ।’

यस क्रममा उनले अमेरिकी सेनाको प्रशंसा पनि गरे। 

ट्रम्पले भने, ‘तयार अवस्थामा भए पनि भेनेजुएलाको सेना पूर्ण रूपमा आत्तियो र चाँडै पराजित भयो।’

उनले थपे, ‘अपरेसनका क्रममा कुनै पनि अमेरिकी सैनिक मारिएनन्, न त उनीहरूको हतियार वा उपकरणमा क्षति पुगेको छ।’ 

ट्रम्पले अमेरिकाले ‘समुद्रबाट आउने ९७ प्रतिशत लागुपदार्थको ओसारपसार समाप्त पारेको’ दाबी गरे। 

यसअघि शनिबार ट्रम्पले भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो र उनकी पत्नीलाई पक्राउ गरी देशबाहिर लगिएको बताएका थिए। 

यस्तै अमेरिकी महान्यायाधिवक्ता पामेला बोन्डीले अब उनीहरूविरुद्ध मुद्दा चलाइने घोषणा गरेकी थिइन्। 

बोन्डीले एक्समा लेखेकी छन्, ‘निकोलस मादुरोलाई संयुक्त राज्य अमेरिकाविरुद्ध नार्को-आतंकवाद षड्यन्त्र, कोकिन आयात गर्ने षड्यन्त्र, मेसिन गन र खतरनाक उपकरण राख्ने षड्यन्त्र गरेको अभियोग छ।’

‘उनले चाँडै अमेरिकी भूमिमा, अमेरिकी अदालतमा, अमेरिकी न्यायको सामना गर्नेछन्’, उनले थपेकी छन्। 

यसैबीच भेनेजुएलाकी उपराष्ट्रपति डेल्सी रोड्रिगेजले अमेरिकाको आक्रमणपछि राष्ट्रपति मादुरोको दम्पतीको अवस्था अज्ञात रहेको भन्दै उनीहरू जीवित रहेको प्रमाण मागेकी छन्।

उनले भनेकी छन्, ‘भेनेजुएला सरकार दुवै जना जीवित रहेको प्रमाण तत्काल दिन माग गर्छ।’

मादुरोलाई अब अर्को हप्ता म्यानहट्टनको अदालतमा उपस्थित गराउने र लागुऔषध र हतियार तस्करीसँग सम्बन्धित गम्भीर आपराधिक मुद्दा लगाइने सम्भावना रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले  उल्लेख गरेका छन्।

अमेरिकाले शनिबार बिहानै भनेजुएलामा भीषण हवाई हमला गरेको थियो। त्यस क्रममा मादुरो र उनकी श्रीमतीलाई उनीहरूको शयनकक्षबाटै तानेर लगिएको अमेरिकी अधिकारीहरूलाई उद्धृत गर्दै सीएनएनले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad