ग्लोबल


पति मदुरोसँगै अमेरिकी हिरासतमा रहेकी फ्लोरेस: भेनेजुएलाकी ‘प्रथम योद्धा’देखि ‘प्रथम महिला’सम्म

पति मदुरोसँगै अमेरिकी हिरासतमा रहेकी फ्लोरेस: भेनेजुएलाकी ‘प्रथम योद्धा’देखि ‘प्रथम महिला’सम्म

नेपालखबर
पुस २१, २०८२ सोमबार १२:५२, काठमाडौँ

सिलिया फ्लोरेस भेनेजुएलाकी ‘प्रथम महिला’ मात्र होइनन्; उनका समर्थकहरू उनलाई अक्सर ‘प्रथम योद्धा’ भनेर सम्बोधन गर्छन्।

राष्ट्रपति निकोलस मदुरोकी पत्नी फ्लोरेसा भेेेनेजुएला सरकारमा सामेल शीर्ष महिलामध्ये एक हुन्।

सन् १९५६ मा जन्मिएकी फ्लोरेसले आफ्ना पतिसँगै आफ्नो राजनीतिक पहिचान बनाइन् र कतिपटक त उनीभन्दा उच्च पदमा पनि रहिन्।

सन् २०१३ मा मदुरो राष्ट्रपति बनेपछि सिलियाले देशको राजनीतिलाई दिशा दिन सक्रिय भूमिका खेलिन्।

गत शनिबार (जनवरी ३ तारिख) उनी र उनका पति निकोलस मदुरोलाई अमेरिकी सेनाले हमला गरी भेनेजुएलास्थित निवासबटै अपहरण गरे। अहिले उनीहरू न्युयोर्कस्थत हिरासत केन्द्रमा छन् उनीहरूविरुद्ध लागुपदार्थ तस्करी र हतियारको आरोपमा मुद्दा चलाइँदै छ।

फ्लोरेस र मादुरो दुवै अर्का व्यक्तित्व भेनेजुएलाका नेता ह्युगो चाभेजको छत्रछायामा सत्तामा पुगे।

चाभेजको मृत्युपछि सन् २०१३ मा राष्ट्रपति चुनावी अभियानका क्रममा मदुरो आफैँले फ्लोरेसलाई ‘प्रथम योद्धा’ भनेर सम्बोधन गरेका थिए र ‘प्रथम महिला’ शब्दलाई ‘कुलीन वर्गको अवधारणा’ भन्दै खारेज गरिदिएका थिए।

सन् २०१८ सेप्टेम्बरमा अमेरिकाको वित्तीय विभागले भेनेजुएलाका राष्ट्रपतिका नजिकका व्यक्तिहरूलाई लक्ष्य गर्दै फ्लोरेसविरुद्ध आर्थिक प्रतिबन्ध लगाएको थियो।

यसरी भयो फ्लोरेस-मदुरो भेट 


फ्लोरेसको जन्म भेनेजुएलाको राजधानी काराकासबाट लगभग २०० किलोमिटर पश्चिम टिनाक्विलो सहरमा भएको हो। मदुरोका अनुसार, उनको जन्म ‘खेत’मा भएको थियो। उनी चार वर्षकी हुँदा उनको परिवार त्यो सहरबाट काराकास सरेको थियो।

६ जना भाइबहिनीमध्ये कान्छी फ्लोरेस काराकासमा आफ्नो परिवारसँग सहरको पश्चिमी भागमा रहेका दुई घना बस्ती भएका छिमेकी काटिया र बोकेरोनको काराकसमा बस्थिन्।

३२ वर्षको उमेरमा उनले निजी विश्वविद्यालय सान्ता मारियामा कानुनको अध्ययन पूरा गरिन्। पछि फौजदारी र श्रमसम्बन्धी कानुनमा विशेषज्ञता हासिल गरिन्।

उनको जीवनले १९९२ फेब्रुअरी मा नयाँ मोड लियो, जब ह्युगो चाभेजको नेतृत्वमा भएको कु प्रयास असफल भयो।

फ्लोरेस कुमा संलग्न सैन्य अधिकारीहरूको बचाउ गर्ने वकिलहरूको टोलीमा सामेल भइन्। र, पछि उनीहरूको राजनीतिक अभियानमा पनि ​​संलग्न भइन्। 

राजनीतिक कार्यक्रममा ह्युगो चाभेजसँगै उभिएकी सिलिया फ्लोरेस (फाइल फोटो)।

यसै अवधिमा फ्लोरेसको भेट मदुरोसँग भएको हो। त्यस बेलाका तस्बिरमा मदुरो प्राय: सार्वजनिक कार्यक्रममा चाभेजसँग कुनै सुरक्षा गार्डका रूपमा देखिन्छन्। 

मदुरोले सम्झिँदै भनेका थिए, ‘जीवनको यात्राले मलाई सिलियासँग भेट गरायो। उनी जेलमा रहेका धेरै जना देशभक्त सैन्य अधिकारीहरूको वकिल थिइन्। यति मात्र होइन, उनी कमान्डर चाभेजकी वकिल पनि थिइन्, जेलमा रहेका कमान्डरको वकिल! गाह्रो थियो।’

‘संघर्षका वर्षमा हाम्रो भेट भयो। र, मेरो नजर उनीमाथि पर्‍यो अनि उनले पनि मप्रति ध्यान दिन थालिन्।’

यसपछि दुवैको सम्बन्ध चाभेज र उनको राजनीतिक आन्दोलन चाभिस्मोसँग गाँसियो।

सांसद र वकिल
१९९० को दशकमा फ्लोरेसले चाभेजसँग सम्बन्धित धेरै संस्थाका लागि काम गरिन्। १९९८ को राष्ट्रपति चुनावमा चाभेज सत्तामा आउनासाथ उनी धेरैवटा महत्त्वपूर्ण पदमा पुगिन्।

फ्लोरेस २००० मा राष्ट्रिय सभामा निर्वाचित भइन्। २००६ मा दोस्रोपटक विजयी भपछि उनी राष्ट्रिय सभाको अध्यक्षता गर्ने पहिलो महिला बनिन्।

६ वर्षसम्म उनले लगभग एक-दलीय संसद्‌को नेतृत्व गरिन्, किनकि मुख्य विपक्षी दलहरूले चुनावमा भाग नै लिएनन्।

फ्लोरेसले आफूलाई चाभेजको एक लडाकु सहयोगी साबित गरिन्। राष्ट्रिय सभाको अध्यक्षका रूपमा उनको कार्यकाल विवादमुक्त थिएन- उनले पत्रकारलाई संसद् कक्षमा प्रवेश गर्नसमेत रोक लगाएकी थिइन्।

यो प्रतिबन्ध जनवरी २०१६ सम्म कायम रह्यो, जबसम्म भेनेजुएलाका विपक्षी दलहरूले नयाँ चुनावबाट राष्ट्रिय सभामा नियन्त्रण हासिल गर्न सकेनन्।

फ्लोरेसविरुद्ध नातावादको आरोप पनि लाग्यो। युनियनहरूले उनले आफ्नो परिवारका धेरै सदस्यसहित झन्डै ४० जनालाई नियुक्ति दिएको आरोप लगाए। 

२०१२ को सुरुमा चाभेजले उनलाई देशको महान्यायाधिवक्ता नियुक्त गरे। फ्लोरेसले २०१३ मार्चसम्म यो पद सम्हालिन्, राष्ट्रपति चाभेजको निधन नहुन्जेल। 

२०१२ को सुरुमा चाभेजले सिलियालाई देशको महान्यायाधिवक्ता नियुक्त गरे।
मदुरो राष्ट्रपतिमा निर्वाचित भएको तीन महिनापछि जुलाईमा फ्लोरेस औपचारिक रूपमा ‘प्रथम महिला’ बनिन्, किनभने उनीहरूले बिहे गरे। 

उनीहरूको लामो समयदेखिको सम्बन्धले औपचारिकता पायो।

यस अविधमा उनीहरूले आफ्ना अघिल्ला विवाहबाट भएका बच्चाहरूलाई सँगै हुर्काए- फ्लोरेसका तीन र मदुरोको एक।

फ्लोरेस २०१५ मा पुन: राष्ट्रिय सभा सदस्यमा निर्वाचित भइन्।

तर यसपटक चाभिस्मो १५ वर्षमा पहिलोपटक अल्पमतमा परेको थियो। दुई वर्षपछि २०१७ अगस्टमा उनले राष्ट्रिय सभाबाट राजीनामा दिइन् र यसपटक उनी विवादास्पद राष्ट्रिय सभा सदस्य बनिन्।

परिवार
२०१५ मेमा फ्लोरेसले सार्वजनिक नेटवर्कमा ‘विथ सिलिया, एज अ फेमिली’ नामक टीभी कार्यक्रम सुरु गरिन् र एक वर्षपछि सरकारी रेडियोमा ‘डिसिजन्स’ नामको कार्यक्रम चलाउन थालिन्।

तर पछिल्ला वर्ष सञ्चारमाध्यमको ध्यान उनको परिवारमा केन्द्रित भएको छ, उनमा होइन।

२०१५ नोभेम्बरमा न्युयोर्कका एक अभियोजकले उनका दुई भतिजाविरुद्ध लागुऔषध तस्करीको आरोपमा मुद्दा दायर गरे।

उनीहरूलाई हैटीमा पक्राउ गरियो र अमेरिकी औषधि प्रवर्तन प्रशासन (डीईए) को जिम्मा लगाइयो। 

फ्लोरेसले अमेरिकी अधिकारीहरूले आफ्ना भतिजाहरू ‘अपहरण’ गरेको आरोप लगाइन्।

तर २०१७ डिसेम्बरमा एक न्यायाधीशले ती दुई युवालाई लागुऔषध तस्करी मुद्दामा १८ वर्षको जेल सजाय सुनाए।

अभियोजकहरूको दाबी थियो- उनीहरूले काराकासको मैक्वेटिया विमानस्थलमा रहेको राष्ट्रपतिको ह्याङ्गर प्रयोग गरेर ८०० किलोग्राम कोकिन होन्डुरस र त्यसपछि अमेरिका पुर्‍याएका थिए। 

२०२२ अक्टोबरमा दुवै जनालाई एक सम्झौताअन्तर्गत रिहा गरिएको थियो।

अमेरिकाका तत्कालीन राष्ट्रपति जो बाइडेनले भेनेजुएलामा कैद गरिएका सात अमेरिकी नागरिक फिर्ताको बदलामा उनीहरूलाई माफी दिएका थिए।

तर ट्रम्प ह्वाइट हाउस फर्किनासाथ फ्लोरेसका दुई भतिजा र परिवारका अन्य सदस्यविरुद्ध पुन: प्रतिबन्ध लगाइयो।

अहिले मदुरो र फ्लोरेस नै ट्रम्पको कब्जामा परेका छन्। बीबीसी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad