इरानका अन्तिम शाह (राजा) का निर्वासित छोरा रेजा पहलवीले देशमा आन्दोलनमा उत्रिएका नागरिकको समर्थन गरेका छन्।
उनले सामाजिक सञ्जालमा पोस्ट गर्दै लगातार प्रदर्शनले इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीको शासन कमजोर भइसकेको टिप्पणी गरेका हुन्।
पहलवीले लेखेका छन्, ‘इरानको सडकमा लगातार तेस्रो रात तपाईंहरूको विशाल, साहसी उपस्थितिले खामेनीको दमनकारी प्रणाली र शासनलाई निकै कमजोर बनाएको छ।’
पहलवीले धेरै सुरक्षाकर्मीले आफ्नो जागिर छाडेका छन् वा प्रदर्शनकारीलाई रोक्न आदेश अस्वीकार गरेको दाबी पनि गरेका छन्।
उनले लेखेका छन्, ‘म तपाईंहरू सबैलाई आफ्ना साथी र परिवारका साथ समूहमा आफ्ना सहरका मुख्य सडकमा जान आग्रह गर्दछु। बाटोमा एकअर्काबाट वा भिडबाट अलग नहुनुहोस् र ज्यान नै खतरामा पर्ने सडकमा नजानुहोस्।’
पहलवीले प्रदर्शनकारीहरूलाई संसारभरका मानिसको समर्थन रहेको दाबी गर्दै प्रोत्साहन गरेका छन्।
उनले लेखेका छन्, ‘आज संसार तपाईंको क्रान्तिको साथमा उभिएको छ र तपाईंहरूको साहसको प्रशंसा गरिरहेको छ। विशेषगरी (अमेरिकाका) राष्ट्रपति (डोनाल्ड) ट्रम्पले समेत तपाईंहरूलाई मद्दत गर्ने घोषणा गरिसक्नुभएको छ।’
देशमा बढेको महँगी र कमजोर आर्थिक अवस्थाविरुद्ध गत डिसेम्बर २८ देखि इरानमा सरकारविरुद्ध प्रदर्शन भइरहेको छ।
इरानमा जारी सरकारविरोधी प्रदर्शनका क्रममा मारिएकाको संख्याबारे भने विभिन्न खालका तथ्यांक सार्वजनिक भइरहेका छन्।
यस क्रममा टाइम पत्रिकाले तेहरानका एक डाक्टरलाई उद्धृत अहिलेसम्म कम्तीमा २१७ प्रदर्शनकारीको मृत्यु भएको भनी लेखेको छ।
Shares

प्रतिक्रिया