ग्लोबल


शेख हसिना भारत भागेको १६ महिनापछि आज बंगलादेशमा नयाँ सरकार बन्दै

शेख हसिना भारत भागेको १६ महिनापछि आज बंगलादेशमा नयाँ सरकार बन्दै

बीएनपी अध्यक्ष तारिक रहमान, जो आजदेखि बंगलादेशको प्रधानमन्त्री बन्दै छन्।


नेपालखबर
फागुन ५, २०८२ मंगलबार ८:२३, काठमाडौँ

यही फेब्रुअरी १२ तारिख बंगलादेशमा भएको चुनावबाट निर्वाचित सांसदहरूले आज (मंगलबार) पदको शपथ खाँदै छन्। यसपछि आजै नयाँ सरकारको शपथ पनि हुनेछ।

बीबीसी बंगलाका अनुसार, प्रमुख निर्वाचन आयुक्तले (स्थानीय समय) मंगलबार बिहान १० बजे संसद् भवनको दक्षिण प्लाजामा नवनिर्वाचित सांसदहरूलाई शपथ ग्रहण गराउनेछन्। 

यसपछि आजै अपराह्न ४ बजे प्रधानमन्त्री र मन्त्रिपरिषद् सदस्यहरूको शपथ कार्यक्रम पनि हुनेछ। 

चुनावमा दुईतिहाइभन्दा बढी सिट जितेको बंगलादेश नेसनालिस्ट पार्टी (बीएनपी) का अध्यक्ष तारिक रहमान प्रधानमन्त्री बन्दै छन्।

विद्यार्थी विद्रोहका कारण सन् २०२४ अगस्ट ५ का दिन तत्कालीन प्रधानमन्त्री शेख हसिना देश नै छाडेर भागेपछि मोहम्मद युनुसको नेतृत्वमा गठित अन्तिरम सरकारले चुनाव गराएको हो। 

अन्तरिम सरकारले १६ महिनापछि निर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्दै छ। 

त्यसो त अन्तरिम सरकार प्रमुख युनुसले सोमबार राति नै आफ्नो बिदाइ भाषण गर्दै राजीनामा घोषणा गरेका छन्। 

फेब्रुअरी १२ मा भएको आम चुनावमा बीएनपी गठबन्धनले २१२ सिट जितेर दुईतिहाइ बहुमत हासिल गरेको छ भने विपक्षी जमात-ए-इस्लामी गठबन्धनले ७७ सिट जितेका छन्।

सन् २०२४ को विद्यार्थी आन्दोलनमा तत्कालीन सरकारले दमन गर्दा १४ सय जनाको मृत्यु भएको थियो। जसमा तत्कालीन प्रधानमन्त्री शेख हिसनालाई दोषी ठहर गर्दै त्यहाँको अदालतले मृत्युदण्ड सजायसमेत सुनाइसकेको छ। 

तर हसिना भारतमा लुकेर बसेकी छन् भने बंगलादेशले फिर्ता पठाइदिन पटकपटक अनुरोध गरे पनि भारत सरकारले बेवास्ता गरिरहेको छ। 

हसिना लखेटिएपछि बंगलादेशमा भएको यो पहिलो चुनाव हो। साथै यसपटकको निर्वाचन पूर्वप्रधानमन्त्री खालिदा जियाको निधनपछि भएको पहिलो पनि हो।  

सन् १९९१ देखि २०२४ सम्म शेख हसिना र खालिदा जियाले पालैपालो गरेर ३५ वर्षसम्म बंगलादेशमा शासन गरिरहेका थिए। अहिले यी दुईको प्रभुत्व तोड्दै बंगलादेशमा नयाँ अनुहारका व्यक्ति प्रधानमन्त्री बन्न लागेका हुन्। साथै ३५ वर्षपछि बंगलादेशमा पुरुष प्रधानमन्त्री बन्न लागेका हुन्। 

त्यसो त अहिले प्रधानमन्त्री बन्न लागेका तारिक रहमान पूर्वप्रधानमन्त्री खालिदा जियाकै छोरा हुन्। 

यसपटकको चुनावमा हसिनाको पार्टी अवामी लिगलाई भने प्रतिबन्ध लगाइएको थियो अर्थात् भाग लिन दिइएन। यसैकारण हसिनाले यो निर्वाचनलाई ‘पूर्वनियोजित छल र प्रहसन’ भनेकी छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad