ग्लोबल


खामेनीको अन्त्येष्टि भइरहेका बेला हर्मुजमा हमला, फेरि चर्कियो इरान-अमेरिका तनाव

खामेनीको अन्त्येष्टि भइरहेका बेला हर्मुजमा हमला, फेरि चर्कियो इरान-अमेरिका तनाव

नेपालखबर
असार २३, २०८३ मंगलबार १३:२५, दुबई (संयुक्त अरब इमिरेट्स)

इरानका पूर्वसर्वोच्च नेता अयातुल्ला अली खामेनीको अन्त्येष्टि जारी रहेका बेला विश्व ऊर्जा आपूर्तिको प्रमुख समुद्री मार्ग हर्मुज जलघाँटीमा फेरि एकपटक ट्यांकरमा प्रहार भएको छ।

ओमानको तटनजिक यात्रा गरिरहेको तरलीकृत प्राकृतिक ग्यास (एलएनजी) बोकेको ट्यांकरमा मंगलबार बिहान प्रहार भएपछि आगलागी भएको बेलायती सेनाले जनाएको छ।

घटनाले यस क्षेत्रको सुरक्षा, अन्तर्राष्ट्रिय व्यापार र इरान–अमेरिका तनावलाई थप जटिल बनाएको छ।

बेलायतको युनाइटेड किङ्गडम मेरिटाइम ट्रेड अपरेसन्स (यूकेएमटीओ) का अनुसार ओमानको लिमाह क्षेत्रनजिक दक्षिणतर्फ गइरहेको ट्यांकरको बायाँ भागमा प्रक्षेप्य प्रहार भएको थियो। आगलागी भए पनि घटनाबाट वातावरणीय क्षति नभएको र सम्बन्धित निकायहरूले अनुसन्धान अघि बढाइरहेको जनाइएको छ।

पर्सियन खाडी र ओमानको खाडी जोड्ने हर्मुज जलघाँटी विश्वकै सबैभन्दा व्यस्त ऊर्जा व्यापारिक मार्गमध्ये एक हो। विश्वको करिब पाँचौँ भाग तेल तथा प्राकृतिक ग्यास यही मार्ग हुँदै ओसारपसार हुने भएकाले त्यहाँ हुने प्रत्येक सुरक्षा घटनाले अन्तर्राष्ट्रिय बजारमा प्रत्यक्ष प्रभाव पार्ने गरेको छ।

इरानी सरकारी टेलिभिजनले कतारबाट एलएनजी बोकेको ट्यांकर आक्रमणमा परेको जनाएको भए पनि आक्रमणको जिम्मेवारी तेहरानले औपचारिक रूपमा स्वीकार गरेको छैन। यसअघि इरानले आफ्नो स्वीकृत समुद्री मार्गबाहेक अन्य मार्ग प्रयोग गर्ने जहाजहरूलाई चेतावनी दिँदै आएको थियो।

गत बिहीबार इरानको संयुक्त सैन्य कमान्डले जलघाँटीबाट गुड्ने सबै तेल ट्यांकरले स्वीकृत मार्ग प्रयोग गर्नुपर्ने र अमेरिकी सैन्य हस्तक्षेप भए त्यसको ‘द्रुत र निर्णायक’ जवाफ दिइने चेतावनी दिएको थियो।

यसैबिच जलघाँटी पूर्ण रूपमा खुलाउने, इरानको विवादास्पद आणविक कार्यक्रम सीमित गर्ने तथा फेब्रुअरी २८ मा सुरु भएको युद्धको स्थायी अन्त्य खोज्ने उद्देश्यले अमेरिका र इरानबिच वार्ता अघि बढाउने प्रयास जारी रहे पनि खामेनीको अन्त्येष्टिका कारण वार्ता केही समयका लागि स्थगित भएको जनाइएको छ।

सोमबार ह्वाइट हाउसमा अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई सम्झौता गर्न आग्रह गर्दै त्यसो नभए थप कडा कदम चाल्ने चेतावनी दिएका थिए। 

उनले सम्झौता गर्न चाहेको बताउँदै आवश्यक परे इरानको पूर्वाधार र ऊर्जा प्रणालीमाथि आक्रमण गर्न सकिने धारणा व्यक्त गरेका थिए। 

दुवै पक्षबिच ६० दिनसम्म जहाजलाई शुल्कबिनै आवतजावत गर्न दिने अस्थायी सहमति भए पनि इरानले भविष्यमा समुद्री मार्गको नियन्त्रण र शुल्क असुलीको अधिकार कायम राख्नुपर्ने अडान लिएको छ।

अमेरिका र खाडी क्षेत्रका धेरै मुलुकले भने त्यस्तो व्यवस्था स्वीकार नगर्ने बताएका छन्। ओमान र संयुक्त राष्ट्रसंघका निकायहरूले वैकल्पिक समुद्री मार्ग प्रयोग गर्ने प्रयासले यसअघि पनि क्षेत्रमा तनाव र आक्रमण निम्त्याएको बताएका छन्।

डेटा विश्लेषण संस्था केप्लरका अनुसार गत सप्ताहन्तमा मात्र कम्तीमा १०८ वटा जहाजले विभिन्न मार्ग प्रयोग गर्दै हर्मुज स्ट्रेट पार गरेका थिए।

यसैबिच इरानमा खामेनीको अन्त्येष्टिमा सहभागी हुन लाखौँ शोकाकुल कोम सहरमा भेला भएका छन्। इरानको सरकारी टेलिभिजनले जामकारान मस्जिदतर्फ जाँदै गरेका जनसागरको प्रत्यक्ष दृश्य प्रसारण गरेको थियो।

शोकयात्रामा खामेनी र उनका उत्तराधिकारी तथा नयाँ सर्वोच्च नेता अयातुल्ला मोजतबा खामेनीका तस्बिर बोकेका ब्यानर प्रदर्शन गरिएको थियो।

मोज्तबा खामेनी भने हालसम्म सार्वजनिक रूपमा अन्त्येष्टि कार्यक्रममा उपस्थित भएका छैनन्। युद्धका क्रममा भएको हवाई आक्रमणमा घाइते भएपछि उनी सुरक्षित स्थानमा रहेको अनुमान गरिएको छ।

युद्धको उत्कर्षमा इजरायलले वरिष्ठ इरानी नेतृत्वलाई लक्षित आक्रमण गरेको र मोज्तबा खामेनीलाई समेत निशाना बनाउने चेतावनी दिएको थियो।

अन्त्येष्टि र राष्ट्रिय शोकका कारण इरानका धेरै क्षेत्रमा सडक, हवाई सेवा तथा दैनिक गतिविधिमा व्यापक प्रतिबन्ध लगाइएको छ।(रासस/एपी) :

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad