ग्लोबल


खामेनी मारिए, अब इरानमा सर्वोच्च नेता को?

खामेनी मारिए, अब इरानमा सर्वोच्च नेता को?

अयातोल्लाह अली खामेनी र छोरा मोज्तबा खामेनी। (फाइल फोटो)


नेपालखबर
फागुन १७, २०८२ आइतबार १४:१७, काठमाडौँ

अमेरिका-इजरायलको आक्रमणमा इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीको मारिएपछि त्यहाँ सबैभन्दा महत्त्वपूर्ण प्रश्न बनेको छ- अब उनको स्थानमा को?

यो प्रश्न किन पनि टड्कारो बनेको छ भने इरानमा सर्वोच्च नेता पद राष्ट्रपतिभन्दा बढी शक्तिशाली हुन्छ।

इरानले अहिलेसम्म नयाँ सर्वोच्च नेताको नाम घोषणा गरेको छैन, तर सरकारी सञ्चारमाध्यम फार्ससहित इरानका धेरैवटा मिडिया रिपोर्टअनुसार उनका छोरा मोज्तबा खामेनी अब उक्त पदमा निर्वाचित हुन सक्छन्।

एक र्‍यालीमा बुबा अली खामेनीसँग मोज्तबा खामेनी (पछाडि)। (फाइल फोटो)

किनिक उनलाई सर्वोच्च नेता पदमा नियुक्ति गर्ने तयारी दुई वर्षदेखि नै भइरहेको छ।

इरानमा सर्वोच्च नेतालाई ‘रहबर’ भनिन्छ, जसको अर्थ ‘मार्गदर्शक’ अर्थात् ‘बाटो देखाउने’ हो।

त्यहाँ ८८ धर्मगुरुको भेलाले सर्वोच्च नेता चयन गर्छ। 

इरान र भ्याटिकन सिटी मात्र संसारका त्यस्ता देश हुन्, जहाँ धार्मिक नेता सबैभन्दा बढी शक्तिशाली हुन्छन्। 

इरानमा सर्वोच्च नेताको हैसियत भ्याटिकनमा पोपको जस्तै छ।

इजरायल र अमेरिकाले शनिबार गरेको संयुक्त हवाई आक्रमणमा इरानका सर्वोच्च नेता खामेनी मारिएका हुन्। उनीसँगै उनका छोरी, ज्वाइँ, नातिनी र बुहारी पनि मारिएको इरानी सञ्चारमाध्यमले जनाएका छन्। 

सर्वोच्च नेता खामेनी मारिएपछि इरानले ४० दिनको राजकीय शोक र ७ दिनको सार्वजनिक बिदा घोषणा गरेको छ।

आईआरजीसीले भनेको छ, ‘हामीले एक महान् नेता गुमाएका छौँ र सिंगो देश शोकमा छ।’

यसैबिच वासिङ्टनस्थित इरानी मानव अधिकार समूह ह्युमन राइट्स एक्टिभिस्ट्स न्युज एजेन्सीले अमेरिका र इजरायलको आक्रमणमा इरानमा कम्तीमा १३३ जना मारिएको र २०० जना घाइते भएको जनाएको छ।

जवाफमा शनिबारै २७ अमेरिकी अड्डाका साथै तेल अभिभस्थित इजरायली सेनाको मुख्यालय र रक्षा उद्योगमा हमला गरिएको इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्सले विज्ञप्तिमार्फत जनाएको छ।

सर्वोच्च नेता खामेनी मारिएपछि इरानले अब उनीहरूविरुद्ध ‘इतिहासकै खतरनाक आक्रमण’ गर्ने चेतावनी दिएको छ।

जवाफमा फेरि ट्रम्पले ट्रुथ सोसलमार्फत भनेका छन्, ‘इरानले भर्खरै यसअघि कहिले नगरिएको धेरै शक्तिशाली आक्रमण गर्ने भनेको छ। तर त्यसो नगर्नु उसका लागि राम्रो हुनेछ। किनकि त्यसो गर्‍यो भने हामी त्यस्तो भीषण आक्रमण गर्नेछौँ, जुन उसले यसअघि कहिले देखेको थिएन।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad