इरानको संसद्का सभामुख मोहम्मद बागेर गालिबाफलाई ‘चीन मामिलाका लागि विशेष प्रतिनिधि’ नियुक्त गरिएको छ।
इरानको समाचार एजेन्सी तस्निम का अनुसार राष्ट्रपतिको प्रस्ताव र सर्वोच्च नेताको स्वीकृतिमा गालिबाफलाई ‘चीन मामिलाका लागि विशेष प्रतिनिधि’ बनाइएको हो।
यसअघि गालिबाफले पाकिस्तानमा भएको अमेरिका र इरानबिचको वार्तामा इरानी प्रतिनिधिमण्डलको नेतृत्व गरेका थिए।
इरानको सैन्य र सुरक्षा संस्थानिकट समाचार एजेन्सी तस्निमले लेखेको छ, ‘गालिबाफ चीनसँग इरानको सम्बन्धका विभिन्न क्षेत्रको संयोजक हुनेछन् र चीन मामिलामा उनलाई अघिल्ला प्रतिनिधिभन्दा भिन्न अधिकार हुनेछ।’
रिपोर्टअनुसार यसअघि अली लारिजानीले इरानका सर्वोच्च नेताको विशेष प्रतिनिधि र अब्दुलरेजा रहमानी फाजलीले चीन मामिलाका लागि राष्ट्रपतिको प्रतिनिधिका रूपमा काम गरेका थिए।
राष्ट्रिय सुरक्षा परिषद्का सचिव अली लारिजानी मार्च १७ मा अमेरिका र इजरायलले इरानमा संयुक्त आक्रमण गर्दा मारिएका थिए।
चीन इरानको सबैभन्दा ठुलो व्यापारिक साझेदार हो। दुई देशबिच २५ वर्षे संयुक्त सहयोग योजनामा हस्ताक्षर भएको छ।
गत वर्ष इरानका राष्ट्रपति मसुद पेजेस्कियानले अब्दुलरेजा रहमानी फाजलीलाई बेइजिङका लागि इरानको राजदूत, राष्ट्रपतिको विशेष प्रतिनिधि र इस्लामिक गणतन्त्रको पूर्णाधिकार प्रतिनिधिका रूपमा नियुक्त गरेका थिए।
Shares

प्रतिक्रिया