भारतमा विवाहेतर सम्बन्धका कारण श्रीमतीले श्रीमान्को हत्या गरेको अर्को घटना सार्वजनिक भएको छ।
हिन्दुस्तानका अनुसार भारतीय राज्य महाराष्ट्रस्थित नागपुरमा एक महिलाले आफ्ना प्रेमीसँग मिलेर गम्भीर बिरामी पतिको हत्या गरेकी हुन्।
महिलाले पहिले प्रहरीलाई भ्रममा पार्न खोजे पनि पछि कडा रूपमा सोधपुछ गरेपछि वास्तविकता खुलेको बताइएको छ।
प्रहरीका अनुसार ३० वर्षीया दिशा रामटेकले आफ्ना प्रेमी आसिफ उर्फ राजाबाबु टायरवालाको सहयोगमा ओछ्यानमा सुतेका पति चन्द्रसेन रामटेकको हत्या गरेकी हुन्।
घटना तारोडी खुर्द क्षेत्रको हो। पक्षाघातका कारण रामटेक ओछ्यान परेका थिए। जब चन्द्रसेनले पत्नी दिशा र आसिफको सम्बन्धको बारेमा थाहा पाए, तब भयानक झगडा सुरु भयो।
यसपछि शुक्रबार दिशाले चन्द्रसेनलाई ओछ्यानमै समातिन् भने उनका प्रेमी असिमले मुखमा तकियाले थिचेर मारेको पाइएको प्रहरीको भनाइ छ।
महिलाले सुरुमा पतिको मृत्यु बिरामीका कारण भएको दाबी गरेकी थिइन्, तर पोस्टमार्टम रिपोर्टले उनको घाँटी थिचेर हत्या गरिएको खुलासा भएको हो।
सोधपुछका क्रममा दिशाले अपराध स्वीकार गरिसकेको प्रहरीले जनाएको छ। दुवैलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान अगाडि बढाएको छ।
यसअघि भारतकै मेघालयमा हनिमुनका क्रममा राजा रघुवंशीलाई आफ्नै पत्नी सोनम रघुवंशीले हत्या गराएको घटना चर्चामा छ।
Shares

प्रतिक्रिया