ग्लोबल


पाँच वर्षपछि भारतीय सैनिकलाई सामाजिक सञ्जाल चलाउन अनुमति

पाँच वर्षपछि भारतीय सैनिकलाई सामाजिक सञ्जाल चलाउन अनुमति

नेपालखबर
पुस १०, २०८२ बिहिबार १८:२९, काठमाडौँ

भारतीय सेनाका जवानहरूले पाँच वर्षपछि फेरि सामाजिक सञ्जाल एप प्रयोग गर्न पाउने भएका छन्। सन् २०२० मा सामाजिक सञ्जाल प्रयोगमा लगाइएको प्रतिबन्ध केही सर्तसहित अहिले हटाइएको हो।

समाचार एजेन्सी एएनआईका अनुसार, नयाँ निर्देशिकाअन्तर्गत भारतीय सैनिकले अब इन्स्टाग्राममा रिल, फोटो र भिडिओ हेर्न पाउनेछन्, तर टिप्पणी गर्न अनुमति छैन।

यस्तै ह्वाट्सएप र टेलिग्रामजस्ता एपमा गोप्य राख्न नपर्ने जानकारी सार्वजनिक गर्न पाइनेछ। अनि युट्युब र एक्स केवल सूचनात्मक उद्देश्यका लागि प्रयोग गर्न सकिनेछ। लिंक्डइन, स्काइप र सिग्नलका लागि पनि नयाँ निर्देशिका जारी गरिएको छ।

सन् २०२० मा भारत सरकारले संवेदनशील जानकारी चुहावट हुने जोखिमका कारण सेनाका जवान र अधिकारीहरूलाई ८९ एप हटाउन आदेश दिएको थियो।

यी एपमा फेसबुक, इन्स्टाग्राम, टिकटक, जुम र पबजी थिए। त्यतिबेला यी एपमार्फत हनीट्र्यापका धेरै घटना भएका थिए।

सन् २०२० मा भारतीय सैनिकलाई सामाजिक सञ्जाल प्रयोगमा किन लगाइएको थियो प्रतिबन्ध?
वास्तवमा सन् २०२० भन्दा पहिले भारतीय सैनिकले सामाजिक सञ्जाल प्रयोग गर्दा हनी ट्र्यापका घटना बढेका थिए।

भारतीय सैन्य कर्मचारीहरूलाई सामाजिक सञ्जालमा हनी ट्र्याप गरेपछि पाकिस्तानी गुप्तचर एजेन्सी आईएसआईलाई संवेदनशील जानकारी चुहावट भएको धेरै घटना भएका थिए। 

पाकिस्तान र चीनजस्ता छिमेकी देशले एपमार्फत जानकारी लिएर सीमा र नियन्त्रण रेखामा निरन्तर समस्या सिर्जना गरिरहेको दाबी त्यतिबेला भारतीय सेनाले गरेको थियो।

यही कारण देखाउँदै सन् २०२४ मा भारतीय सेनाले आफ्ना अधिकारी र सैनिक जवानहरूलाई आधिकारिक कामका लागि ह्वाट्सएप प्रयोग नगर्न सल्लाह दिएको थियो। पछि यसलाई पूर्ण रूपमा प्रतिबन्ध लगाइएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad