बंगलादेशमा फेरि अर्का हिन्दु युवकलाई कुटीकुटी मारिएको छ।
प्रहरीका अनुसार बुधबार राति ११ बजेतिर राजबारी जिल्लाको होसेन्डांगा गाउँमा २९ वर्षीय अमृत मण्डल उर्फ सम्राट नामका युवकको हत्या भएको हो।
यसअघि यही डिसेम्बर १८ मा ढाकानजिकै भिडले हिन्दु समुदायकै युवक दिपु चन्द्र दासको हत्या गरेको थियो। हत्यापछि युवकको शवलाई समेत रुखमा झुन्ड्याएर आगो लगाइएको थियो।
प्रहरीले अमृत मण्डललाई जबरजस्ती चन्दा असुलीको आरोपमा भिडले हत्या गरेको बताएको छ। मृतक होसेन्डांगा गाउँका बासिन्दा थिए।
प्रहरीले अमृतका सहयोगी मोहम्मद सलीमलाई पक्राउ गरेको छ र उनको साथबाट दुई हतियार बरामद पनि गरेको छ।
प्रहरी एसएसपीले सम्राटको शव पोस्टमार्टमका लागि राजबारी सदर अस्पतालको शवगृहमा पठाइएको बताएका छन्।
उनले सम्राटविरुद्ध पाङ्सा प्रहरी चौकीमा कम्तीमा दुईवटा जाहेरी दर्ता भएको पनि बताए, जसमा एउटा हत्यासम्बन्धी छ।
डेली स्टारका अनुसार, स्थानीयले सम्राटमाथि आपराधिक गिरोह बनाएको आरोप लगाएका छन्। उनी लामो समयदेखि जबरजस्ती रकम असुल्ने र अन्य आपराधिक गतिविधिमा संलग्न रहेको दाबी स्थानीयले गरेका छन्।
लामो समय भारतमा लुकेर बसेपछि उनी हालै घर फर्किएका थिए। सम्राटले गाउँका बासिन्दा साहिदुल इस्लामसँग जबरजस्ती रकम असुल्ने गरेको आरोप छ।
बुधबार राति पनि सम्राट र उनका साथीहरू साहिदुलको घरमा पैसा लिन गएको दाबी गरिएको छ।
परिवारका सदस्यहरूले चोर चोर भनेर चिच्याएपछि स्थानीयहरू आएर सम्राटलाई कुटपिट गरेको बताइएको छ।
उनका अन्य साथीहरू भने भाग्न सफल भएको बताइएको छ।
बंगलादेशमा एकपछि अर्का हिन्दु युवकको हत्या हुन थालेपछि भारतमा हिन्दु संगठनहरूले विरोध प्रदर्शन गर्न थालेका छन्।
Shares

प्रतिक्रिया