अन्तर्वार्ता


सक्छ भने निर्मल निवासले कांग्रेस–कम्युनिस्टमा खेल्नु, राजावादी भएको राप्रपामा किन : कमल थापा (अन्तर्वार्ता)

सक्छ भने निर्मल निवासले कांग्रेस–कम्युनिस्टमा खेल्नु, राजावादी भएको राप्रपामा किन : कमल थापा (अन्तर्वार्ता)

सीताराम बराल
पुस २७ , काठमाडौँ

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को १५–१७ मंसिरमा सम्पन्न एकता महाधिवेशनमा आफ्नै कार्यकर्ता राजेन्द्र लिङ्देनसँग अध्यक्षमा पराजित भए, २०६१–०६२ देखि लगातार पार्टीको नेतृत्व गर्दै आएका पूर्वउपपप्रधानमन्त्री कमल थापा। 

आफ्नो पराजयको कारण पूर्व राजा ज्ञानेन्द्र शाह र निर्मल निवास भएको आरोप पूर्वअध्यक्ष थापाले लगाउँदै आएका छन्। राप्रपा महाधिवेशनमा निर्मल निवासको हस्तक्षेपको आरोप, अध्यक्षमा पराजयपछि राप्रपा विभाजित हुने सम्भावनालगायतका विषयमा नेपालखबरले निवर्तमान अध्यक्ष थापासँग लामो कुराकानी गरेको छ।

प्रस्तुत छ– थापासँगको कुराकानीको सम्पादित अंश:

राप्रपा अध्यक्षमा पराजित भएपछि अरुणा लामाले गाएको ‘पोहोर साल खुसी फाट्दा...’ गीत स्मरण गर्दै जोडिनै नसक्ने गरी निर्मल निवाससँग मन फाटेको संकेत गर्नुभयो। खासमा निर्मल निवाससँग कुन विन्दुदेखि मन फाट्न सुरु गरेको हो? 
यो गीत मेरो सन्दर्भमा प्रतीकात्मक छ। ‘पोहोर साल मायाँ फाट्यो’ भन्नुको मतलब २०७४ साल हो। त्यो बेला निर्मल निवासबाट एकीकृत राप्रपालाई फुटाउने काम भयो। त्यसलाई पनि जतन गरी टाल्ने काम गर्यौँ। 

त्यसपछि निरन्तर रुपमा साना–साना समूह खडा गरेर राप्रपाविरुद्धमा र मेरो चरित्र हत्या गर्ने काम गरियो। सडकमा ‘राजा आऊ, देश बचाऊ’ भन्ने नारा लगाउने, तर त्यस एजेन्डाको प्रमुख संवाहक राप्रपा र कमल थापालाई बदनाम गर्ने काम भयो। त्यसलाई पनि हामीले बिस्तारै सिउने–टाल्ने काम गर्दै आयौँ।

तर, यसपटक राजनीतिक चरित्रहत्या गर्ने मात्र होइन, मेरो राजनीतिक जीवन नै समाप्त गर्ने ढंगबाट जुन नाङ्गो हस्तक्षेप निर्मल निवासबाट भयो, त्यसले गर्दा मेरो मन फाटेको हो। यो कसरी सिउने, कसरी टाल्ने भन्ने कुराको जवाफ मसँग पनि छैन। 

निर्मल निवाससँग तपाईंले सार्वजनिक गुनासो गर्न थालेको डेढ महिना बित्न लागिसक्यो, कुनै जवाफ पाउनु भएको छैन? 
छैन। मैले पार्टीभित्र त्यस विषयमा अध्यक्ष राजेन्द्र लिङ्देनको ध्यानाकर्षण गरेर पत्र पठाएको छु। त्यो पत्रमा तीन वटा विषय छन्। एउटा, पार्टीको आन्तरिक मामिलामा निर्मल निवासको हस्तक्षेप। अर्काे– पार्टीको चरित्र परिवर्तन गरेर राप्रपालाई उग्र राजावादी, भजनमण्डलीमा परिवर्तन गर्न भएको षडयन्त्र। 

यी विषयको निराकरण हुनुपर्छ भनेर मैले पत्रमा लेखेको छु। तर, ठ्याक्कै एक महिना भयो, आजसम्म कुनै ‘रेस्पोन्स’ पाएको छैन।​

अध्यक्ष राजेन्द्र लिङ्देनसँग संवाद भएकै होला। तपाईंले उठाएका यी विषयबारे उहाँ के भन्नुहुन्छ?  
निर्वाचन परिणाम आएपछि मैले आफैँले फोन गरेर उहाँलाई बधाई र शुभकामना दिएँ। त्यसपछि मेरो सम्पर्क भएको छैन। 

तपाईंले पटक–पटक राप्रपा अध्यक्षमा आफूलाई हराउन षडयन्त्र भयो भनेर ‘निर्मल निवास’ भन्ने अमूर्त शब्दावली प्रयोग गरिरहनु भएको छ। खासमा ‘निर्मल निवास’ भनेको को हो? 
जहाँसम्म ‘निर्मल निवास एउटा अमूर्त शब्द भयो’ भन्ने प्रसङ्ग छ, मैले ‘निर्मल निवास’ भनेर वास्तवमा पूर्वराजा ज्ञानेन्द्र र उहाँको सचिवालयलाई इङ्गित गर्न खोजेको हुँ। 

करिब पचास वर्षको मेरो राजनीतिक जीवनमा सदैव मैले सम्मान गरेको, आस्था राखेको र विश्वास गरेको राजसंस्थाका बारेमा नकारात्मक टीकाटिप्पणी गर्न म  चाहन्नँ। त्यसो गर्न मेरो स्वभावले पनि दिँदैन। तथापि अहिले जुन प्रकारको परिस्थिति देखापर्यो, त्यो चुनाव हारेको कारणले गर्दा सिर्जना भएको होइन।  

हामीले रगत–पसिना बगाएर खडा गरेको राप्रपाको भविष्यलाई नै अन्धकार बनाउने ढंगबाट जुन काम निर्मल निवासबाट भयो, त्यसले गर्दा नचाहँदा–नचाहँदै पनि मैले राजा, राजसंस्था र निर्मल निवासको प्रसङ्ग उठाउनु परेको हो। 

राजसंस्थाको बारेमा मैले जसरी विगतमा वकालत गर्दै हिँडेको थिएँ, आज त्यही संस्थाको बारेमा नकारात्मक टिप्पणी गर्नुपर्दा मलाई अत्यन्त पीडा अनुभव हुन्छ। यो मेरो कुनै व्यक्तिगत आक्रोश वा दोषारोपण होइन। मेरो यो अभिव्यक्ति राजसंस्थाकै पक्षमा छजस्तो लाग्छ।

यदि नेपालमा राजसंस्थाको पुनर्स्थापना चाहने हो भने राजाले, निर्मल निवासले आफ्नो सोचाइमा सुधार गर्नु नितान्त आवश्यक छ।​

आफ्नै कार्यकर्तासँग चुनावमा पराजय भएको तोड लुकाउन ठूलो शक्तिले हरायो भनेर निर्मल निवासलाई मुछ्न खोज्नु भएको त होइन?  
मैले हारलाई सहन नसकेको कारणले यो अभिव्यक्ति दिएको हुँ भन्ने व्यापक प्रचार भएको छ। यो कुरा सत्य होइन। 

मैले आफ्नो राजनीतिक जीवनमा धेरै पटक आरोह–अवरोहको अनुभव गरेको छु। सफलता–असफलतालाई भोगेको छु। म पटक–पटक हारेको छु। चुनाव मात्र हारेको होइन, मेरो राजनीतिक जीवनलाई नै दुरगामी प्रभाव पार्ने महत्वपूर्ण घटनाहरु पनि मैले भोगेको छु। तर, म कहिल्यै विचलित भएको छैन। अहिलेपनि विचलित भएको छैन।

जुन मान्यतालाई बोकेर १५ वर्षयता म लागेँ, जुन मान्यताको निम्ति मैले आफ्नो ज्यानलाई पनि हत्केलामा राखेर हिँडेँ, सामाजिक बहिष्कार, अछुतजस्तो व्यवहार र राजनीतिक रुपमा निषेधको सिकार भएँ, यस्तो हुँदा पनि अविचलित रुपमा राजसंस्थाको एजेन्डा बोकेर हिँडेँ, राजसंस्थाको पुनर्स्थापनाको निम्ति संघर्ष गरेँ। तर, त्यही राजसंस्थाबाट मविरुद्ध षडयन्त्र गरियो। 

अघि मैले तपाईंलाई सुरुमै निवेदन गरेको छु, पटक–पटक निर्मल निवासको अदुरदर्शिताको सिकार राप्रपा हुन पुग्यो। यसअघिका प्रसङ्गहरुलाई त्यो बेला मैले त्यतिधेरै चर्चामा ल्याइनँ। किनभने, म आफैँ नीतिनिर्माण गर्ने नेतृत्व तहमा थिएँ। त्यसलाई सुधार गरेर जान सक्छु भन्ने मलाई लागेको थियो। 

म तपाईंलाई एउटा तीतो सत्य निवेदन गरुँ– मेरो यही हातले हस्ताक्षर गरेर सांसद र मन्त्री बनाएका व्यक्तिहरुलाई राजाका सचिवहरुले घरैमा गएर, घरमा बोलाएर पार्टी फुटाउने कामको निमित्त प्रयोग गर्नुभयो।

कति सालको कुरा हो यो? 
२०७४ सालमा। त्यो बेला रामकुमार सुब्बा, विराज विष्ट, कमला शर्मा, रेशम लामा लगायत १० जना मैले सांसद र मन्त्री बनाएका व्यक्तिहरुलाई मेरो विरुद्ध प्रयोग गरियो।  

म तपाईंलाई यो कुरा पनि प्रष्ट पारुँ– सक्छ भने निर्मल निवासले कांग्रेस र कम्युनिस्टमा खेल्नु नि? राप्रपामा त शतप्रतिशत राजावादी छन्। जो जिते पनि, जो हारे पनि ऊ राजावादी नै हो। मैले १५ वर्षदेखि विनासर्त राजसंस्थाप्रति आस्थावान हुनका निम्ति प्रशिक्षण गरेका कार्यकर्ताहरुलाई ‘राजाको यस्तो चाहना छ’ भनेर दिग्भ्रमित पार्नु कुनै कठिन कामै होइन।​

राप्रपा र तपाईंविरुद्ध षडयन्त्र गरिँदा निर्मल निवाससँग भित्रभित्र कुरा त हुन्थ्यो होला नि?
निश्चय पनि हुन्थ्यो। पार्टी विभाजन भइसकेपछि पनि मैले राजासँग पटक–पटक भेटेको छु। मैले स्वयं राजा ज्ञानेन्द्रलाई निवेदन गरेको छु, ‘सरकार, यो पार्टी फुटाइदिबक्स्यो, के फाइदा भयो? मैले शून्यबाट ४, ४ बाट २५, २५ बाट ३७ सांसद (राप्रपा एकीकरणपछि) बनाएँ। १० वर्ष गणतन्त्रमा लागेका लोकेन्द्रबहादुर चन्द, पशुपति शमशेर र प्रकाशचन्द्र लोहनीहरुलाई समेटेर पार्टी एकीकरण समेत गरेँ। संविधान सभामा धेरै ठूलो संघर्ष गरेर हामीले गणतन्त्र, संघीयता र धर्मनिरपेक्षता अपरिवर्तनीय नहुने अधिकार सुरक्षित गर्यौँ। अब संवैधानिक बाटोबाटै राजसंस्था पुनर्स्थापना गर्ने सम्भावनाको ढोका खुलेको छ। यो अवस्थामा पार्टीलाई बलियो बनाउनु पर्छ। जनताको अभिमत लिनुपर्छ, राजनीतिक दलहरुसँग सहकार्य गर्नुपर्छ भन्ने बाटोबाट हिँडिरहेको बेलामा पार्टी फुटाइदिएर सरकारलाई के फाइदा भयो?’

‘किन पार्टी फुटाइदिइबक्स्यो?’ भन्ने प्रश्नमा पूर्वराजाको जवाफ के हुन्थ्यो? 
हाँसेर टारिबक्सन्थ्यो।  

निर्मल निवासले राप्रपा फुटाइदिएको विषयमा पूर्वराजाबाट कहिल्यै कुनै जवाफ पाउनु भएन त?
अलि–अलि केही कुराहरु भए। राजासँग भएका गोप्य कुराहरु अहिले नै सार्वजनिक गरिहाल्नु मेरो जिम्मेवारी वा मर्यादा विपरीत हुन्छ भन्ने मलाई लाग्छ। खाली प्रसङ्गवस मात्र मैले यो कुरा तपाईंलाई भनेको हुँ। 

राजतन्त्रको नारा दिएर संविधान सभा र संसदमा राप्रपाका सांसदहरुको संख्या ४ (२०६४) बाट ३७ (२०७३–०७४) सम्म पुग्यो होला। यसबाट तपाईंलाई ठूलै फाइदा भयो, पटक–पटक उपप्रधानमन्त्री हुनुभयो। तर, निर्मल निवासलाई चाहिँ के फाइदा भयो? 
हो, यही कुरा मैले ठिक ढंगबाट राजालाई बुझाउन सकिनँ। त्यसैले, एक पटक सरकार (पूर्वराजा ज्ञानेन्द्र शाह) बाट हुकुम भयो, ‘कमल, मलाई केही मान्छेहरु आएर भन्छन्– राजसंस्थाको एजेन्डा बोकेको कारणले गर्दा तिमीलाई फाइदा भयो। राजसंस्थालाई चाहिँ के फाइदा भयो त भनेर मलाई सुनाउँछन्।’

मैले भनेँ, ‘सरकार, यसलाई अन्यथा नलिइबक्स्योस्। तीतो नलिइबक्स्योस्, राप्रपा बलियो नभइकन, कमल थापा बलियो नभइकन राजसंस्था आउँदैन। त्यसैले, म बलियो भएकोमा वा राप्रपा बलियो भएकोमा ईर्ष्या र जलन होइन, त्यसलाई थप मलजल गरेर अझ बलियो बनाउनेतिर जानुपर्छ।’ 

मैले पटक–पटक सोधेको छु, ‘राजसंस्था पुनर्स्थापनाको सन्दर्भमा सरकार (पूर्वराजा शाह) को अर्काे के रोडम्याप छ? सरकारको कुनै रोडम्याप छ भने त्यो रोडम्यापलाई सहयोग गर्न म तयार छु। तर म सरकारको कुनै योजना देख्दिनँ। मेरो योजना त प्रष्ट छ– राप्रपालाई संसदमा बलियो शक्तिका रुपमा स्थापित गर्ने र सडकमा–काठमाडौँमा निरन्तर पचास हजारभन्दा बढी जनता आन्दोलनमा उतार्ने। त्यति गर्न सक्यौँ भने, मलाई लाग्छ– राजसंस्था पुनर्स्थापना गर्न दुई तिहाई बहुमत कुरेर बस्नुपर्दैन। राजनीतिक दलहरुसँगको सहमतिको आधारमा सडकबाटै राजसंस्था पुनर्स्थापना गर्न सकिन्छ। मेरो यो योजना यो हो।’​

सडक र सदनबाट संघर्ष गरेर राजसंस्था पुनस्र्थापन गर्ने योजनाप्रति निर्मल निवासको असहमति हो त? 
मेरो कुराकानी हुँदा राजासँग जहिले पनि सौहार्द्रपूर्ण ढंगले नै भएको छ। राप्रपाको एकता महाधिवेशन (१५–१७ मंसिर) अगाडि पनि ११ कात्तिकमा निर्मल निवासमा राजासँग मेरो झण्डै दुई घण्टा सौहार्द्रपूर्ण रुपमा कुराकानी भयो। त्यहाँ अत्यन्तै भावनात्मक विषयहरुदेखि राजनीतिक विषयहरु, पार्टीको बारेमा पनि विचार आदानप्रदान भए। 

तर, त्यो भेट भएको तीन हप्ता बित्दा–नबित्दै निर्मल निवासबाट नाङ्गो ढंगले पार्टीको आन्तरिक मामिलामा हस्तक्षेप गर्ने काम भयो। 

यसको दुइटा पाटा छन्। एउटा पाटो– हिजो सिङ्गो देश गणतन्त्रमय भएको बेलामा राजसंस्थाको एजेन्डा बोकेको कमल थापा त निर्मल निवासबाट सुरक्षित छैन भने भोलिको दिनमा कुन चाहिँ नेता र कार्यकर्ता सुरक्षित हुन्छ? 

यो त मेरो व्यक्तिगत कुरा भयो। योभन्दा पनि चिन्ताको विषय के हो भने, अब मैले के भनेर राजसंस्थाको पक्षमा भोट माग्ने? 

हिजो म जनतामाझ जाँदा मलाई पत्रकारहरुले प्रश्न गर्थे, बुद्धिजीवीहरुले प्रश्न गर्थे– ‘राजसंस्था पुनर्स्थापना भयो भने राजा फेरि सक्रिय हुन्छन्, राजाबाट प्रजातन्त्र मास्ने काम फेरि पनि हुन्छ। विगतमा यस्तो पटक–पटक भएको छ।’

यस्तो प्रश्न उठ्दा मैले भन्ने गर्थें, ‘अबको राजसंस्था २०६२–०६३ अगाडिको जस्तो हुँदैन। अबको राजसंस्था माओवादीलाई पनि चित्त बुझ्ने सहमति र सम्झौताको राजसंस्था हुनेछ। राजनीतिभन्दा माथि उठेको, अविभावकीय भूमिकामा रहने एउटा आदर्श संस्था हुनेछ।’ 

यसो भनेर मैले राजसंस्थाको वकालत गर्दै आएँ। तर राप्रपा जस्तो शतप्रतिशत राजावादीहरु भएको पार्टीमा नै निर्मल निवासको हस्तक्षेप हुन्छ भने भोलि राजसंस्था पुनर्स्थापना भयो भने ‘राजनीतिक रुपमा राजा सक्रिय हुँदैनन्, प्रजातन्त्र मास्ने काम गर्दैनन्?’ भनेर कसैले प्रश्न गर्दा मैले के जवाफ दिने? यो मेरो सबैभन्दा ठूलो पीडा हो। 

पन्ध्र वर्षसम्म मैले जुन तर्क गरेर हिँडेँ, जुन आवाज उठाउँदै हिँडेँ, यो तर्क र मेरो आवाजको सार्थकता समाप्त भएको छ। यो कारणले मलाई निकै पीडा भएको छ। 

राजतन्त्रबाट सदैव प्रजातन्त्रलाई खतरा छ भनेर २०६२–०६३ पछि गणतन्त्र स्थापना भएको हो। कुन स्वार्थका कारणले तपाईंले राजतन्त्रको यो चरित्र अहिलेसम्म बुझ्न सक्नु भएन?   
हामीले राजसंस्थाको एजेन्डा बोकेको व्यक्तिगत कारणले होइन। हो, राजाको स्नेह सद्भाव भने राप्रपामाथि रह्यो होला। तर, यो कुरा स्पष्ट हुन जरुरी छ, राप्रपा राजाले खोलेको पार्टी होइन।  

२०४७ मा अलपत्र परेका पञ्चहरुलाई संगठित गरेर सूर्यबहादुर थापा र लोकेन्द्रबहादुर चन्दजीले राप्रपा स्थापना गर्नुभयो। त्यो पार्टी २०६३ पछि ‘गणतन्त्रवादी’ भयो, राजतन्त्र पनि अलपत्र पर्यो। राजावादी कार्यकर्ताहरु अलपत्र परेका बेलामा मैले सानै संख्यामा भए पनि कार्यकर्ताहरुलाई संगठित गरेर ‘राप्रपा नेपाल’ लाई शक्तिको रुपमा परिणत गर्ने प्रयास गरेँ।

त्यसैले, यो राजाले खोल भनेर खोलेको पार्टी होइन। पार्टी स्थापना गरिएको राजतन्त्रप्रतिको हाम्रो निष्ठाका कारणले हो। आजको दिनसम्म म यो निष्ठाबाट विचलित भएको छैन। 

नेपालको भूराजनीतिक अवस्था, धार्मिक–सांस्कृतिक–सामाजिक परिवेशमा देशमा राजनीतिभन्दा माथि उठेको संस्था आवश्यक पर्छ भन्ने मेरो दृढ विश्वास छ र त्यो संस्था राजसंस्था हुनसक्छ भन्ने मेरो मान्यता हिजो थियो, आज छ र भोलि पनि रहन्छ। 

तर, अहिले निर्मल निवासप्रति जुन प्रश्न उठिरहेको छ, ती प्रश्नहरुको निराकरण हुन सकेन भने म सक्रिय राजतन्त्रको पक्षमा हुन सक्दिनँ। म निरंकुश राजतन्त्रको पक्षमा उभिन सक्दिनँ। त्यो अवस्थामा राजसंस्थाको एजेन्डा मेरो निम्ति केवल सैद्धान्तिक र प्राज्ञिक विषय मात्र हुनेछ। 

एउटा अलि काल्पनिक प्रश्न, नेपालमा शाहवंशको उदय हुनुअघि मल्लवंशीय, सेनवंशीय राजतन्त्र थिए। तिनका वंशज अहिले पनि छँदैछन्। राजतन्त्र नै स्थापना गर्ने हो भने, गद्दीमा बसेर सक्रिय राजनीति गर्न खोज्ने र पटक–पटक प्रजातन्त्र हरण गर्ने शाहहरुभन्दा मल्ल वा सेन वंशीय राजतन्त्र स्थापना गर्दा कसो होला? 
त्यो हुन सक्दैन। एकीकरण हुनुअघि नेपालमा साना–साना बाइसे–चौबीसे र उपत्यकामा विभाजित राज्यहरु थिए। ती साना राज्यहरुलाई एकीकरण गर्ने काम शाहवंशीय राजा पृथ्वीनारायण शाहबाट भयो। नेपालको शाहवंशीय राजसंस्थाको ऐतिहासिक–वैधानिक उत्तराधिकारी पृथ्वीनारायण शाहका वंशज नै हुन्छन्। त्यसैले, शाहवंशभन्दा बाहिरबाट राजसंस्थाको सार्थकता खोज्ने कामको कुनै सार्थकता पनि छैन, तर्कपनि छैन।​

तपाईं आफैँ निर्मल निवास र पूर्वराजा ज्ञानेन्द्र शाहको भूमिकाप्रति प्रश्न गर्नुहुन्छ। फेरि शाहहरुको  वंशजको कुरा पनि गर्दै हुनुहुन्छ। यो त विरोधाभाषपूर्ण भएन र? 
मलाई एउटा पीडा के कुरामा हुन्छ भने, यो पन्ध्र वर्ष (गणतन्त्र स्थापनापछि) को अभ्यास र अनुभवबाट पनि निर्मल निवासले अझै पाठ नसिकेको हो कि? 

म आफ्नै पनि कमजोरी देख्छु– मैले राजा ज्ञानेन्द्र र निर्मल निवासलाई यो कुरामा ‘कन्भिन्स’ गराउन सकिनँ कि, ‘अहिलेको जमानामा सक्रिय राजतन्त्रको सम्भावना छैन। राजाले ‘सेरमोनियल’ रुपमा संविधान अन्तर्गत संसदकोे नियन्त्रणमा रहन तयार हुनुपर्छ र तयार छु भन्ने सन्देश सम्पूर्ण देशवासीलाई दिनुपर्छ। यस्तो सन्देश नदिँदासम्म आशंका जहिले पनि रहिरहन्छ।’

तपाईंले एक महिनादेखि निर्मल निवाससँग सार्वजनिक रुपमा प्रश्न गरिरहनु भएको छ। तपाईंले गरको प्रश्नको जवाफ दिन निर्मल निवासबाट बोलाहट भएको छैन?
छैन। फेरि मैले यो प्रश्नको जवाफ राजा वा निर्मल निवासबाट खोजेको पनि होइन। यो प्रश्नको जवाफ राप्रपाले दिनुपर्छ। पार्टीको वर्तमान नेतृत्वले दिनुपर्छ। 

मैले अघि नै भनेँ, राजसंस्थाप्रतिको हाम्रो आस्था र निष्ठा सैद्धान्तिक हो। पार्टीलाई यो एजेन्डामा निरन्तर अघि बढाउने हो भने राप्रपाको वर्तमान नेतृत्वले आम जनता र  निर्मल निवासले पनि बुझ्ने भाषामा गएको महाधिवेशनमा निर्मल निवासले गरेको हस्तक्षेपको भर्त्सना गर्नुपर्दछ र ‘भविष्यमा निर्मल निवासलगायत अन्य कुनै पनि शक्तिहरुको हस्तक्षेप राप्रपा अस्वीकार गर्दछ र निर्मल निवासले पनि पार्टीको ‘माइक्रोम्यानेजमेन्ट’ मा आफ्नो सक्रियता नरहोस्’ भनेर राजालाई पनि भन्न सक्नुपर्छ। राप्रपाले भोलि पनि राजसंस्थाको एजेन्डालाई लिएर हिँड्ने हो भने यति काम गर्नैपर्छ।

यदि कमल थापाले भोलिको दिनमा पनि राजसंस्थाको एजेन्डा बोकोस् भन्ने चाहने हो भने राप्रपाको वर्तमान नेतृत्वले स्पष्ट बुझिने भाषामा निर्मल निवासको हस्तक्षेपको भर्त्सना गर्नुपर्दछ र ‘हामी सक्रिय राजसंस्थाको पक्षमा छैनौँ’ भन्ने कुरा आम जनतालाई बुझाउनुपर्छ। होइन भने, राप्रपा पनि निर्मल निवासले खोलेका अन्य सानातिना भजनमण्डली जस्तै एउटा अर्काे भजनमण्डली हुनेछ। 

महाधिवेशनपछिको पहिलो बैठक (२२ मंसिर) मा अध्यक्ष राजेन्द्र लिङ्देनजीले भन्नु भएको रहेछ, ‘राजसंस्था र राजा ज्ञानेन्द्रको छवि धुमिल हुने गरी राप्रपा बैठकमा छलफल हुँदैन।’ यस्तो स्थितिमा तपाईंका माग पुरा होलान् त? 
वास्तवमा उहाँले समस्याको सन्दर्भ र गहिराई नै बुझ्नु भएन। यो राजाको विरोध वा राजसंस्थाको औचित्यमाथि प्रश्नचिन्ह उठाएको होइन, बरु निर्मल निवास वा पूर्वराजाको अमर्यादित र अवान्छित हस्तक्षेपको विरोध हो। यसो गर्दा राजसंस्था बलियो हुन्छ, राजसंस्थाको एजेन्डाप्रति जनताको आस्था र विश्वास बलियो हुन्छ।​

राप्रपाले ल्याउने राजसंस्था निरंकुश हुँदैन, राजनीतिक रुपमा सक्रिय पनि हुँदैन, प्रजातन्त्र मास्दैन भन्ने कुरा जनतालाई विश्वास दिलाउन सकियो र त्यो विश्वास स्थापित भयो भने राजालाई नै फाइदा हुने हो नि? 

अहिले राजाको विरोध गर्न पनि पाइन्छ। ‘राजाको विरोध गर्नै पाइँदैन’ भन्ने मानसिकता निरंकुश  र अप्रजातान्त्रिक हो, असंवैधानिक पनि हो। पञ्चायत त होइन नि यो, जहाँ राजाको विरोध गर्नेबित्तिकै पञ्चहरु कालोसूचीमा पर्थे।

बहुदलीय व्यवस्था आएर मुलुक गणतन्त्रात्मक व्यवस्थामा गएको पन्ध्र वर्ष बित्न लाग्दा पनि हामी निर्मल निवास, पूर्वराजा वा पूर्वराजाको सचिवालयबाट भएका कमीकमजोरी र गल्ती सच्याउन पनि हीनताबोध गर्छाैं, डराउछौँ भने राप्रपा एउटा स्वाभिमानी राष्ट्रवादी कार्यकर्ताहरुको पार्टी हुन सक्दैन। 

यहाँले अघि भन्नुभयो, ‘राप्रपालाई राजाको स्नेह–सद्भाव थियो।’ स्नेह–सद्भाव पाइरहेको पार्टीले निर्मल निवासबाट अविभावकत्व नै पाउँदैछ भने त्यसलाई किन अन्यथा ठान्दै हुनुुहुन्छ?
त्यो हो भने त प्रसङ्ग नै अर्काे हो। तर, यदि राजा वा निर्मल निवासले ‘म एउटा पार्टी सञ्चालन गर्छु, राप्रपा मेरो पार्टी हो’ भनेर स्वीकार गर्ने हो भने त्यो अवस्थामा निर्मल निवासले राजतन्त्र पुनर्स्थापनाको कुरा छाड्नुपर्छ र राजनीतिमा सक्रिय हुनुपर्छ। त्यो कुरामा त आपत्ति नै भएन नि?

त्यो अवस्थामा तपाईं राप्रपामा रहनुहुन्छ कि हुन्न?
राजा ज्ञानेन्द्रले नेतृत्व गर्ने पार्टी यदि भोलि नै स्थापना हुने हो भने भोलिपल्टै त्यसको पहिलो साधारण सदस्य मै बन्नेछु।  

तर, राजाले पार्टी स्थापना गर्ने काम गलत हो। किनभने हामीले राजालाई पार्टीको अध्यक्ष बनाउन खोजेका होइनौँ। हामीले नेपालमा राजसंस्थाको पुनर्स्थापना गर्न खोजेका हौँ। हामी यस्तो राजसंस्था पुनर्स्थापना गर्न चाहन्छौँ, जो राजनीतिभन्दा माथि उठेको होस्। 

यदि अहिले राजसंस्थाको पुनर्स्थापना हुने भयो भने हामीले पुनर्स्थापना गर्ने राजा ज्ञानेन्द्रलाई नै हो। त्यही कारणले त मलाई पीडा हुन्छ नि! अरु कुनै अमूर्त व्यक्ति भोलि राजा हुने हो भने मैले पीडा व्यक्त गर्नै पर्दैनथ्यो। 

मैले परिकल्पना गरेअनुसार राजतन्त्र पुनर्स्थापना हुने हो भने राजा ज्ञानेन्द्र नै राजा हुने हुन्। तर, राजा ज्ञानेन्द्रले ‘म राजनीति भन्दा माथि उठ्न तयार छु, संविधान अन्तर्गत रहन तयार छु, राजनीतिक दलहरुसँग सहकार्य र विश्वास गरेर अगाडि बढ्न तयार छु’ भन्ने विश्वास दिलाउनु पर्दछ। 

राप्रपाजस्तो सय प्रतिशत राजसंस्थावादी भएको पार्टीमा चलखेल गर्नेजस्तो ‘फुच्चे खेल’ मा लागेर निर्मल निवासलाई पनि फाइदा हुँदैन, राजसंस्थालाई पनि फाइदा हुँदैन। 

११ कात्तिकमा निर्मल निवासमा भएको कुराकानीको सन्दर्भ उप्काउनु भयो। चाँदीको थालमा लञ्च खाँदै त्यस दिन तपाईं र पूर्वराजाबीच के कुराकानी भएको थियो?   
राजासँग भएका कुराकानीका बारेमा म धेरै टीकाटिप्पणी गर्न चाहन्नँ। जुन प्रसङ्ग आयो, त्यो प्रसङ्गको बारेमा मात्रै केन्द्रित हुन चाहन्छु। अरु विषयमा मैले बोल्नु त्यति उपयुक्त हुँदैन।

केही मानिसहरु भन्छन्– तपाईं र निर्मल निवासबीच देखिएको मतभिन्नता संविधान निर्माणताका राजतन्त्र पुनर्स्थापनाका लागि तपाईंले अडान नलिएपछि सुरु भयो। कतिपयको भनाइ भने तपाईं उपप्रधानमन्त्री हुँदा पूर्वराजाको स्वामित्वमा रहेको झापाको हिमालय चिया टी स्टेट (चिया बगान) अन्तर्गतको जमिन बिक्रीका लागि तपाईंले सहयोग नगरेपछि तिक्तता सुरु भएको हो भन्ने छ। यी दुईमध्ये वास्तविक कारण कुन हो? 
राजाबाट मलाई कुनै पनि त्यस्तो काम (जग्गाजमिन बिक्रीका लागि सहयोगको अपेक्षा) को निमित्त अनुरोध– आग्रह गरिएको छैन। अरु केही व्यक्तिहरुबाट त्यस्ता केही कुराहरु आएका थिए। तर, त्यसमा राजाको कुनै चाहना, आग्रह मैले पाएको छैन। 

पूर्वराजाको त्यो सम्पत्ति बिक्रीका लागि सरकारी तवरबाट सहयोग गरिदिएको भए राम्रै हुन्थ्यो होला नि? 
त्यो त सम्भवै थिएन। ‘टी स्टेट’ लाई प्लटिङ गरेर बेच्न सक्ने अधिकार क्याबिनेटलाई समेत हुँदैन। यसो गर्न कानुनले रोकेको छ।   

पृथ्वीजयन्ती (२७ पुस) को दिन पारेर तपाईंले नयाँ अभियान सुरु गर्ने भन्नुभएको थियो। तर, स्थगित गर्नुभयो। खासमा त्यो अभियान के प्रयोजनका लागि हो?  
हो, त्यो कार्यक्रम स्थगित भएको छ। स्थगित हुनुको एउटा कारण कोभिडको महामारी हो। दोस्रो कारण हो– पार्टीका केही जिम्मेवार पदाधिकारी साथीहरुले ‘तपाईंले उठाउनुभएका विषयका बारेमा ‘रेस्पोन्स’ गर्न नेतृत्वलाई अलिकति समय दिनु उपयुक्त हुन्छ’ भन्नु भयो। त्यसपछि अहिलेका लागि त्यो समुद्घाटन समारोह स्थगित गरेका छौँ। त्यो अभियान उपयुक्त समयमा हामी सञ्चालन गर्छौं। 

त्यो अभियानको मुख्य दुइटा उद्देश्य छन्। पहिलो– पार्टीलाई सैद्धान्तिक विचलनबाट रोक्न हामीले उठाएका मुद्दाहरुका बारेमा सकरात्मक निर्णय लिन दबाब दिने। दोस्रो– अहिले देशमा जुन संकट छ, त्यो संकट समाधानका निम्ति नेपाली जनताबीच एकताको आवश्यकता छ, त्यो एकताको भावना अभिवृद्धि गर्न जनतालाई जागृत गर्ने। 

गणतन्त्र स्थापनापछि तपाईंको पहिचान र उदय ‘राजावादी नेता’ को रुपमा भयो। अहिले तिनै पूर्वराजासँग टक्कर लिन खोज्दा आफ्नो राजनीति सकिन्छ जस्तो लाग्दैन?
निर्मल निवासबाट मेरो राजनीतिक जीवन समाप्त पार्न जुन किसिमको प्रयास भयो, त्यसले मलाईभन्दा बढी घाटा निर्मल निवासलाई नै भएको छ। अहिलेको अवस्थामा कमल थापालाई निर्मल निवास चाहिएको होइन, निर्मल निवासलाई कमल थापा जस्ता व्यक्तिहरुको आवश्यकता हो। राजा पुनस्र्थापित हुँदैमा म प्रधानमन्त्री हुने होइन नि? हामीले सेरमोनियल राजा बनाउन खोजेका छौँ। त्यस्तोमा राजाले मलाई (प्रधानमन्त्री) दिने अवस्था हुँदैन। राजाले मलाई व्यक्तिगत रुपमा दिनसक्ने कुनै पुरस्कार छैन। हामीले त देशको बृहत्तर हितका निम्ति राजतन्त्र आवश्यक छ भनेर यो मान्यता बोकेर हिँडेका हौैं।  

जहाँसम्म राजनीतिक जीवन सफल–असफल वा चुनौतीपूर्ण हुने–नहुने भन्ने कुरा छ, त्यो अलिकति नियतिमा पनि भर पर्छ। अलिकति आफ्नो इमान्दारिता र मेहनतमा भर पर्छ। 

कतिपयले मलाई अवसरवादी पनि भन्ठान्छन्। तर, मलाई गौरवको अनुभवपनि हुन्छ कि– २०४७ को परिवर्तन हुँदा सबैभन्दा बढी ‘टार्गेट’ मा परेको व्यक्तिमध्ये म पनि थिएँ। तर, बहुदलीय व्यवस्था स्थापना भएपछि पञ्चहरुमध्ये सबैभन्दा पहिलो झण्डा हाल्ने (मन्त्री बन्ने) म नै भएँ। 

२०६२–०६३ मा राजाको शासनकालमा म गृहमन्त्री थिएँ। त्यसैआधारमा राजनीतिक परिवर्तन भएपछि ममाथि तीव्र आक्रमण भयो। ‘राजाको एजेन्डा बोक्यो’ भनेर मेरो घरमा मरेको कुकुर फालियो। २०६३ भदौमा मेरो घर (विशालनगर) मा बम प्रहार गरियो। तैपनि म निरन्तर आफ्नो निष्ठामा अडिग रहेँ। 

यो (२०६२–०६३ को) परिवर्तनपछि राप्रपा र हिजोका पूर्वपञ्चहरुमध्ये सबैभन्दा ठूलो पदमा पुग्ने व्यक्ति पनि म नै भएँ। यो मेरो अवसरवादिताभन्दा पनि सिद्धान्तप्रतिको निष्ठा, जनताको सर्वाेच्चता र प्रजातन्त्रप्रतिको अविचलित निष्ठाका कारण सम्भव भएको हो। मैले जति पनि अवसर पाएँ– चाहे बहुदलीय व्यवस्था पुनर्स्थापनापछि पहिलो मन्त्री होस् वा पछिल्लो परिवर्तनपछि उपप्रधानमन्त्री बन्ने अवसर– यो मलाई कसैले टीका लगाएर दिएको अवसर होइन। जनताबाट निर्वाचित भएरै म आएको हुँ। 

राजतन्त्र पुनर्स्थापनाको एजेन्डा उठाएर भोट पाएको व्यक्ति गणतान्त्रिक संविधान जारी हुनासाथ उपप्रधानमन्त्री बनेपछि निर्मल निवासले तपाईंको निष्ठामाथि प्रश्न उठाउँदा त्यसलाई कसरी अन्यथा भन्ने?   
यही कुरा मैले अझ ठीक ढंगबाट बुझाउन सकिरहेको छैन। भारतमा हिन्दु राज्यको एजेन्डा बोक्ने, कस्मिरमा भारतीय संविधानको धारा ३७० खारेज हुनुपर्छ भनेर पचास वर्षअघि आवाज उठाउने भारतीय जनता पार्टीले कहिले कम्युनिस्टसँग, कहिले कस्मिरको स्वायत्त शासनको पक्षधर पार्टीसँग सहकार्य गरेर सरकारमा जाने, आफूलाई बलियो बनाउने र आफू बलियो बनेर आएपछि आफ्ना मान्यताहरु स्थापित गर्ने काम गर्दा सबैतिर प्रशंसा हुन्छ। म व्यक्तिगत रुपमा उपप्रधानमन्त्री बन्न होइन, राप्रपा र राप्रपाको एजेन्डा बनाउन मात्र सरकारमा गएको हुँ। मैले सरकारमा गएर एक दिन पनि हिन्दु राष्ट्र र राजतन्त्रको एजेन्डा छोडेको छैन। 

यसको मतलब, तपाईंले सरकारमा जान ‘व्यवहारवादी राजनीति’ गर्न खोज्नुभयो, यो कुरा नबुझेर निर्मल निवासले अव्यवहारिक ‘सिद्धान्तवादी राजनीति’ को मात्र अपेक्षा गर्यो। होइन त?  
त्यसोभए राजसंस्था स्थापना गर्ने अर्को बाटो के? हिन्दु राष्ट्र स्थापना गर्ने अर्काे बाटो के? सडकमा अस्थिरता सिर्जना गरेर हिन्दुराष्ट्र र राजसंस्था पुनर्स्थापना हुन सक्छ? विदेशीले वा नेपाली सेनाले चाहेर राजसंस्था स्थापना हुन सक्छ? 

जबसम्म यहाँका राजनीतिक दलहरु, नागरिक समाज, बुद्धिजीवी वर्ग र आम जनतामा राजालाई पनि स्पेश दिनुपर्छ भन्ने सोचाइको विकास हुँदैन, मलाई लाग्छ– तबसम्म राजसंस्था वा हिन्दुराष्ट्र पुनर्स्थापनाको एजेन्डा पनि सफल हुँदैन। 

यो कुरा भन्न पाउँदा मलाई खुसी वा गौरवको अनुभूति हुन्छ कि मैले पार्टीका सांसद शून्यबाट ३७ पुर्याएको संख्याको हिसाबले मात्र महत्वपूर्ण छैन, हामी त राजावादी पार्टीको महाधिवेशनमा प्रधानमन्त्रीदेखि गणतन्त्रवादी प्रचण्डलाई समेत उपस्थित गराउन सफल भयौँ। के आधारमा सफल भयौँ, भन्नोस् त? 

हिजो राजाको एजेन्डा सुन्न नचाहने पार्टीहरुलाई एउटै मञ्चमा ल्याएर हाम्रो मञ्चमार्फत् हामीलाई शुभकामना दिनसक्ने जुन हैसियत हामीले हासिल गरेका थियौँ, त्यो राजसंस्थाको पक्षमा हामीले सिर्जना गरेको माहौल होइन? आज राजसंस्थाको पक्षमा जुन माहौल बनेको छ, त्यसमा हाम्रो मेहनत छ भन्ने कुरा कसैले बुझेको छ?

जहाँसम्म सरकारमा गएको कुरा छ, जनताले विकास खोज्छ, जनतालाई रोजगारी चाहिन्छ। जनताका आवश्यकता पुरा गर्नुपर्छ। तब न पार्टी बलियो हुन्छ। सरकारमा नगइकन हिन्दुराष्ट्र र राजसंस्थाको भजनमात्र गाएर भोट आउँछ? 

तपाईं अर्काे कुनै पार्टीमा प्रवेश गर्ने हल्ला पनि चलेको छ। वास्तविकता के हो? 
त्यो सम्भावना छैन। मेरो जुन हैसियत छ, जुन राजनीतिक विरासत छ, त्यसले अन्य कुनै पार्टीमा प्रवेश गर्ने अनुमति मलाई दिँदैन।

हो, मैले उठाएका मुद्दाहरुको निराकरण भएन भने राप्रपामा बसिरहने मेरो औचित्य समाप्त हुन्छ। म भूमिकाविहीन भएर, अपहेलित भएर सिद्धान्तच्यूत भएर राप्रपामा बसिरहन सक्दिनँ। त्यो अवस्थामा भोलि के गर्ने, त्यो भोलिकै कुरा हो। 

केपी शर्मा औलीसँग सम्पर्क भएको छैन? 
छ। उहाँसँग भेट पनि भएको छ। कुराकानी पनि भएको छ। उहाँसँग मात्र होइन, अरु नेताहरुसँग पनि कुराकानी भएको छ। यो (पराजयको) घटनापछि प्रचण्डजी, माधव नेपाल, रामचन्द्र पौडेल, बाबुराम भट्टराईलगायत देशका वरिष्ठ नेताहरुले फोन गरेर आश्चर्य प्रकट गर्नुभएको छ। 

ओलीजी अहिले ‘एमाले प्रवेश अभियान’ चलाउँदै हुनुहुन्छ। तपाईंको अहिलेको अवस्था हेरेर एमालेमा आउन ‘अफर’ पनि गर्नुभयो कि?  
छैन, छैन। ओलीजीले मेरो त्यति अवमूल्यन गर्नुहुन्छ जस्तो लाग्दैन। उहाँले कमल थापालाई पार्टी (एमाले) मा आउनुस् भन्ने अवस्था छ जस्तो लाग्दैन। 

अन्त्यमा, नेपाल एकीकरणताकाका एक योद्धा (रणजोरसिंह थापा वा जसपाउ थापा) ले भनेका रहेछन्, ‘सक्छौ– जागिर नखाऊ, सक्दैनौ– जागिर खाऊ। झण्डामुनि बस, तर दरबार नपस।’ अहिले तपाईंले भोग्नु परेको नियति पनि हेर्दा दरबारलाई विश्वास गरिहाल्नु हुन्न भन्ने पुर्खाहरुको भनाइ ठीकै रहेछ। होइन त?  
हाम्रा पुर्खाहरु पटक–पटक दरबारको षडयन्त्रमा परेका छन्। मेरो मावलीपट्टिका जिजुबराजु भीमसेन थापा दरबारकै षडयन्त्रका कारण सेरिएर मर्नुपर्यो। भीमसेन थापाका भतिजा मेरो जिजुबराजु माथवरसिंह थापालाई पनि दरबारकै षडयन्त्रमा हत्या गरेर मारियो। यस्ता घटना इतिहासमा थुप्रै छन्। 

तर, यति हुँदाहुँदै पनि मुलुकप्रतिको निष्ठा र वफादारिताका कारण निरन्तर रुपमा, म, मेरो परिवार र मेरो पुर्खा राजसंस्थाप्रति आस्थावान रहे। पृथ्वीनारायण शाहभन्दा अगाडि नरभूपाल शाहको पालामा नरभूपाल शाहको नायवी भएर मेरा जिजुबराजु प्रभुराम थापाले काम गरेका थिए। त्यसपछि अविच्छिन्न रुपमा आजको मितिसम्म हामी राजसंस्थाप्रति आस्था राख्दै आएका छौँ। त्यसैले, मेरो रगतमा राजसंस्थाप्रति आस्था छ। 

म जन्मेको मेरो घरको कोठामा राजा महेन्द्रको ‘अटोग्राफ’ भएको तस्वीर झुण्डिएको हुन्थ्यो। त्यो फोटो मैले पछि ठूलो भएपछि देखेँ। मेरो बुबाले पटक–पटक ‘राजालाई संकट पर्दा साथ दिनुपर्छ’ भन्नुहुन्थ्यो। जब मेरो राजनीतिक चेतनाको विकास भयो, नेपालको भूराजनीतिक अवस्था, सामाजिक–सांस्कृतिक परिवेशलाई दृष्टिगत गर्दै नेपालमा राजसंस्थाको आवश्यकता छ भन्ने मान्यता बोकेर हिँड्न थालेँ। 

तर, यसरी मन, बचन र कर्मले रगतमै राजसंस्था बोकेर हिँडेको व्यक्तिलाई जुन ढंगबाट काखमा राखेर निर्मल निवासबाट छुरा प्रहार गर्ने काम भयो, यसबाट नै भलो हुन्छ भने निर्मल निवासलाई मेरो शुभकामना नै छ। जे गर्दा निर्मल निवासको भलो हुन्छ, त्यसप्रति म खुसी नै हुनेछु। 
 

पुस २७, २०७८, मंगलबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 4240505 / 4241389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
कार्यकारी निर्देशक
सुरेन्द्र रिजाल
निर्देशक, अटो संस्करण
सविन पोखरेल
लेखा तथा प्रशासन प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by.