अन्तर्वार्ता


चीन बाघ बनेको छ, अब उसलाई रोक्न सकिन्न : किशोर महबुबानी (अन्तर्वार्ता)

‘छिमेकीहरूले चीनसामु घुँडा टेक्नुपर्दैन तर उसको व्यवस्थापन गर्न सिक्नुपर्छ’
चीन बाघ बनेको छ, अब उसलाई रोक्न सकिन्न : किशोर महबुबानी (अन्तर्वार्ता)

मिसाल हुसेन
जेठ ३, २०८३ आइतबार १८:१९, काठमाडौँ

किशोर महबुबानीले दुई दशकदेखि तर्क गर्दै आएका छन्– चीनको उदय र अमेरिकी वर्चस्वमा उसको चुनौतीलाई पश्चिमले पूरै गलत तरिकाले बुझ्दछ। सिंगापुरका उच्च पदस्थ कूटनीतिज्ञ रहेका महबुबानी पछि प्राज्ञिक कर्ममा लागे र शासन तथा सार्वजनिक नीतिका विशेषज्ञता हासिल गरे। मिसाल हुसेनले ब्लुमबर्गका लागि उनीसँग कुराकानी गरेकी छन्। सो अन्तर्वार्ताको चीन–अमेरिका सम्बन्धी अंशको अनुवाद यहाँ प्रस्तुत गरिएको छ :

अमेरिका र चीनबीचको प्रतिस्पर्धा हाम्रो समयको सबैभन्दा महत्त्वपूर्ण प्रतिस्पर्धा हो?
यो सबैभन्दा महत्त्वपूर्ण प्रतिस्पर्धा हो। मानव इतिहासमा यसअघि कहिल्यै पनि यत्रो आकार, परिमाण र पहुँच भएका दुई शक्तिबीच टक्कर परेको थिएन, जस्तो टक्कर आज अमेरिका र चीनबीच छ।

सोभियत संघको पतनपछि अमेरिका एक्लो महाशक्ति रह्यो। चीन यति छिटो माथि आउने अपेक्षा कसैलाई थिएन। तर, शक्तिको दायराका हिसाबले चीनले अहिले झण्डै अमेरिकाकै बराबरी गरिसकेको छ। राष्ट्रपति ट्रम्पले कर युद्ध सुरु गर्दा एउटा मात्रै मुलुक अमेरिकाको विरोधमा उभियो। त्यो चीन थियो।

के यो प्रतिस्पर्धा अर्थतन्त्र पनि ठूलो हो? तपाईंले समग्र शक्तिको कुरा गर्नुभएको हो?

सबै महाशक्तिहरूबीच केही साझा बानी हुन्छन्। एक नम्बरको महाशक्तिले आफ्नो हैसियत सधैँ जोगाइराख्न चाहन्छ। तर, दुःखको कुरा, भूराजनीतिमा यो एउटाले जित्दा अर्कोले हार्ने खेल बन्न पुग्छ। आजको दिनमा वासिङ्टन राजनीतिक रूपमा नराम्ररी विभाजित छ। तर, जब चीनको कुरा आउँछ, सबै पक्ष उसको उदय रोक्नुपर्छ भन्नेमा लगभग सर्वसम्मत छन्। 

त्यसैले राष्ट्रपति बाइडेन हुन् कि ट्रम्प, चीनविरुद्धका कदम सधैँ उस्तै रहन्छन्। यो व्यक्तित्वको होइन, भूराजनीतिक तर्कको कुरा हो।

के तपाईं चीनको उदयलाई रोक्ने चाहनालाई मूर्खतापूर्ण भन्नुहुन्छ?
होइन। म यो बुद्धिमानीपूर्ण नीति होइन भन्छु। अब चीनलाई रोक्न सकिँदैन। त्यसको एक मात्र उपाय भनेको चीनको सरकारलाई आफ्ना जनताको जीवनस्तर सुधार नगर भन्नु हो। यही तरिकाले मात्र चीनको वृद्धि रोकिन्छ। तर, उसले अझै लामो बाटो तय गर्न बाँकी छ। चीनको प्रतिव्यक्ति आय अमेरिकाको भन्दा निकै कम छ। 

हामी अहिले एउटा सानो, अन्तर्निर्भर र कमजोर ग्रहमा बाँचिरहेका छौँ। हाम्रो सबैभन्दा ठूलो प्राथमिकता भनेको पृथ्वीलाई जोगाउने प्रयास गर्नु हो। अमेरिका र चीनले भूराजनीतिमा एक्लै जित्दा जे प्राप्त गर्छन्, त्यो भन्दा सहकार्यबाट उनीहरूले प्राप्त गर्ने कुरा ज्यादा महत्वपूर्ण छ।

१९९३ मा तपाईं सिंगापुरको कूटनीतिज्ञका रूपमा एपेक शिखर सम्मेलनमा सहभागी हुनुभएको थियो। त्यसबेला तपाईंले के देख्नुभयो र त्यो किन महत्त्वपूर्ण छ?
त्यो अमेरिकाका नयाँ राष्ट्रपति बिल क्लिन्टन र चीनका तत्कालीन नेता चियाङ चमिनबीचको पहिलो भेट थियो। १९९२ को चुनावमा क्लिन्टनले राष्ट्रपति बुसजसरी ‘बेइजिङका कसाइ’हरूसँग घुलमिल गर्दिनँ भनेका थिए। त्यसैले तनाव उच्च थियो। कतै क्लिन्टनले चियाङमाथि आक्रमण गर्ने हुन् कि भन्ने त्रास थियो।

चियाङ आफैँ अलि नर्भस थिए। उनले आफ्नो भाषण यति छिटो पढे कि ताइवानी प्रतिनिधिले उनलाई बिस्तारै पढ्नुस्, दोभासेले भ्याएनन् भनेर सम्झाउनुपर्‍यो। यस्तो अवस्थामा कफीका लागि छोटो ब्रेक हुँदा चियाङलाई भेट्न पुग्ने पहिलो व्यक्ति क्लिन्टन थिए। घोषणा गरेभन्दा उल्टो क्लिन्टन चियाङसँग घुलमिल गरिरहेको मैले आफ्नै आँखाले देखेँ। कोठामा भएका सबै जना राहत र खुसीका साथ त्यो दृश्य नियालिरहेका थिए। त्यो भेट पीडादायी र टकरावपूर्ण हुन सक्थ्यो तर त्यो अमेरिका–चीन सम्बन्धमा उल्लेखनीय ब्रेकथ्रु बन्न पुग्यो।

त्यो क्षणले आउँदा वर्षमा के फरक पार्‍यो?
मलाई लाग्छ, त्यसले तियानमेनपछि बिग्रेको अमेरिका–चीन सम्बन्धलाई पुनः सामान्यीकरण गर्न सम्भव बनायो।

अहिले जे भइरहेको छ, त्यो शीतयुद्ध जस्तै हो। अमेरिकाले सोभियत संघजस्तो व्यवहार गरिरहेको छ भनेर तपाईंले लेख्नुभएको छ। त्यतिबेला सोभियत संघले एकपक्षीय रूपमा काम गरेको र अन्तर्राष्ट्रिय रायलाई बेवास्ता गरेको थियो भने अमेरिकाले बहुपक्षीय रूपले काम गरेर विश्वव्यापी राय आफ्नो पक्षमा ल्यायो भन्नुभएको छ। यो एकदमै अप्रिय तुलना हो नि।
ठिक छ। त्यो तुलना अरु विद्वानहरूले पनि गरेका छन्। अमेरिका र सोभियत संघबीचको प्रतिस्पर्धामा अमेरिकी समाज फस्टाउँदै थियो, तर सोभियत समाज फस्टाइरहेको थिएन। आज अमेरिका र चीनको सवालमा अमेरिकी जनसंख्याको गरिब आधा हिस्साले आफ्नो जीवनस्तरमा कयौँ दशकदेखि कुनै सुधार देख्न सकेका छैनन्।

अमेरिकाका लागि बुद्धिमानी के हुन्छ भने पहिले उसले आफ्नो जनताको उत्थानमा ध्यान दिनुपर्छ। तर, म तपाईंलाई भन्न सक्छु– दुर्भाग्यवश भूराजनीतिमा ‘कमन सेन्स’ले काम गर्दैन। एक नम्बर बन्ने इच्छा मान्छेको मस्तिष्कमा यति गहिरो रूपमा गाडिएको छ कि नीति निर्माताहरूलाई एकछिन रोकिएर सोच्नुस् त भनेर मनाउन साह्रै मुस्किल छ। 

मेरो लेखनको उदेश्य चीनले जित्नुपर्छ वा अमेरिकाले जित्नुपर्छ भन्ने होइन। एउटाले जित्दा अर्कोले हार्ने प्रतिस्पर्धामा सहभागी हुनु उनीहरूको दीर्घकालीन र समग्र हितमा छ कि छैन भनेर उनीहरूले सोचून् भन्ने मेरो लक्ष्य हो।

पछिल्ला दशकमा चिनियाँहरूको जीवनस्तर अतुलनीय रूपमा बढेको छ। तर, अमेरिकीहरूको तुलनामा उनीहरू केही अधिकारबाट वञ्चित छन्। जस्तै, अभिव्यक्ति स्वतन्त्रता, आफ्नो नेता चुन्ने अधिकार। 
चीनले ८० करोड जनतालाई गरिबीबाट मुक्त गर्‍यो। यो अमेरिकाको जनसंख्याको झण्डै तीन गुणा बढी हो। यो अद्भुत उपलब्धि हो।

तर, तपाईंको कुरा सही हो। अमेरिकीहरूले उपभोग गर्ने धेरै अधिकार चिनियाँहरूले उपभोग गर्न पाउँदैनन्। चिनियाँ समाजको आफ्नै राजनीतिक डीएनए छ। र, ३ हजार वर्षदेखि उनीहरूले सिकेको पाठ के हो भने जब केन्द्रमा–राजधानीमा भद्रगोल हुन्छ, तब मान्छेहरूले दुःख पाउँछन्। र, जब केन्द्रमा राजनीतिक स्थिरता र नियन्त्रण हुन्छ, तब जनता समृद्ध हुन्छन्, फस्टाउँछन्।

मान्छेहरूले चिनियाँहरू स्वतन्त्र छैनन् भन्दा म एउटा सरल प्रश्न सोध्ने गर्छु। उसोभए किन वर्षैपिच्छे १३ करोडभन्दा बढी चिनियाँहरू अन्य देशमा जान्छन् र आफ्नै दुई खुट्टाले हिँडेर चीन फर्किन्छन्? अंग्रेजी मिडियामा चित्रण गरेजस्तो चीन अँध्यारो र कठोर कम्युनिस्ट श्रम शिविरजस्तै हो भने त ती फर्किने चिनियाँहरू मूर्ख भए नि। उनीहरू त फर्किनु हुन्थेन। तर, विदेशी जीवनको अनुभव लिएका चिनियाँहरू फर्किरहेका छन्।

सरल भाषामा भन्नुपर्दा चीन पश्चिमी सभ्यताभन्दा अलग सभ्यता हो। त्यसैले चिनियाँ जनताले बनाउन चाहेको समाज पश्चिमी समाजभन्दा अलग हुनेछ। नयाँ बहुसभ्यतामूलक समाजमा बाँच्न हामीले सिक्नुपर्छ।

तपाईंले भनेको कुरा बुझेँ। केही वर्षअघि सिन्जियाङमा चिनियाँ मुस्लिमहरूलाई पुनर्शिक्षा शिविरमा थुनिएको प्रमाण आएका थिए।
चीनको आन्तरिक व्यवस्था पश्चिमी समाजको जस्तो छैन। यसमा कुनै शंका छैन।

तर, जब पश्चिमले चीनमा मुस्लिमहरूको बारेमा चासो देखाउँछ, बाँकी विश्वले गर्ने एउटा टिप्पणी के हो भने सामान्यतया पश्चिम मुस्लिमहरूलाई मन पराउँदैन। पश्चिमले सामान्यतया चिनियाँहरूलाई पनि मन पराउँदैन। तर, कुनै अनौठो कारणले गर्दा उनीहरू चिनियाँ मुस्लिमलाई चाहिँ माया गर्छन्। यो चीनलाई लज्जित तुल्याउने राजनीतिक हतियार हो।

दुर्भाग्यवश त्यो राजनीतिक हतियारले अब काम गर्दैन। किनभने सारा संसारले भनिरहेको छ– तिमी पश्चिमाहरू उत्पीडित मुस्लिमहरूको अवस्थाप्रति यति चिन्तित छौ भने तिमीले गाजाको बारेमा के भन्यौ? गाजाको बारेमा के गर्‍यौ?

तपाईंले उदाउँदो चीनको चित्र कोर्नुभएको छ। चीनले कहिलेकाहीँ छिमेकीहरूलाई अस्थिर पनि बनाएको छ। उदाहरणका लागि दक्षिण कोरिया वरिपरिको हवाइ क्षेत्र बन्द गर्ने, फिलिपिन्स वा ताइवानलाई चिन्तित तुल्याउने। यस्तो एसियाली व्यवस्थामा सिंगापुरसहितका राज्यहरूको अवस्था कस्तो छ?
चीनको उदय उल्लेखनीय र नाटकीय रूपमा भएको छ, यो कुरा हामीले बुझ्नुपर्छ। कति नाटकीय छ यो उदय भन्ने व्यख्या गर्न म एउटा उदाहरण दिन्छु। तपाईं र मैले कुराकानी सुरु गर्दा मेरो छेउमा एउटा बिरालो बसिरहेको थियो। १५–२० मिनेटपछि पछाडि फर्केर हेर्दा मैले त्यो बिरालो अचानक बाघ भएको देखेँ। बिरालोको छेउमा बस्दा म निकै सहज थिएँ। बाघको छेउमा बस्दा निकै असहज महसुस गर्छु।

चीन बाघ बनेको छ। यो अब संसारको दोस्रो सबैभन्दा शक्तिशाली देश हो र अझै बलियो हुँदैछ, यो कुरा स्वीकार गर्नुपर्छ। छिमेकमा यति धेरै बलियो शक्तिसँग बस्न हामीले सिक्नुपर्छ। महाशक्ति दयालु हुनै सक्दैन। सबै महाशक्तिहरूले आफ्नो स्वार्थको रक्षा गर्नेछन्।

त्यसैले चीनका छिमेकीहरूले चिनियाँ शक्तिसँग समायोजन गर्नुपर्छ। यसको मतलब घुँडा टेक्नुस् भनेको होइन, तर तपाईंले यसको व्यवस्थापन गर्न सिक्नुपर्छ। निजी कुराकानीमा हामी चिनियाँहरूलाई हाम्रो चासो के हुन् भनेर प्रस्ट बताउँछौँ। र, उनीहरू सुन्छन्। तर, याद राख्नुस्, हामी एसियामा छौँ। एसियामा सधैँ तपाईंले कुरा गरिरहेको व्यक्तिको इज्जत गर्नुपर्छ। सार्वजनिक रूपमा चीनको बेइज्जती नगर्नुहोस्, जसरी युरोपेली र अमेरिकी नेताहरूले गर्ने गर्छन्। चीनसँग त्यसरी काम गर्न सकिँदैन।

ट्रम्पसँग पनि त्यसैगरी काम गर्नुपर्ने रहेछ भनेर थुप्रै देश र नेताले सिकिरहेका छन् नि!
राष्ट्रपति ट्रम्प आफ्ना पूर्ववर्तीहरूभन्दा निश्चय नै फरक छन्। तर म के जोड दिन चाहन्छु भने सबै अमेरिकी राष्ट्रपतिहरूले अरुको देशको भन्दा आफ्नो देशको हितलाई प्राथमिकता दिन्छन्। जीवनको सत्य यही हो।

२००३ मा म राष्ट्रसंघमा छँदा धेरै देशहरूले राष्ट्रपति जर्ज डब्ल्यू बसुलाई इराक युद्धमा नजान सल्लाह दिएका थिए। फ्रान्स, जर्मनी, इजिप्ट, साउदी अरबलगायतले। तर, अमेरिकाले सुनेन। महाशक्तिहरूसँग व्यवहार गर्दाको वास्तविकता यो हो।

इरान युद्धको प्रभाव बाँकी विश्व र खासगरी एसियामा कस्तो छ? के एसियामा कुनै खालको पुनर्गठन भइरहेको छ?
मैले आफ्ना अमेरिकी मित्रहरूलाई भन्ने गरेको छु– अमेरिकाले लड्ने हरेक युद्ध, खासगरी मध्यपूर्वको युद्ध चीनका लागि उपहार हो।

अमेरिका इराकमा फसेको १० वर्ष चीनले सबैभन्दा तीव्र गतिको आर्थिक वृद्धि हासिल गर्‍यो। त्यसैगरी अमेरिका इरानमा अर्को युद्धमा फस्यो भने त्यसले चीनलाई फेरि समय दिन्छ।

अमेरिकाले खडा गरेको चुनौती व्यवस्थापन गर्न चिनियाँहरूसँग बृहत् दीर्घकालीन रणनीति छ। यसको विपरीत महाशक्तिका रूपमा उदाउँदै गरेको चीनले खडा गर्ने चुनौती व्यवस्थापन गर्न अमेरिकाका दुवै पार्टीका नेताहरूले उत्तिकै बृहत् दीर्घकालीन रणनीति बनाएका छैनन्। 

तर, चिनियाँ नेताहरूलाई त्यसरी काम गर्न सजिलो छ। किनभने उनीहरूले कहिल्यै चुनाव लड्नुपर्दैन।
यो सत्य हो। तर, शीतयुद्धमा हरेक चार वर्षमा चुनाव गर्ने अमेरिकाले अधिनायकवादी सोभियत संघलाई हरायो। अमेरिकामा हुने नियमित चुनाव कसैगरी बाधा थिएन।

शीतयुद्धमा अमेरिकी सफलताका रचनाकार जर्ज केननले १९४९ मै भनेका थिए– यसको नतिजा गोली, युद्धपोत, विमानवाहक जहाज वा लडाकु विमानको संख्याले तय गर्ने छैन। यो आफ्नो जनतालाई समृद्ध तुल्याउने आत्मिक जीवनशक्ति कुन समाजले सिर्जना गर्छ भन्ने कुरामा निर्भर हुनेछ। आजको दिनमा जर्ज केनन जीवित हुन्थे भने उनले अमेरिकालाई त्यही सुझाव दिन्थे– थप विमानवाहक युद्धपोत नबनाऊ, अमेरिकाका गरिब आधा जनसंख्याको जीवनस्तर सुधार्न ध्यान देऊ।

तिमी त्यसमा सफल भयौ भने चीनविरुद्धको दीर्घकालीन प्रतिस्पर्धा तिमीले जित्नेछौ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad