अन्तर्वार्ता


पाँच अर्ब लगानीमा डेटा सेन्टर चलाउन गुगलसँग पाँच वर्षको रणनीतिक सहकार्य गर्दैछौँ : नवीन अग्रवाल (अन्तर्वार्ता)

‘विदेशी ग्राहकलाई लक्षित गरेका छौँ, २०० जना नेपालीले रोजगारी पाउँछन्’
पाँच अर्ब लगानीमा डेटा सेन्टर चलाउन गुगलसँग पाँच वर्षको रणनीतिक सहकार्य गर्दैछौँ : नवीन अग्रवाल (अन्तर्वार्ता)

बिचुटेन डेटा वर्ल्डका प्रबन्धनिर्देशक नवीन अग्रवाल (सरोज नेपाल)


उद्धव थापा
जेठ ३, २०८३ आइतबार १५:२१, काठमाडौँ

गत वैशाख २४ मा नेपालमा टियर–४ को हाइपरस्केल डेटा सेन्टर निर्माण गर्ने घोषणा भयो। घोषणाअनुसार गुगल र भारतीय कम्पनी भीभीडीएन (भिडिओ–भ्वाइस–डेटा–नेटवर्क)सँगको रणनीतिक सहकार्यमा उक्त डेटा सेन्टर सञ्चालन गरिने छ। योसँगै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले समेत यसका लगानीकर्तासँग छलफल गरिसकेका छन्।

नेपाली व्यवसायीहरु नवीन अग्रवाल, मिन अग्रवाल (फेयर ग्रुप), अनुज क्याल (क्याल ग्रुप), विकाश कुमार जाटिया र शरद गोयलको लगानीमा काठमाडौंको चोभार र वीरगन्जमा बिचुटेन डेटा वर्ल्ड नाममा डेटा सेन्टर सञ्चालनमा आउने भनिएको छ।

सूचना प्रविधिभन्दा फरक क्षेत्रमा काम गरिरहेका उनीहरुले नेपालमा डेटा सेन्टर सञ्चालनको काम थालिरहँदा भावी योजना र प्रविधि उद्योगको सम्भावनाबारे बिचुटेन डेटा वर्ल्डका प्रबन्धनिर्देशक नवीन अग्रवालसँग नेपालखबरले गरेको कुराकानी : 

तपाईंहरुले बिचुटेन डेटा सेन्टर निर्माण र सञ्चालन गर्ने घोषणा गरेपछि अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बोलाएरै भेट्नुभएको थियो। के कुराकानी भयो?
हो, अर्थमन्त्रीको सचिवालयबाट फोन आएपछि हामी भेट्न गएका थियौँ। हामीलाई पाँच मिनेटको बैठक भनिएको थियो। प्राविधिक मान्छे लिएर आउनुहोला, तपाईंहरुको कुरा विस्तारमा बुझाउनुहोला भनिएको थियो। 

उहाँले तपाईंहरु सूचना प्रविधि क्षेत्रमा लगानी गर्न लाग्नुभएको छ। यो क्षेत्रमा सरकारको तर्फबाट के सहयोग भयो भने सूचना प्रविधि क्षेत्रले प्रगति गर्छ जस्तो लाग्छ भनेर सोध्नुभयो, कम्पनीको मात्रै नभई समग्र सूचना प्रविधि क्षेत्रबारे जान्न खोज्नुभएको थियो।

यति ठूलो लगानी गर्न तपाईंहरुले केही अध्ययन त गरेरै आउनुभयो होला। त्यो क्रममा सरकारले के सहयोग गर्‍यो भने सहज हुन्छ भन्ने बुझ्नुभयो भनेर सोध्नुभएको थियो। हामीले डेटा सेन्टरमा विद्युत् सबैभन्दा बढी प्रयोग हुने भएकाले त्यसमा सहुलियत दिनुहोस्, आयकर र भन्सार दरमा सहुलियत दिन भनेका छौँ। सरकारले यति सहयोग गर्दा हाम्रो पैसा बच्यो भने राम्रो तलब सुविधा दिएर सक्षम मान्छेलाई रोजगारी दिन सक्ने भनेका छौँ। त्यसपछि अर्थमन्त्रीले सबै सुझाव लेखेर पठाउन भन्नुभयो। हामीले पठाएका छौँ। 

उहाँले हामीले पठाएका माग र सुझाव हेरेर आगामी आर्थिक वर्षको बजेटमार्फत सकिने कुरा गर्ने भन्नुभएको छ। अर्थमन्त्रीले त्यसरी बोलाएर हाम्रो कुरा सुन्नु नै धेरै ठूलो कुरा हो। यस्तो प्रयासले लगानीकर्तालाई प्रोत्साहन नै गर्छ। 

तपाईंहरूले बिचुटेन डेटा सेन्टर भन्नुभएको छ। यसको अर्थ के हो?
जापानी भाषामा यसको अर्थ भगवान् विष्णु हो। हिन्दू धर्ममा ब्रह्माले सिर्जना गर्ने, विष्णुले संरक्षण गर्ने र शिवले संहार गर्ने भन्ने मान्यता छ।

डेटा त सुरक्षित गर्ने चिज हो। विष्णुले संरक्षण गर्ने भनेपछि त्यही अर्थ आउने नाम राखौँ भनेर यो बिचुटेन नाम रोजिएको हो। 

बिचुटेन भन्ने शब्द प्राविधिक र नवप्रवर्तन जनाउनेजस्तो सुनिन्छ। भाषा जुनसुकै भए पनि भगवानको नाम हो। हाम्रो एक जना निर्देशक मिन अग्रवालले नाम खोज्दै गर्दा यो शब्द भेट्नुभएछ। उहाँले यसको अर्थ बताउँदा हामीलाई राम्रो लाग्यो। त्यसैले, यही शब्दबाट कम्पनीको नाम राख्यौँ।

‘एआई डेटा सेन्टर’ बनाउने भन्नुभएको छ। यो कस्तो विशेषता भएको डेटा सेन्टर हो?
नेपालमा अहिले पनि एक दर्जनभन्दा बढी डेटा सेन्टर छन्। ती सबै एआई डेटा सेन्टर होइनन्। हामीले बनाउन खोजेको एआई डेटा सेन्टर हो।

सामान्य रूपमा डेटा सेन्टर भनेको अरू संस्थाको डेटा सुरक्षित रूपमा राखिदिने ठाउँ हो। बैंक, अस्पताल वा अन्य संस्थाले आफ्नै डेटा सेन्टर बनाउन ठूलो खर्च हुन्छ। यसको व्यवस्थापन अत्यधिक खर्च र तनावको काम पनि हो। त्यसैले आउटसोर्सिङ गर्दा उनीहरूलाई सजिलो हुन्छ। अहिले सञ्चालनमा रहेका डेटा सेन्टर उनीहरुले आफ्नै डेटा सुरक्षित राख्न बनाएका थिए।  

अहिले संसार कुन दिशामा जाँदै छ, भविष्यमा केको माग बढ्छ भन्ने अध्ययन गरेर हामीले यो परियोजनामा काम थालेका हौँ। नेपाल सरकारले पनि डिजिटलाइजेसनको कुरा गरिरहेको छ। जनशक्ति विदेशिन नदिने, नेपालमै अवसर सिर्जना गर्ने कुरा भइरहेको छ। हामीले तीन/चार जना साथीहरूबीच धेरै छलफल र अनुसन्धानपछि यो अवधारणा आएको हो। डेटा सेन्टरलाई म कहिलेकाहीँ होटलसँग तुलना गर्छु। तपाईंले होटल बनाउनुहुन्छ, कोठा भाडामा दिनुहुन्छ। यहाँ पनि त्यस्तै हो— हामी संरचना बनाउँछौँ, अरूको डेटा सुरक्षित राख्छौँ र त्यसबापत शुल्क लिन्छौँ।

तर, हामी खालि डेटा राख्ने मात्रै होइन, त्यसबाट थप डिजिटल सेवा पनि दिन चाहन्छौँ। ठूलो लगानी गरेपछि आम्दानी पनि हुनुपर्‍यो, देशलाई पनि फाइदा हुनुपर्‍यो। त्यसका लागि गुगल प्लेटफर्म ल्याऔँ भनेर प्रयास गरेका हौँ। गुगलको धेरै भर्टिकल्समा धेरै सेवाहरु छन्। त्यसको सेवा नेपालमा ल्याउन सकियो र डिजिटल प्लेटफर्म र एआई–सम्बन्धी काम नेपालमै उपलब्ध गराउन सकियो भने यहाँका युवालाई पनि देशमै रोक्न सकिन्छ।

नेपाललाई आईटी हब बनाउन सकिन्छ। यहाँ आईटीलाई शिक्षा र पर्यटनसँग जोड्न सकिन्छ। कुनै बेला दार्जिलिङ शैक्षिक हबको रुपमा परिचित थियो। त्यस्तै आईटीको लागि राम्रो गन्तव्यको रुपमा नेपाललाई विकास गर्न सकिन्छ भन्ने सोचेर यो क्षेत्रमा लागेका हौँ। दैनिक हजारौँ मानिस कामको लागि विदेश गइरहेका छन्। उनीहरुलाई नेपालमै रोक्न सकियो भने यहाँको विकास हुन्छ। हाम्रो लक्ष्य सूचना प्रविधि क्षेत्रमा रोजगारी सिर्जना गर्न सकौँ भन्ने पनि हो। 

परियोजनाको लगानी कसरी जुटाउनुभएको छ? कुल लगानी कति छ?
हामी विभिन्न समूह र साथीभाइ मिलेर बनेको समूह हौँ। सबैले आ–आफ्नो क्षमताअनुसार लगानी गर्नुभएको छ। अहिले इक्विटी संरचनाबारे विस्तृतमा सार्वजनिक गर्नु उपयुक्त हुँदैन। 

अहिलेको हिसाबले दुवै ठाउँ (चोभार र वीरगन्ज)को परियोजना सम्पन्न हुँदा करिब पाँच अर्ब रुपैयाँ हाराहारीमा लगानी हुन्छ। त्यसमध्ये केही रकम लक्ष्मी सनराइज बैंकबाट कर्जा लिएर लगानी गर्न खोजेका हौँ। उक्त कर्जा प्रक्रियाको लागि केयर रेटिङ नेपाल लिमिटेडबाट रेटिङ पनि गराएका छौँ। डेटा सेन्टरको लागि आवश्यक जग्गा हामी लगानीकर्तामध्येकै हो। चोभारमा मेरो नाममा रहेको करिब ३३ आना जग्गा लिजमा दिएको छु। वीरगन्जमा पनि लगानीकर्तामध्येकै जग्गा लिजमा प्रयोग गर्न लागिएको हो।

यो डेटा सेन्टर पूर्ण रुपमा सञ्चालनमा आउँदा करिब २०० जना मानिसले रोजगारी पाउँछन्। नेपाललाई डेटा हब बनाउन सक्दा देशको अर्थतन्त्र सबल बनाउन योगदान पुग्छ भन्ने विश्वास छ। 

डेटा सेन्टर खोल्ने सोच कसरी आयो?
हामी सबै जना आआफ्नो व्यवसायमा व्यस्त थियौँ। तर, पनि भेट्नेबित्तिकै नयाँ के गर्न सकिन्छ भनेर छलफल भइरहन्थ्यो।

नयाँ सम्भावना खोजिरहन्थ्यौँ। प्रविधिको अत्यधिक प्रयोग हुन थालेको समयमा डेटा सेन्टर उपयुक्त हुनसक्ने भन्ने लागेर यो विषयमा डेढ वर्षजति अनुसन्धान गर्‍यौँ। भारतका विभिन्न डेटा सेन्टर अवलोकन गर्‍यौँ। त्यहाँको पूर्वाधार निकै उन्नत भइसकेको छ।

भारतले सरकारी नीतिमार्फत आईटी क्षेत्रलाई धेरै सहयोग गरेको छ। त्यहाँ गएर डेटा सेन्टर हेरेपछि नेपालमा पनि गर्न सकिन्छ भनेर अगाडि बढेका हौँ।

तपाईंहरूले गुगलसँग सहकार्यको कुरा गर्नुभएको छ। त्यो कस्तो सहकार्य हो?
गुगलसँग हाम्रो पाँच वर्षको रणनीतिक सहकार्य (स्ट्राटेजिक पार्टनरशिप) छ। गुगलले यहाँको आवश्यकताको आधारमा आफ्ना सेवाहरु उपलब्ध गराउँदै जान्छ। बैंकिङ, पर्यटन, कृषि, अस्पताल जुनसुकै क्षेत्रमा आवश्यक पर्ने र गुगलसँग भएको सेवा उपलब्ध हुँदै जान्छ। आगामी दिन नेपालमा गुगलको डिजिटल उपस्थिति हामीमार्फत बढ्दै जान्छ। 

तर, हामीले बनाउने भनेको डेटा सेन्टरमा गुगलको लगानी भने छैन। हामीले गुगलसँग लिने प्राविधिक सेवा र प्लेटफर्मको शुल्क तिर्छौँ। हाम्रो डेटा सेन्टरमा कुनै विदेशी लगानी छैन। डेटा नेपालमै रहन्छ। सर्भर नेपालमै हुन्छ। सरकारी निकायले चाहे जाँच गर्न सक्छन्। हामी पूर्ण पारदर्शिताका साथ काम गर्न चाहन्छौँ। देशको अहित हुने कुनै काम गर्नेछैनौँ। 

गुगलसँगै भारतीय आईटी कम्पनी भीभीडीएनसँगको सहकार्यको कुरा पनि सार्वजनिक भएको छ। भीभीडीएनसँग चाहिँ कस्तो सहकार्य हो? 
हाम्रो डेटा सेन्टरको सम्पूर्ण पूर्वाधार भीभीडीएनले तयार गरेर हामीलाई दिन्छ। हामीलाई विद्युत् व्यवस्थापन गर्नुपर्छ। विद्युतको ब्याकअपको लागि सोलार चाहिन्छ। जेनेरेटर सेट चाहिन्छ। कुलिङ सिस्टमलगायत डेटा सेन्टरका लागि आवश्यक सबै प्राविधिक पूर्वाधार भीभीडीएनले जुटाउँछ र डेटा सेन्टर तयार गरिदिन्छ।

यसो गर्दा हामीले धेरै ठाउँबाट सामान जुटाउनुपर्ने झन्झट हुँदैन। हार्डवेयर इन्स्टल गर्ने, सफ्टवेयर सेटअप गर्ने र जनशक्तिलाई तालिम दिने काम पनि उसैले गर्छ। त्यसपछि सञ्चालन भने हामी आफैँले गर्छौँ। भीभीडीएनले भारतमा पनि सरकारी र निजी क्षेत्रका डेटा सेन्टर बनाउने काम गरेको छ। हामीले पनि उसलाई जिम्मा दिँदा ‘वान–स्टप सोलुसन’ भयो। उसले गरेको कामबापत हामीले भुक्तानी गर्छौँ। 

नेपालमा डेटा सेन्टरको भविष्य कति सम्भावनायुक्त देख्नुहुन्छ?
अबको भविष्य भनेको डिजिटल नै हो। तर, यसको सफलता सरकारको नीतिमा पनि निर्भर हुन्छ।

आईटी उद्योगलाई नेपालमा ल्याउने वातावरण बन्नुपर्छ। स्वास्थ्य क्षेत्रलाई डिजिटल बनाउन सकिन्छ भनेर पनि सोचिरहेका छौँ। एक्स–रे रिपोर्ट नै पूर्ण डिजिटल भयो भने समय र पैसा दुवै बचत हुन्छ। आज धेरै डिजिटल सेवाका लागि नेपालीले डलरमा भुक्तानी गरिरहेका छन्। यदि ती सेवा नेपालमै उपलब्ध भए विदेशी मुद्रा बचाउन सकिन्छ।

अर्कोतर्फ, हामीले विदेशी ग्राहकलाई लक्षित गरेका छौँ। नेपालमा विदेशी सूचना प्रविधि कम्पनी ल्याउन र डेटा सेन्टरलाई सम्भावनायुक्त बनाउन सबैभन्दा बढी भूमिका सरकारको हुन्छ। 

भविष्यमा ल्यापटप, ट्याब, क्यामेरा नेपालमा उत्पादनको योजना पनि छ भन्ने सुनिन्छ नि!
एकैचोटि धेरै काम गर्न खोज्यो भने कठिन हुन्छ। पहिले डेटा सेन्टर सफल बनाउँछौँ। हामीले सहकार्य गरेको भीभीडीएन कम्पनीले ल्यापटप, क्यामेरा बनाउने काम गरिरहेको छ।

त्यसैले भविष्यमा ‘मेक इन नेपाल’ अवधारणामा गुणस्तरीय र सस्तो विद्युतीय उपकरण उत्पादन गर्ने योजना बनाएका छौँ। एक वर्षभित्र डेटा सेन्टरको सबै काम पूरा गरेर ल्यापटप, ट्याब, क्यामेरा उत्पादन गर्नेतिर लाग्छौँ। नेपालमै कम्प्युटर बनाउन सक्दा कम्प्युटर आयातमा देशबाट बाहिर जाने पैसा जोगिन्छ। त्यसले अर्थतन्त्रलाई सबल बनाउन सघाउँछ। 

डेटा सेन्टर कहिलेबाट सञ्चालनमा आउँछ?
अहिले हाम्रो लक्ष्य आगामी अगस्टदेखि काठमाडौंको संरचना सञ्चालनमा ल्याउने हो। वीरगन्जको परियोजना त्यसको एक महिनापछि सेप्टेम्बरबाट सुरु हुन्छ।

काठमाडौंको चोभार र वीरगन्जमा दुवै ठाउँबाट १२० किलोवाट गरी २४० किलोवाटबाट सुरु गर्दै छौँ। केही समयपछि यसलाई दुवै ठाउँमा गरेर ५ मेगावाटसम्म पुर्‍याउने र केही वर्षमा एक मेगावाट क्षमताको बनाउने लक्ष्य राखेका छौँ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad