अन्तर्वार्ता


डेभिड म्यारियट र राजीव मेननसँग विशेष अन्तर्वार्ता : नेपालमा उत्कृष्ट साझेदार पाएका छौँ, अब फटाफट अघि बढ्छौँ (भिडिओ)

डेभिड म्यारियट र राजीव मेननसँग विशेष अन्तर्वार्ता : नेपालमा उत्कृष्ट साझेदार पाएका छौँ, अब फटाफट अघि बढ्छौँ (भिडिओ)

कुबेर चालिसे
जेठ २५, २०८३ सोमबार २२:२८, काठमाडौँ

हस्पिटालिटीमा विश्वभर नाम कमाएको समूह ‘म्यारियट इन्टरनेसनल’ को प्रतिष्ठित ब्रान्ड ‘जेडब्ल्यू म्यारियट’ पहिलो पटक नेपाल भित्रिने भएको छ। एमएस ग्रूपअन्तर्गतको क्यापिटल होटल्स एन्ड हस्पिटालिटी लिमिटेड र म्यारियट इन्टरनेसनलबीच आज होटल व्यवस्थापन सम्झौतामा हस्ताक्षर भएको छ।

उक्त सम्झौतामा क्यापिटल होटल्सका निर्देशक तथा प्रबन्ध निर्देशक गौरव अग्रवाल र म्यारियट इन्टरनेसनलका एसिया प्यासिफिक अध्यक्ष राजीव मेननले हस्ताक्षर गरे। साथै, क्यापिटल होटल्सका शशिकान्त अग्रवाल र म्यारियट इन्टरनेसनलका डेभिड म्यारियटले पनि सो अवसरमा सम्झौता आदानप्रदान गरे।

सम्झौता समारोहमा विशेष साक्षीका रूपमा सांसद मिङ्मा डेविड शेर्पा पनि उपस्थित थिए।

‘नेपालको पर्यटन क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याउने गरी एक विशेष होटल निर्माण गर्न म्यारियटसँग पुनः सहकार्य गर्न पाएकोमा हामी अत्यन्त उत्साहित छौँ,’ सो अवसरमा अग्रवालले भने, ‘हाम्रो देशको संस्कृति र भावनालाई विश्वस्तरीय हस्पिटालिटीसँग जोडेर अविस्मरणीय अनुभव प्रदान गर्नु हाम्रो लक्ष्य हो।’

यो सम्झौतासँगै नेपालको लक्जरी हस्पिटालिटी क्षेत्रमा नयाँ अध्यायको सुरुवात भएको छ। सम्झौताअनुसार जेडब्ल्यू म्यारियट होटल काठमाडौँ सन् २०३१ को सुरुतिर सञ्चालनमा आउनेछ। यी दुई कम्पनीबीचको यो चौथो सहकार्य हो।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब १५ मिनेटको दूरीमा भक्तपुरमा अवस्थित जेडब्ल्यू म्यारियट होटलमा २२१ वटा सुविधा सम्पन्न कोठा हुनेछन्। क्यापिटल होटल्सका शशिकान्त अग्रवालका अनुसार यस होटलमा विभिन्न रेस्टुरेन्ट, स्पा, फिटनेस सेन्टर, स्विमिङ पुल र सुन्दर बगैँचा रहनेछन्।

होटलमा १,६०० वर्गमिटरभन्दा बढी कार्यक्रम र सम्मेलन स्थल बनाइने उनको भनाइ छ। 

यस होटलबाट काठमाडौँ उपत्यकाका युनेस्को विश्व सम्पदा स्थलहरूमा जान सहज हुने पनि उनले बताए। म्यारियट इन्टरनेसनल विश्वको अग्रणी हस्पिटालिटी कम्पनी हो। यसले १४५ देश र क्षेत्रहरूमा ९ हजार ८०० भन्दा बढी होटल सञ्चालन गरिरहेको छ। यस्तो प्रतिष्ठित ब्रान्डको नेपाल प्रवेशले उच्च वर्गका पर्यटकहरूलाई आकर्षित गर्ने र हजारौँ नेपालीका लागि नयाँ रोजगारीको अवसर सिर्जना गर्ने अपेक्षा गरिएको छ।

सम्झौता हस्ताक्षर समारोहपछि ‘नेपालखबर’ले म्यारियट इन्टरनेसनलका अध्यक्ष डेभिड म्यारियट र एसिया प्यासिफिक अध्यक्ष राजीव मेननसँग विशेष अन्तर्वार्ता लिएको छ। जसका मुख्य अंश यसप्रकार छन् :

यो पहिलो नेपाल भ्रमणले नेपालप्रति तपाईंको अनुभव कस्तो रह्यो?
डेभिड म्यारियट: नेपालमा यो मेरो पहिलो भ्रमण हो। र, यो निकै आकर्षणयुक्त रह्यो। नेपाल सुन्दर देश हो। काठमाडौँमा अविश्वसनीय ऊर्जा र आध्यात्मिकता छ। काठमाडौँ सहरबाहिर निस्केर हिमालको अनुभव लिन केही समय पाए हुन्थ्यो भन्ने लागेको छ।

नेपालको संस्कृति ‘अतिथि देवो भवः’ भन्ने मान्यतामा आधारित छ। म्यारियट पनि एक गहिरो संगठनात्मक संस्कृतिमा आधारित छ।

भिडिओ :

हस्पिटालिटीको यो साझा दृष्टिकोणलाई ध्यानमा राख्दा म्यारियटलाई नेपाल आउन किन यति लामो समय लाग्यो?
डेभिड म्यारियट: हामी १४५ देशमा सञ्चालित कम्पनी हौँ। राजीव, हामी औपचारिक रूपमा नेपालमा कहिलेदेखि छौँ?

राजीव मेनन: हामी नेपालमा २०१४ देखि सञ्चालनमा छौँ।

डेभिड म्यारियट: हो, हामी यहाँ केही वर्षदेखि छौँ।

तर लगभग एक शताब्दी (९९ वर्ष)को म्यारियटको इतिहास हेर्दा २०१४ मा नेपाल आगमन अलि ढिलो भएन र?
डेभिड म्यारियट: यदि हामी अझ चाँडो आउन सक्थ्यौँ भने पक्कै आउने थियौँ। यद्यपि, हाम्रो व्यावसायिक मोडेल गम्भीर साझेदारीमा निर्भर गर्दछ। हामी सामान्यतया प्रोपर्टीको स्वामित्व लिँदैनौँ; बरु हामी होटलहरू सञ्चालन र फ्रेन्चाइजी गर्छौँ। सही साझेदार र सही लगानीकर्ताहरू भेटिन समय लाग्छ। हामीले अहिले नेपालमा उत्कृष्ट साझेदारहरू पाएका छौँ, त्यसैले हामी फटाफट अघि बढ्न तयार छौँ।

म्यारियट सन् १९२७ मा तपाईंका हजुरबुबा जेडब्ल्यू म्यारियट र हजुरआमा एलिस म्यारियटद्वारा वासिङ्टन, डीसीमा स्थापना गरिएको थियो। अहिले तपाईं यो विशाल कम्पनीको नेतृत्व गरिरहनुभएको छ। पारिवारिक विरासतको नेतृत्व गर्दा कस्तो महसुस हुन्छ?
डेभिड म्यारियट: मेरा हजुरबुबा–हजुरआमाले अविश्वसनीय विरासत स्थापना गर्नुभयो। सुरुमै, उहाँहरूले एउटा मूल दर्शन बनाउनुभयो– यदि तपाईंले आफ्ना सहकर्मीहरूको राम्रो हेरचाह गर्नुभयो भने उनीहरूले ग्राहकहरूको राम्रो हेरचाह गर्नेछन् र ग्राहकहरू फर्कीफर्की आउनेछन्। उहाँहरूले व्यक्तिलाई प्राथमिकता दिने, परिवर्तनलाई अँगाल्ने, उत्कृष्टताको खोजी गर्ने, इमानदारीका साथ काम गर्ने र विश्वको सेवा गर्ने जस्ता आधारभूत मूल्यहरूमा आधारित उत्कृष्ट संस्कृति निर्माण गर्नुभयो।

मेरो लागि हाम्रो कम्पनीको इतिहासमा तेस्रो अध्यक्षको रूपमा सेवा गर्न पाउनु साँचो अर्थमा सौभाग्य र सम्मान पनि हो। यो विरासतलाई सुरक्षित राख्नु र अगाडि बढाउनु महत्वपूर्ण छ। हाम्रो व्यवसाय पूर्ण रूपमा मानिसहरूलाई अवसर प्रदान गर्नका लागि निर्मित छ। मेरो बुबाले सधैँ भन्नुहुन्थ्यो कि उहाँलाई सबैभन्दा गर्व लाग्ने उपलब्धि भनेको हामीले विश्वभरका मानिसहरूलाई दिएको अवसर हो। 

आज, विश्वभर करिब ८ लाख मानिसहरूले म्यारियटको ब्याच लगाउँछन्। राजीव मेनन र हाम्रो बाँकी नेतृत्व टोलीसँगै हाम्रा सीईओ टोनी क्यापुआनोलाई सहयोग गर्न पाउनु सम्मानको कुरा हो।

सन् २०२२ मा डेभिड म्यारियट अध्यक्ष बनेपछि, म्यारियटको क्षेत्रीय विस्तार अभूतपूर्व रहेको देखिन्छ। यो विकासको लहरलाई तपाईं कसरी हेर्नुहुन्छ?
राजीव मेनन: हामी एसिया–प्यासिफिक क्षेत्रभरि यात्रा र पर्यटनमा दशकौँ लामो विकासको अवसर देख्छौँ। विश्वको ६० प्रतिशत जनसंख्या यहाँ बसोबास गर्दछ र विश्वकै युवा जनसंख्या छ। यसक्षेत्रमा सन् २०३० सम्ममा मध्यमवर्गीय जनसंख्याको वृद्धि पनि आश्चर्यजनक छ। साथै, यस क्षेत्रमा थप ७० करोड मानिसहरू मध्यमवर्गमा प्रवेश गर्दैछन्। जो घुम्न चाहन्छन्।

फलस्वरूप, हामी काठमाडौँ म्यारियटमा शशिकान्त अग्रवाल र गौरवजस्ता उत्कृष्ट स्थानीय साझेदारहरूसँग हाम्रो सेवा विस्तार गर्न मिलेर काम गरिरहेका छौँ। दक्षिण एसियामा, विशेष गरी भारतमा, हाम्रा २२० भन्दा बढी होटलहरू सञ्चालनमा छन् र लगभग २०० थप निर्माणधीन छन्। हामी नेपालका लागि पनि उत्तिकै उत्साहित छौँ, जहाँ हाम्रा पाँचवटा होटलहरू पहिले नै सञ्चालनमा छन्।

तपाईं सक्रिय रूपमा पोर्टफोलियो विस्तार गर्दै हुनुहुन्छ?
राजीव मेनन: बिल्कुल। हामी काठमाडौँ म्यारियट होटलप्रति धेरै गर्व गर्छौँ। हिजो मात्र, हामीले ‘द रिट्ज–कार्लटन काठमाडौँ’ र ‘द वेस्टिन’लाई बजारमा ल्याउन सम्झौता गरेका छौँ। हामीसँग अर्को वर्ष वा सोभन्दा पहिल्यै लक्जरी कलेक्सनसहित अन्य धेरै पाइपलाइन छ। आधुनिक यात्रीहरूले खोजेको अद्वितीय र अविस्मरणीय हस्पिटालिटी सेवा नेपालले प्रदान गर्दछ। काठमाडौँभन्दा बाहिर हाम्रो उपस्थिति विस्तार गर्ने ठूलो अवसर छ। र म यसका लागि अत्यन्त उत्साहित छु।

म्यारियटका धेरै ब्रान्डहरू बजारमा प्रवेश गर्दा नेपालको पर्यटन पूर्वाधारमा पनि महत्वपूर्ण लगानी गरिरहेको जस्तो देखिन्छ, जुन नेपालजस्ता देशलाई वास्तवमै आवश्यक छ। शशिकान्त अग्रवालसँग तपाईंको साझेदारी कसरी सुरु भयो?
राजीव मेनन: यो धेरै वर्ष पहिले ‘फेयरफिल्ड बाइ म्यारियट’बाट सुरु भयो; उहाँहरू म्यारियटलाई नेपालमा भित्र्याउने अग्रणी साझेदार हुनुहुन्थ्यो। आज हामी बसेको होटल, काठमाडौँ म्यारियट, सफल होटलको उत्कृष्ट उदाहरण हो। त्यसबेलादेखि, हामीले ‘मोक्सी’, ‘एलोफ्ट’ र ‘द सोल्टी काठमाडौँ’ (जो हाम्रो अटोग्राफ कलेक्सनमा सामेल भयो) भित्र्याएका छौँ। हाम्रो क्षेत्रीय विकास हाम्रा साझेदारहरूसँगको निरन्तर सहकार्यबाट प्रेरित हुनु हाम्रो लागि सबैभन्दा गर्वको कुरा हो।

र, अब तपाईंले जेडब्ल्यू म्यारियटको लागि पनि सम्झौता गर्नुभएको छ। जेडब्ल्यू ब्रान्ड नेपाल ल्याउन कुन कुराले अभिप्रेरित गर्‍यो?
राजीव मेनन: जेडब्ल्यू म्यारियट ब्रान्डको हाम्रो लागि धेरै विशेष स्थान छ। किनभने यो हाम्रा संस्थापकको नाममा रहेको ब्रान्ड हो। एसिया–प्यासिफिकमा यसको तीव्र विस्तार भएको छ। उदाहरणका लागि भारतमा, हाम्रा १० वटा जेडब्ल्यू सञ्चालनमा छन् र १५ थप विकासको चरणमा छन्। जेडब्ल्यू ब्रान्डको पहिचान दक्षिण एसियाली हस्पिटालिटीसँग पूर्ण रूपमा मेल खान्छ। हस्पिटालिटी यहाँ हृदयबाट आउँछ। त्यो सिधै हाम्रा संस्थापकको कर्मचारी हेरचाहको दृष्टिकोणसँग पनि मेल खान्छ। त्यसैले, जेडब्ल्यू म्यारियट यस क्षेत्रमा ठूलो र सफल ब्रान्ड बनेको छ। हामी यसलाई नेपालमा ल्याउन पाउँदा गर्व गर्छौँ।

यो तपाईंको पहिलो नेपाल भ्रमण हो। तपाईंले हिजो एक कार्यक्रममा भन्नुभएको थियो कि यसपटक एक्लै यात्रा गर्दा तपाईंले आफ्नी श्रीमतीलाई धेरै सम्झनुभयो। म्यारियटले आफ्नो १००औँ वार्षिकोत्सव मनाउने तयारी गरिरहँदा के नेपाल तपाईंको व्यक्तिगत यात्राको नक्सामा प्रमुख स्थानमा रहनेछ भन्न सक्छौँ?
डेभिड म्यारियट: म आज बिहान मेरी श्रीमतीसँग कुरा गर्दै थिएँ। र, उनी म एक्लै  यहाँ आएकोमा धेरै आरिस गरिरहेकी छिन्! उनी नेपालमा पारिवारिक यात्रा गर्ने योजना बनाउन निकै उत्सुक छिन्। त्यसैले म आशा गर्छु– हामी निकट भविष्यमा फेरि नेपाल भ्रमण गर्न सक्छौँ। उनी युटाका पहाडहरूमा हुर्किन्, जुन नेपालका हिमालयको तुलनामा साना पहाडहरू हुन्। तर उनी ट्रेकिङ र हाइकिङ गर्न धेरै मन पराउँछिन्। त्यसका लागि नेपालभन्दा राम्रो ठाउँ संसारमा अरू छैन। त्यसैले हामी पक्कै पनि फेरि नेपाल आउनेछौँ।

भिडिओ :

राजीवले उल्लेख गरेझैँ, जेडब्ल्यू म्यारियट ब्रान्डको मेरो लागि गहिरो व्यक्तिगत अर्थ छ। त्यो ब्रान्डलाई काठमाडौँ उपत्यकामा ल्याउनु र एउटा लक्जरी होटल बनाउनु यसकारण पनि महत्वपूर्ण छ कि यात्रीहरू यहाँ बस्न सकून्, पहाडहरूमा ट्रेकिङका लागि जान सकून् र विश्वस्तरीय आराम गर्न सकून्।

यो अनुभव धेरै नै रोमाञ्चक रहनेछ। मेरा हजुरबुबालाई पहाडहरू धेरै मन पर्थ्यो। उहाँले आफ्नो युवावस्था युटामा आफ्नो बुबाको भेडा चराउँदै बिताउनुभयो र हृदयदेखि नै उहाँ एक साँचो अमेरिकन काउब्वइ हुनुहुन्थ्यो। उहाँ प्रकृतिको नजिक हुनुहुन्थ्यो र उहाँलाई पक्कै पनि नेपाल मन पर्ने थियो। हामी यो सम्बन्ध अझ बलियो हुँदै गएको हेर्न चाहन्छौँ। अर्को वर्ष म्यारियटको १०० वर्ष मनाउँदा नेपालमा हाम्रो विशेष ध्यान र विस्तार हुनेछ।


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad