ad ad

अन्तर्वार्ता


एमालेले महानगरमा चमत्कार गर्छ : शंकर पोखरेल (अन्तर्वार्ता)

एमालेले महानगरमा चमत्कार गर्छ : शंकर पोखरेल (अन्तर्वार्ता)

एमालेका महासचिव शंकर पोखरेल भन्छन्– महानगरमा नै हाम्रो चमत्कार हुन्छ, अहिले संख्या तोक्न नलगाउनुस् (तस्बिरः विक्रम राई)


रुपक चौलागाईं
बैशाख २०, २०७९ मंगलबार ९:४, काठमाडौँ

नेकपा एमालेका महासचिव शंकर पोखरेलले आसन्न स्थानीय निर्वाचनमा महानगरमा ‘चमत्कार’ हुने बताएका छन्। ०७४ को चुनावमा दुईवटा महानगरपालिकाको प्रमुख जितेको एमालेले यसपालि कति महानगर जित्ला भन्ने नेपालखबरको प्रश्नमा महासचिव पोखरेलले भने, ‘महानगरमा नै हाम्रो चमत्कार हुन्छ। अहिलेलाई म यतिमात्र भन्छु, संख्या तोक्न नलगाउनुस्।’

एमाले महासचिव पोखरेलले मुलुक काँग्रेस र एमालेको नेतृत्वमा दुईदलीय प्रणालीतर्फ ध्रुवीकृत भइरहेको विश्लेषण सुनाए। उनले भने, ‘जतिबेला राज्यविरुद्ध राजनीतिक दलहरु विद्रोहीका रुपमा रहन्छन्, त्यतिबेला धेरै पार्टी भए पनि फरक पर्दैन। जब राष्ट्र निर्माणको पक्ष हुन्छ, त्यहाँ धेरै पार्टी आउनु भनेको समस्या हुनु हो। विकास र समृद्धिको बाटोमा हिँड्ने हो भने राजनीतिक ध्रुवीकरण जरुरी छ।’

देशमा वाम ध्रुवीकरण आवश्यक रहेको बताउँदै महासचिव पोखरेलले नेकपा एमालेको नेतृत्वमा वाम ध्रुवीकरण भइरहेको दाबीसमेत गरे।

नेपालखबरसँग विशेष कुराकानी गर्दै नेता पोखरेलले भने, ‘कमरेड केपी ओलीले नेतृत्व गर्नुभएको नेकपा एमालेमात्र त्यस्तो पार्टी छ, जहाँ एमाले पनि र माओवादी पनि छन्। नेपालमा कम्युनिस्ट आन्दोलन र एकताको मूल प्रवाह नै नेकपा एमाले हो।’

एमाले महासचिव पोखरेलसँग नेपालखबरले चुनावी सन्दर्भमा गरेको वार्ताः​

तपाईंले केही समयअघि सार्वजनिक मञ्चबाटै वाम एकताको प्रसंग उठाउनुभएको थियो। त्यसबेला माओवादी वृत्तबाट पनि तपाईंको अभिव्यक्तिको प्रशंसा भएको थियो। त्यो वाम एकताको प्रसंग अहिले कहाँ पुग्यो?
त्यतिबेला वाम एकता भनेको पार्टी ध्रुवीकरणको विषय हो। जो वामपन्थी एजेण्डाका पक्षमा छन्, उनीहरुलाई नेकपा एमालेको पक्षमा गोलवद्ध गर्ने भनिएको हो। त्यो काम अझै जारी छ। देशभरिबाट नेकपा माओवादी केन्द्रलगायतका विभिन्न वामपन्थी पार्टीबाट एमालेमा प्रवेश गर्ने क्रम जारी छ। त्यो चिजबाट नै हामी नेकपा एमालेलाई राष्ट्रिय पार्टीबाट राष्ट्रिय शक्ति बनाउने अभियानमा छौं। त्यो सम्भव छ भन्ने मलाई लाग्छ।

हिजो ठूलो उत्साहका साथ बनेको नेकपा फुट्यो। एमाले पनि फुट्यो। अब हिजोकै जस्तो वाम एकताको सम्भावना छ र?
हामी त्योभन्दा अझ बलियो भएका छौं। वास्तवमा, नेपालको कम्युनिस्ट आन्दोलनभित्र नेकपाको निर्माण एउटा ऐतिहासिक आवश्यकताका आधारमा गरेका थियौं, जुन पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपालको गलत सोचका कारण सफल हुन सकेन। यद्यपि नेकपाको निरन्तरताका रुपमा आज हामी नेकपालाई निर्माण गर्न सफल भएका छौं। प्रचण्डले पुनःस्थापित गरेको पार्टीभित्र पूर्वएमालेहरु छैनन्। माओवादीको एउटा समूह मात्र प्रचण्डले नेतृत्व गर्न सक्नुभएको छ। अर्कोतर्फ, माधव नेपालले नेतृत्व गरेको समूह हेरियो भने त्यहाँ पूर्वएमाले मात्र छ। कमरेड केपी ओलीले नेतृत्व गर्नुभएको नेकपा एमालेमात्र त्यस्तो पार्टी छ, जहाँ एमाले पनि र माओवादी पनि छन्। अर्थात् नेकपाको निरन्तरता र विरासतको रुपमा एमाले अगाडि आएको छजस्तो मलाई लाग्छ। त्यसकारण नेपालमा कम्युनिस्ट आन्दोलन र एकताको मूल प्रवाह नै नेकपा एमाले हो।

प्रचण्ड र माधव नेपालका कारणले नेकपाको एकता संकटमा प¥यो। एकता र ध्रुवीकरणको प्रकियाद्वारा हामी त्यो चिज फेरि हासिल गर्छौं। त्यस अर्थमा माओवादी केन्द्रमा रहेकाहरु पनि एमालेमा आउनुस्, माधव नेपालसँग गएकाहरु पनि पार्टीमा आउनुस् र अन्य साना वामपन्थी पार्टीहरु पनि एमालेमा आउनुस् भनेका छौं र आउने क्रम तिव्र छ। बलियो कम्युनिस्ट पार्टी निर्माण गर्नेमात्र नभई राष्ट्रिय शक्ति निर्माण गर्ने कुरामा पनि पार्टी प्रवेश कार्यक्रमले उल्लेख्य योगदान गरेको छ।

अर्को एउटा प्रसंग, तपाईं आफैंले नेपालमा दुई पार्टी अभ्यासको कुरा पनि केही समय अघि गर्नुभएको थियो। तपाईंले भनेको दुई दलीय प्रणाली कस्तो हो?  
हामी त्यही दिशामा जाँदैछौं। किनभने, आन्दोलनको समयमा जतिबेला राज्यविरुद्ध राजनीतिक दलहरु विद्रोहीका रुपमा रहन्छन्, त्यतिबेला जतिधेरै पार्टी भए पनि फरक पर्दैन। किनभने, उनीहरुको काम भनेको राज्यको विरोध गर्ने हो। त्यतिबेला एक्लै विरोध गरे पनि हुन्थ्यो। आन्दोलनमै योगदान गर्ने हो भन्ने अर्थ लाग्थ्यो। जब राष्ट्र निर्माणको पक्ष हुन्छ, त्यहाँ धेरै पार्टी आउनु भनेको समस्या हुनु हो। जतिधेरै पार्टी त्यतिधेरै अस्थिरता, नीतिगत विचलन, वैदेशिक चलखेल हुन्छ। यो नेपालको राजनीतिको यथार्थ हो। यसबाट राष्ट्रलाई मुक्ति दिएर विकास र समृद्धिको बाटोमा हिँड्ने हो भने राजनीतिक ध्रुवीकरण जरुरी छ। ०६२÷०६३ को आन्दोलनको चर्चा गर्दा हामी के पाउँछौं भने, दुवै क्रान्तिहरुले एउटाको ‘हेजोमोनी’ अन्त्य गरेर अर्कोको ‘हेजोमोनी’ कायम गरेको हुन्छ। जस्तै, युरोपेली क्रान्तिले पुँजीवादको वर्चश्व कायम ग¥यो, अक्टोबर समाजवादी क्रान्तिले सर्वहारा वर्गको वर्चश्व कायम गर्यो।

जनवादी क्रान्तिहरुले कम्युनिस्ट पार्टीको वर्चश्व कायम गरेको देखिन्छ। तर, नेपालमा राजनीतिक क्रान्तिले कुनै वर्गको वर्चश्व कायम गरेको छैन। त्यसले राजतन्त्रलाई अन्त्य ग¥यो। तर, कुन दिशामा अघि बढ्ने, कुन वर्गको वर्चश्व कायम गर्ने भन्ने कुरा चाहिँ चुनावी राजनीति वा प्रतिस्पर्धामा छाडिदियो। यस अर्थमा अबको चुनाव भनेकै हाम्रो संविधानको व्यवस्था अनुसार वर्गको वर्चश्व प्राप्तिको संघर्ष पनि हो। त्यस अर्थमा वर्गसंघर्षमा दुईवटा बाटाहरु मात्रै हामीसँग छन्। अर्थात् हामीले चुनावका माध्यमबाट बर्जुवा वर्गको प्रभुत्व कायम गर्छौँ कि श्रमजीवि वर्गको प्रभुत्व कायम गर्छौं भन्ने प्रश्न प्रधान बनेको छ।

यदि नेकपा एमालेले सफलता हासिल गर्छ, यो मुलुकमा श्रमजीवि वर्गको प्रभुत्व स्थापित हुन्छ र मुलुक समाजवादतर्फ अघि बढ्छ। त्यही ठाउँमा नेपाली कांग्रेसले विजय हासिल ग¥यो भने, बुर्जुवा वर्गको प्रभुत्व हासिल गर्छ। त्यसको अर्थ, मुलुकको राजनीति मुलतः दुईवटा वर्गमाथि लक्षित छ। प्रचण्ड र माधव नेपाल यतिबेला बुर्जुवा वर्गको सहयोगीका रुपमा रुपान्तरित हुनुभएको छ। त्यस अर्थमा हाम्रो उहाँहरुसँग असहमति हो।

तपाईंहरू प्रचण्ड र माधव नेपाललाई पनि आफ्नै धारतिर ल्याउन चाहनु हुन्छ? 
मूलरुपमा यही नै हो। यद्यपि कांग्रेस वृत्तको संघर्षमा स्वाभाविक रुपमा भविष्यमा गल्ती महसुस गरेपछि माओवादी केन्द्र लगायतका शक्तिहरुसँग सहकार्य हुनै सक्दैन भन्नेखालको कुरा होइन। तर, अहिलेको अवस्थामा जतिबेला उहाँहरु कम्युनिस्ट पार्टीको नेतृत्वको सरकारलाई विस्थापन गरेर कांग्रेस नेतृत्वको सरकारको सहयोगी बन्नुभएको छ, यतिबेला सहकार्य सम्भव छैन। जब उहाँहरु त्यो सहकार्यबाट अलग्गिनु हुन्छ, त्यो सहकार्यको सम्भावना हुन सक्छ।

हामी स्थानीय तह निर्वाचनको मुखमा छौं, अलिकति निर्वाचन केन्द्रित कुरा गरौं। तपाईंहरुले अहिले पनि एमाले नै पहिलो शक्ति भनेर दाबी गरिरहनुभएको छ। पार्टीको महासचिवको नाताले विश्लेषण गर्दा देशभरको माहोल कस्तो पाउनुभएको छ?
म त के भन्छु भने, पहिलो शक्ति होइन। पहिलो राष्ट्रिय शक्ति बन्ने दिशामा छौं। पहिलो पार्टी त अहिले पनि छौं। नेकपा एमालेलाई पहिलो पार्टी बनाउन धेरै मिहेनत गर्नुपर्छ जस्तो मलाई लाग्दैन। पहिलो पार्टी हुने भो भनेर रोक्न खोजेको त हो नि। एमालेविरुद्ध गठबन्धन किन भन्दा एमालेले चुनाव जित्ने भयो, रोक्नुपर्छ भनेर गरेको त हो। त्यसकारण नेकपा एमाले पहिलो शक्ति स्वतः हो। तर, राष्ट्रको नेतृत्व गर्ने शक्तिका रुपमा एमालेलाई स्थापित गर्ने यतिबेलाको राजनीतिको मुख्य प्रश्न हो। त्यो सम्भव छ भन्ने हाम्रो बुझाई हो।

एमाले विगतको भन्दा कमजोर भयो भनेर तर्क गर्ने विषयहरु विभिन्न निकालिरहेका छन्। पहिलो त नेकपा विभाजित भयो, त्यस अर्थमा नेकपाको एकताबाट प्राप्त भएको शक्ति एमालेसँग छैन भनेर तर्क गरेका छन्। अर्को, नेकपा एमालेबाट माधव नेपाल समूह बाहिरियो, त्यसअर्थमा एमाले कमजोर भयो भन्ने तर्क गर्ने गरेका छन्।

म के भन्छु भने, पहिलो कुरा एमालेको विभाजन वैधानिक ढंगले भएको विभाजन होइन, कानुनी दुरुपयोग हो। २० प्रतिशतमा अध्यादेश जारी गरेर नेकपा एमालेलाई प्राविधिकरुपमा विभाजन गर्ने र त्यसपछि अध्यादेश फिर्ता लिने। एउटा कुनै उद्देश्यका लागि अध्यादेश जारी र फिर्ता लिने भन्ने कुरा कानुनी सिद्धान्तको हिसाबले गलत मानिन्छ। त्यस्तो तरिका एमालेको विभाजनमा प्रयोग गरियो।

संसदीय दलमार्फत एमाले विभाजन भएको होइन। केन्द्रीय कमिटीमार्फत भएको हो। जनप्रतिनिधिमार्फत विभाजन भएको भए त्यसको असर हुन्थ्यो। केन्द्रीय कमिटीमार्फत विभाजन भएको हुनाले केन्द्रीय कमिटीको बहुमत जता हुन्छ कार्यकर्ताको समर्थन त्यतै हुन्छ। किनभने, हामी लेनिनवादी संगठनमा विश्वास गर्छौं।
यसअर्थमा जति असर पर्नुपथ्र्यो, परेको छैन। जतिबेला स्थानीय तहमा सनाखत गर्ने अवसर मिल्यो, त्यतिबेला १० प्रतिशतभन्दा कम मात्र सहभागी भए। त्यसमध्येको ठूलो हिस्सा फर्किसकेको छ। स्थानीय तहमा जाँदा विभाजनको असर १० प्रतिशतभन्दा पनि कम देखियो। पछि हामी पार्टी महाधिवेशनमा जाँदा, नवीकरण गर्ने प्रक्रियामा अर्के अनुभव गर्यौँ। पार्टी सदस्यता नवीकरण नगर्नेको संख्या ४ प्रतिशतको हाराहारीमा आयो।

चार प्रतिशतको हाराहारीमा नवीकरण नगर्नेजति सबै पार्टीबाट अलग भएका हुन् भन्न मिल्दैन। कोही वैदेशिक रोजगारीमा गए होला, कोही बिरामी भए होलान्। त्यसो हुँदा असहमति व्यक्त गरेर नवीकरण नगर्नेको संख्या भनेको दुई/तीन प्रतिशत मात्रै होला। यही कुरा मतदाताको तहमा जाँदा अझ कम भएर जान्छ। मतदाताको मनोविज्ञान कसले चुनाव जित्छ भन्नेतर्फ हुन्छ। हार्नेलाई भोट हाल्न कसैले चाहँदैन।

विभाजनको असर माधव नेपाल पक्षले नगन्य मात्रामा पुर्याउँछ। गठबन्धनका कारणले एकाध ठाउँमा पर्ने असर एउटा पक्ष हो। आमरुपमा भन्ने हो भने, माधव नेपालका कारणले हामीलाई असर पर्ने अवस्था छैन।

अर्कोतर्फ, माधव नेपालले जति क्षति विभाजनको माध्यमबाट पुर्याउनुभयो, त्यो भन्दा धेरै लाभ त हामीले माओवादी केन्द्रबाट नै प्राप्त गरेका छौं। माओवादी केन्द्रबाट हाम्रो केन्द्रीय कमिटीमा झण्डै ३० प्रतिशतभन्दा बढी साथीहरु हुनुहुन्छ। स्थानीय तहमा पनि त्यही संख्यामा माओवादी केन्द्रबाट साथीहरु प्रवेश गर्नुभएको छ वा नेकपाको निरन्तरताको रुपमा रहनुभएको छ। यो हिसाबले हेर्दा पहिलेको तुलनामा हामी प्लस अवस्थामा छौं।

यो बीचको अवधिमा पार्टी प्रवेशको जुन श्रृङ्खला देखिएको छ, त्यसमध्येको ८० प्रतिशत प्रवेश एमाले पक्षमा छ। २० प्रतिशत मात्र अन्य पार्टीका पक्षमा गएको देखिन्छ। त्यस अर्थमा पनि २० प्रतिशत एमालेका विपक्षमा नै गए भने पनि ६० प्रतिशत मान्छे एमालेकै पक्षमा प्लस देखिन्छ। अर्कोपक्ष, ३६ लाखको हाराहारीमा नयाँ मतदाताहरु हुनुहुन्छ, ती मतदाताको झुकाव नेकपा एमालेका पक्षमा बढ्दै गएको छ। हामीले सर्वेको रिपोर्ट अध्ययन गरेका थियौं। त्यहाँ करिब ६० प्रतिशत मतदाताको झुकाव एमालेप्रति छ। यो हिसाबले हेर्दा अहिलेको चुनाव स्वभाविकरुपमा एमालेको पक्षमा छ भन्ने देखिन्छ।

तपाईंहरू आफैंले सार्वजनिक कार्यक्रममा भन्नुभएजस्तै माधव नेपालले लानुभएको ९ प्रतिशतले त स्थानीय तहमा धक्का होला नि?
तल पार्टी सदस्यमा जाँदा त ९ प्रतिशत ४ प्रतिशतमा झरिहाल्यो। ४ पनि यथार्थतामा उहाँहरुको होइन। कतिपय सम्पर्कमा नआएका र वैदेशिक रोजगारीमा गएकाहरु छन्। आम मतदाताको तहमा त्यो हदसम्मको असर पर्छजस्तो देखिएको छैन। यद्यपि केही न केही असर त पर्छ। त्यो असरभन्दा ज्यादा जनमतको बचत माओवादी केन्द्रबाट प्राप्त गरिसकेका छौं।

अर्को, तराई मधेसमा एमालेप्रति जुन प्रकारको आकर्षण देखा परेको छ, त्यो अत्यन्तै ठूलो छ। त्यो वामपन्थी मात्र नभई गैरवामपन्थीको समेत आकर्षण हो। त्यसअर्थमा, अहिलेको चुनाव यथार्थमा सत्ता गठबन्धनले नचाहेको र हामीले खोजेको हो। त्यसकारण परिणाम के आउँछ भन्नेकुरा त यही मनोविज्ञानले पनि प्रष्ट पारिहाल्छ।

यहाँहरु आफैं पनि गठबन्धन त गर्दैनौं, एक्लै निर्वाचनमा जान्छौं भन्नुहुन्थ्यो, तर राप्रपा नेपाल, परिवार दल लगायतसँग गठबन्धन गर्नुभयो नि, किन? 
हैन। हामीसँग जोडिएका दलहरुलाई गठबन्धन भनिँदैन। राष्ट्रिय शक्तिका रुपमा उहाँहरुको साथ लिएको हो। कुनै एजेण्डागत सम्झौता गरेका छैनौँ। वास्तवमा उहाँहरुले स्थानीय तहमा तालमेल भएको बखतमा चिन्ह प्रयोग गर्न तयार छौं भन्नुभयो। त्यसलाई हामीले सकारात्मक पक्षका रुपमा ग्रहण गरेका छौं। 

तर, स्थानीय तहमा असजिलो पर्ने भएपछि एमालेले साना दलहरुको साथ खोजेको भनिन्छ नि?
त्यस्तो होइन। जहाँ गठबन्धन बलियोसँग कसिएको छ, त्यहाँ हामीले कसैसँग तालमेल नै गरेका छैनौं। नत्र त्यहाँ पनि गथ्र्याैं होला नि त। गठबन्धन भएको ठाउँ काठमाडौं महानगरमा हामीले अरु कसैसँग तालमेल गरेका छैनौं। त्यस अर्थमा गठबन्धन भएका ठाउँमा तालमेल गरेको भए तपाईंले भनेको कुरा ठीक हुन्थ्यो। राष्ट्रिय शक्ति निर्माण गर्नका लागि अन्य सकारात्मक शक्तिहरुको योगदानको खोजी गर्ने कुरा स्वाभाविक हो।

अहिले हामीले तीनवटा प्रवृत्तिलाई साथ लिन खोजेका हौं। एउटा, विखण्डनको नारा छाडेर मूल प्रवाहमा आउनेहरुलाई हामीले सद्भाव राख्नुपर्छ। सिके राउतहरु मूलधारको राजनीतिमा आउने कुरालाई सकारात्मक रुपमा लिनुपर्छ भन्ने मान्यता राखेका छौं। यद्यपि उहाँहरुसँग हाम्रो कुनै चुनावी तालमेल छैन। तर, हामी त्यो प्रवृत्तिलाई स्वीकार्छौं।

दोस्रो, हिंसाबाट शान्तिको प्रक्रियामा आउने विप्लव समूहप्रति पनि हामी सकारात्मक छौं। यद्यपि हाम्रो घोषितरुपमा चुनावी तालमेलको कुरा भएको छैन।
तेस्रो, गणतन्त्रको एजेण्डामा आउनुभएका राजतन्त्रवादीहरुलाई पनि हामी स्वागत गर्छौं। कमल थापाले राजतन्त्रको एजेण्डा छाड्नुभयो, उहाँलाई हामीले स्वागत गरेका छौं। यी तीनवटा प्रवृत्ति हाम्रो मिहेनतको परिणाम हो, जसलाई हामीले राष्ट्रिय राजनीतिमा सकारात्मक चरित्रको रुपमा लिनुपथ्र्यो, हामीले लिएका छौं।

कमल थापासँगको तालमेल पनि राष्ट्रिय शक्ति निर्माणमा सहयोगी हुन्छ? 
उहाँहरुले राजतन्त्रको एजेण्डा छाड्नुभयो त्यसलाई हामीले सम्बोधन गरेका मात्र हौं। किनभने, नेपालमा संविधानवाद स्थापित गर्नका लागि त्यो गर्नु आवश्यक थियो। जो गलत एजेण्डा छाडेर सही एजेण्डामा आउँछ, त्यसलाई हामीले प्रोत्साहित र संरक्षण गर्नुपर्छ, भन्ने हाम्रो पार्टीको नीति हो। जसले हामीलाई राष्ट्रको जिम्मेवार शक्तिको रुपमा स्थापित गर्छ।

०७४ को निर्वाचनमा एमालेले दुईवटा महानगर र ७ वटा उपमहानगरमा जित हासिल गरेको थियो। पछि उपचुनावमा धरान उपमहानगर गुम्यो र एमाले ६ उपमहानगरमा सीमित भयो। अहिलेको निर्वाचनमा यहाँहरुको आकलन के हो?
महानगरमा नै हाम्रो चमत्कार हुन्छ। अहिलेलाई म यतिमात्र भन्छु। संख्या तोक्न नलगाउनुस्।

त्यसोभए, प्रतिशतमा भन्नुस न त?
यसपल्ट हामीले हार खाने ठाउँ कम देखेका छौं। त्यति मात्र भन्छु अहिले। पहिला हामीले २ वटा महानगरमा मात्र जितेका थियौं, अहिले हार्ने ठाउँ देखेका छैनौं।

तर, महानगर र उपहानगरपालिकामा त सत्ता गठबन्धन एक भएर सहमतिका साथ अघि बढेको छ नि?
त्यही भएर त गठबन्धनको कुनै उद्देश्य, लक्ष्य, गन्तव्य छैन। त्यो स्वार्थमा आधारित छ भन्ने जनताले आफैं महसुस गरिरहेका छन्। त्यो गठबन्धन सफल भयो भने नेपाल कहिल्यै अघि बढ्न सक्दैन। जस्तो– हामी समावेशिताको कुरा गर्छौं, गठबन्धनले समावेशितालाई सबैभन्दा बढी क्षति पु¥याएको छ।

कसरी?
आज महिला सहभागिता के कारणले खुम्चिने अवस्थामा पुगेको छ? गठबन्धनले जित्यो भने महिला सहभागिता घट्छ। महिला सहभागितालाई कायम राख्ने मात्र भन्दा पनि संख्या त बढाउन पर्यो। एमालेले जित्यो भने महिला सहभागिता सुनिश्चित हुन्छ, गठबन्धनले जित्यो भने महिला सहभागिता घट्छ। भनेपछि, गठबन्धनको पक्षमा महिला जाँदैनन्।

अलिकति घोषणापत्रको कुरा गरौं, नेपाली कांग्रेसले तपाईंहरुको घोषणापत्रमा आरोप लगाउँदै एमालेको सरकार बनेको ४२ महिना खेर गयो, देश नै प्रतिगमनतर्फ गयो भनेर भनेको छ नि? 
त्यो त स्वार्थमा आधारित कुरा थियो भन्ने प्रमाणित भइसक्यो। आज उहाँहरुले जे कुरालाई विरोध गर्दै हुनुहुन्छ, ती कुराबाट आफैं पछि हट्नुभएको छ। जस्तो कि नेकपा कालमा भएका अन्तसंघर्षका कुराहरु छन्।

पहिलो कुरा त एकताका पक्षमा केपी ओली हुनुहुन्न भन्नुभयो। अहिले नेकपाको विरासत बोक्ने पार्टी एमालेमात्र भयो। न प्रचण्डले विरासत बोक्नुभयो, न माधव नेपालले नै। उहाँहरुको पार्टीभित्र त पूर्वनेताहरु मात्र छन्। प्रचण्डको पार्टीभित्र पूर्वमाओवादी मात्र र माधव नेपालको पार्टीमा पूर्वएमाले मात्र छन्। तर, केपी ओलीको पार्टीमा पूर्वएमाले र पूर्वमाओवादी दुवै छन्।

अर्कोतिर, उहाँहरुले अध्यादेशको कुरा उठाउनुभयो। आफैं अझ ज्यादा अध्यादेश ल्याएर एमाले टुक्र्याउनुभयो। यसमा पनि उहाँहरु गलत सावित हुनुभयो।
नेकपा कालमा उहाँहरुले एमसीसी गलत भन्नुभयो, आफ्नो कालमा आफैं पास गर्नुभयो। एक व्यक्ति, एक पद भन्नुभयो, अहिले उहाँहरुको पार्टीमा नै दुवैजना नेताले दुईवटा मुख्य पद लिएर बस्नुभएको छ। त्यो कुरा पनि गलत सावित भयो।

अर्को कुरा, चुनावमा जाने कुरा प्रतिगमन भन्नुभयो। प्रचण्ड आफैंले वैशाखमा संसदीय निर्वाचन गर्ने कुराको प्रस्ताव राख्नुभयो। माधव नेपालले पनि संसदमा नारा लगाइरहने हो भने विघटन गर्नुपर्छ भन्नुभयो। विघटन गर्ने कुरा त राजनीतिक एजेण्डा रहेछ नि। केपी ओलीले विघटन गर्दा विरोध गर्ने, आफैंले विघटन गर्न खोज्दा त हुँदो रहेछ नि। तर, कुनै पनि एजेण्डामा उहाँहरु अडिन सक्नुभएन। त्यसपछि विरोध गर्नुको के अर्थ छ र? उहाँहरुको स्वार्थ आधारित तर्क मात्र हो। यो नेपालको लोकतान्त्रिक प्रणालीको सुव्यवस्थापनका लागि अघि सारिएको तर्क होइन भन्ने पुष्टि हुन्छ।

घोषणापत्रमा रेल, सुरुङ मार्गका ठूला–ठूला योजना मात्र अघि सारियो, कामचाहिँ भएन भन्ने टिप्पणी छ नि?
होइन। म के भन्छुभन्दा कमरेड केपी ओली प्रधानमन्त्री हुँदा पहिलोपटक जनताका सपनालाई जागृत गर्ने कुरा गर्नुभयो। जहाँ रेल, पानीजहाज, सुरुङ र पानीजहाजका कुरा भए। यसलाई मजाकको विषय पनि बनाइयो।

तर, अहिले सबै चिजहरु राष्ट्रिय योजनामा परे। रेल नेपालमा सम्भव छैन भनियो, तर आज नेपालको ठूलो आयोजनाको रुपमा बनेको छ। भारतीय रेललाई नेपालको नाकामा प्रवेश गराउने प्रक्रियामा शेरबहादुरजीले दिल्ली गएर उद्घाटन नै गर्नुभयो। दिल्लीमा पुगेर उद्घाटन गर्ने रेल त ठूलै रेल होला नि? आखिर त्यो सुरु भयो।

अर्कोतिर, पूर्व–पश्चिम रेलमार्ग बन्दै छ त। चिनियाँ राष्ट्रपति आउँदा पनि रेलकै कुरा, भारतीय राष्ट्रपति आउँदा पनि रेलकै कुरा चलेको छ। विस्तार गर्ने कुरा त चलेकै छ नि।

 

पानीजहाजको कुरा, नेपालकै नदीहरुमा जेट चल्न थालेका छन्। हामीले अन्य अध्ययनको प्रक्रिया अघि बढाएका छौं। हामीले यो बीचको अवधिमा नेपालको सार्वभौमिकता भनेको जमिनमात्र होइन, स्पेस पनि हो। समुद्र पनि हो भन्यौं र त्यो चिजलाई स्थापित पनि गरेका छौं।

त्यसकारण, म के भन्छु भने त्यो विगतको गफमात्र थिएन, भिजन थियो। त्यो भिजनलाई राष्ट्रिय योजना आयोगले योजनामा हालिसकेको छ।

सुरुङ मार्गको कुरा गर्नुहुन्छ भने जापानकै सहयोगमा सुरुङ बन्न थालिसकेको छ। भेरी–बबई डाइभर्सनको टनेल निर्माणको काम अघि बढेको छ। अहिले सुनकोशी–मरिनको टनेल निर्माणको काम अघि बढेको छ। हामीले भन्यौँ मात्र होइन, गर्दैछौं। देश बनाउनेहरु भन्छन् र गर्छन्। नबनाउनेहरुचाहिँ भनेर सुत्छन्, कुरा त्यही हो। अरु सुत्न चाहनुहुन्छ, हामी गर्न चाहन्छौं।

अबको निर्वाचनपछि एमालेको हैसियत के हुन्छ?
अबको निर्वाचनपछि एमाले एक्लै नेतृत्व गर्ने अवस्थामा पुग्छ। गठबन्धन गरेर सरकार चलाउने अहिलेको जस्तो होइन। नेतृत्व त कमजोर शक्तिले पनि गरेको देखियो, तर हाम्रो त्यस्तो होइन। सुरक्षित बहुमतका साथ राष्ट्रको नेतृत्व गर्नेगरी अघि बढेका छौं।

स्थानीय तह निर्वाचनको कुरा गर्दा हामी गठबन्धनका बाबजुद् ५० प्रतिशतभन्दा बढी स्थानमा विजय हासिल गर्छौं। राष्ट्रिय चुनावको कुरा गर्दा, हामी सहज बहुमत ल्याएर चुनाव जित्ने तयारीमा छौं।

त्यो सहज जित निकाल्ने आधार चाहिँ के के हुन्?
हामीले गरेको काम नै हो। एमालेको राजनीतिमा ४ वटा एजेण्डा जनताको बीचमा चर्चा र खोजीका विषय बनेका छन्।

पहिलो एजेण्डा– राष्ट्रिय स्वाधीनता, स्वाभिमान र राष्ट्रिय हितमा छ, जसमा नेकपा एमाले हरेकबेलामा सक्षम देखिएको छ। नाकाबन्दीको सामना गर्ने कुराको नेतृत्वकर्ता होस् वा नेपालको भूमि समेटेर नक्सा सार्वजनिक गर्ने कुरा होस् वा नसोचिएका थुप्रै प्रश्नहरु सुल्झाउने कुरा होस्। जसरी भारतसँगकै मामिलामा पुराना सन्धीहरु पुनरावलोकन गर्ने विषय छ, केपी ओलीकै समयमा हामीले विज्ञ समूह बनाएर अध्ययन गरेका छौं।

भारतसँग हामीले विकल्प मागेका थियौं। वार्ता भएको थियो। भारतसँग पेट्रोलियम पदार्थको पाइपलाइनको कुरा थियो। त्यो पनि भयो। अन्तरदेशीय ट्रान्समिसन लाइन सम्झौता गर्ने र खरिद गर्ने कुरा ग¥यौं। नेपालको सीमावर्ती क्षेत्रको डुबानको समस्या अध्ययन गर्ने कुरा थियो। हामीले अध्ययनको काम थाल्यौं।

त्यसकारण भारतसँग भएका धेरै समस्याहरु हाम्रै पालामा सुल्झाउने प्रयास भयो। त्यस अर्थमा राष्ट्रिय हितको प्रश्नमा नेकपा एमाले धेरै सक्षम रहेछ भन्ने कुरा हामीले बहन गरेका छौं।

दोस्रो विषय, विकास र समृद्धिको हो। नेपालका राजनीतिक दलहरु लामो समयसम्म राज्यका विद्रोहीजस्ता भए। कहिले शाहीका विरुद्धमा, कहिले पञ्चायतका विरुद्धमा, कहिले राजतन्त्रका विरुद्धमा। वास्तवमा राष्ट्र निर्माणको काम नेपालमा राजनीतिक दलका माध्यमबाट हुन सकेको थिएन।

संविधान बनिसकेपछि केपी ओलीको नेतृत्वमा हामीले राष्ट्र समृद्धिको योजना ल्याउनपर्यो भन्यौं। आज देशका विभिन्न भागहरुमा ठूला ठूला परियोजना अघि बढेका छन्। वास्तवमा नेपालमा विकास र समृद्धिको नेतृत्व गर्ने पार्टीको नेताका रुपमा केपी ओली नै हुनुभयो।

अर्को प्रसंग, एकातिर देशमा आर्थिक संकट बढेको छ, अर्कोतर्फ निर्वाचन मुखमा छ। एमाले महासचिवको रुपमा यहाँले अहिलेको अर्थतन्त्रलाई कसरी हेर्नुभएको छ?
पहिलो कुरा त, अर्थतन्त्रको ज्ञान नभएको व्यक्तिलाई राजश्वको सचिव बनाइयो। राजस्वका कर्मचारीहरुमार्फत भन्सार नाकामा सेटिङ भयो। अस्वाभाविक रुपमा आयात भएन।

विदेशमा रहेका नेपालीहरुको रेमिट्यान्स विदेशमै भएका हुन्डी कारोबारीमार्फत ब्यापारीको हातमा पुग्यो, रेमिट्यान्स भित्रिएन। यस कारणले गर्दा नेपालको अर्थतन्त्रमा प्रेसर प¥यो। हामीले सरकार छाड्दा ११ महिनाको आयात धान्नेगरी छाडेका थियौं। अहिले ६ महिनाको आयात धान्न नसक्ने अवस्थामा पुगेको छ। नेपालमा नेपाली मुद्रा नै गायब छ।

नेपाली मुद्रा अरु कुनै कारणले गायब भएको होइन, कालो धनलाई सेतो बनाउने अभिप्रायले भएको हो। वा अस्वाभाविक आयातको परिणाम हो। यी कारणले आज नेपालमा पैसा छैन। यो चिज यही सरकारको कारण भएको हो। यदि हामी सरकारमा रहेको भए यो स्थिति आउने थिएन। मुल्यवृद्धि हामीले ४ प्रतिशतभन्दा तलको अवस्थामा राखेका थियौं। अहिले ७ प्रतिशतभन्दा बढी भएको छ। यो यही सरकारको कारण भएको हो। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .