अन्तर्वार्ता


छड्के तिलहरी विकृति होइन, महिलाले दर खाँदा विरोध नगरौँ : वीणा पौडेल (अन्तर्वार्ता)

छड्के तिलहरी विकृति होइन, महिलाले दर खाँदा विरोध नगरौँ : वीणा पौडेल (अन्तर्वार्ता)

सुभद्रा ढकाल
साउन २८ , काठमाडौँ

एकाध दशक अघिसम्म महिलाले छोटो पोतेसँगै तिलहरी र नौगेडी घाँटीमा झुण्ड्याउँथे। हिजोआज बिहे–बटुलो वा तीजलगायत चाडबाडमा महिलाले लामो पोतेसहित छड्के तिलहरी भिर्ने प्रचलन बढ्दै गएको छ। 

यो पहिरनलाई कतिपय मानिसले विकृतिका रुपमा पनि चित्रण गर्ने गरेका छन्। के छड्के तिलहरी विकृति नै हो त? यसको प्रचलन कहिलेदेखि भयो? संस्कृतिविदसँग यसको ऐतिहासिकताबारे ठोस जवाफ छैन।

त्रिभुवन विश्वविद्यालय संस्कृति विभागकी पूर्वप्रमुख प्रा.डा. वीणा पौडेल छड्के तिलहरीको प्रचलन कहिलेदेखि सुरु भयो भन्न नसकिने बताउँछिन्। शिव भगवानकी पत्नी पार्वतीको मूर्तिमा पनि छड्के तिहरी नदेखिएको उनी बताउँछिन्। 

तर, छड्के तिलहरीको प्रचलनलाई विकृतिका रुपमा नभएर संस्कृतिका रुपमा हेरिनुपर्ने बताउँदै उनी भन्छिन्, ‘छड्के तिलहरी विकृति होइन, संस्कृति हो। यो देखाउनका लागि मात्र लगाइन्छ भन्ने पनि छैन।  सक्नेले सुनको, नसक्नेले नक्कली लगाए पनि हुन्छ।’

पार्टी प्यालेसमा दर खाने प्रचलनलाई सही नै बताउने पौडेल तीजका गीतहरुमा भने पुरुषहरुलाई देखाउनु विकृति भएको बताउँछिन्।  

प्रस्तुत छ नेपालखबरले संस्कृतिविद् पौडेलसँग छड्के तिलहरी एवं तीज पर्वमा केन्द्रित रहेर गरेको कुराकानीको सम्पादित अंशः

नेपालमा छड्के तिलहरी लगाउने चलनको सुरुआत कहिलेदेखि भयो होला? 
मलाई यसको सुरुवातचाहिँ ठ्याक्कै थाहा भएन। मैले मूर्तिकलामा पीएचडी गरेकी हुँ। त्यसक्रममा मैले हजारौँ मूर्तिहरुको अध्ययन गरेकी छु। हाम्रा प्राचीन मूर्तिहरुमा छड्के तिलहरी लगाएको कतै पनि देखेकी छैन। नेपालमा पाँचौं शताब्दीदेखिका पार्वतीको मूर्तिमा छड्के तिलहरी लगाएको पाइँदैन। पौवा पेन्टिङहरुमा साधारण तिलहरी लगाइएको भने छ। यसकारण यसको सुरुवात यही समयदेखि भयो भन्न सक्ने अवस्था छैन। 

तर, हाम्रो हिन्दु संस्कारको विवाहमा छड्के तिलहरी दुलहीलाई दिनैपर्ने हुन्छ। म पनि घरमा अथवा नजिका मान्छेको विवाहमा प्रायः छड्के तिलहरी लगाउँछु। यसको चलन कहिले देखि चलिआएको हो यकिन थाहा त छैन तर प्रायः बाहुन, क्षेत्री, ठकुरी समाजमा लगनको पोते भनेर साधारण सिन्दुरे रंगको रातो पोतेसँगै छड्के तिलहरी लगाउने चलन छ। 

तर, छड्के तिलहरीलाई धेरैले महंगो एवं विकृतिका रुपमा व्याख्या गरेका छन् नि? 
छड्के तिलहरीको परम्परा बाहुन, क्षेत्री, ठकुरी सबै जातिमा छ। हाम्रो परम्परा र मौलिकपनभित्र यो पनि पर्दछ। यो तिलहरी धेरै ठूलो देखिए पनि यसमा सुन निकै कम लाग्छ। छड्के तिलहरी आधा तोलादेखि एक तोलासम्मको निकै ठूलो बन्छ। यो लगाउँदा मलाई विकृति फैलाएको जस्तो लाग्दैन। 

कसैकसैले हिराको टप पनि लगाएका हुन्छन्। हिराको टप कम्तीमा एक लाखदेखि लिएर दसौँ लाखसम्म पनि पर्छ। मूल्यको कुरा गर्दा एउटा हिराको टप लगाउन कम्तीमा दुई लाख पर्छ। मान्छेले कुन चीजलाई कति पैसा पर्छ भनेर अनुमान गर्न नसकेकाले छड्के तिलहरी मंहगो भयो भनेर धेरैले भनेको सुनेकी छु। 

नेपालको अहिलेको गहनाको प्रसंगको कुरा गर्दा छड्के तिलहरीसहित धेरै गहनाहरु हाम्रो पहाड र मधेशमा लगाइने गहना हो। त्यसकारण छड्के तिलहरी विकृति होइन, संस्कृति हो। यो देखाउनका लागि मात्र लगाइन्छ भन्ने पनि छैन।  सक्नेले सुनको, नसक्नेले नक्कली झन राम्रा हुन्छन, जसले पनि लगाउन सकिन्छ।

केटाहरुले लगाउने ढाकामा नेपालीपन छल्किएजस्तै छड्के तिलहरी महिलाको पहिचान हो, नेपालीपन हो। कार्यक्रमको सिलसिलामा अमेरिकाको धेरै ठाउँमा जाँदा नेपालीहरुले छड्के तिलहरी लगाएको देखेँ। यो हाम्रो पहिचान हो, संस्कृति हो, मौलिकता हो। 

तपाईंको विचारमा छड्के तिलहरी लगाउने प्रचलनलाई संरक्षण गर्नुपर्ने हो? 
हाम्रो मौलिकपन के हो? हाम्रो मौलिक गहना के हो? अनुसन्धान गर्न लगाउनुपर्छ। अध्ययन, अनुसन्धानका लागि एक पैसा पनि खर्च नगर्ने हाम्रो प्रवृत्ति छ। 

सबै कुरा अध्ययन गरेर मात्रै थाहा हुन्छ। विदेशमा जाँदा जसरी शिरमा टोपी लगाएर हामी अपनत्व महसुस गर्छौँ, त्यसैगरी छड्के तिलहरी लगाउँदा पनि हाम्रो पहिचान रहन्छ। 

हामीकहाँ कुनैकुनै जातिमा तिलहरी लगाउने चलन विवाहसँग जोडिएको छ। त्यसकारण विवाहपछि मात्रै लगाउने भए। तर, नेपालमा कति जातिमा चाहिँ पोते विवाहभन्दा पनि अगाडि लगाउने चलन चलेको छ। 

विवाहपछि लगाउने गहना विवाहअघि लगाउने गहना अथवा त्यसमा पोते नै हाल्नुपर्छ भन्ने छैन। विभिन्न किसिमका पत्थरहरु पाइन्छ, विवाहअघि पोते लगाउन नहुनेहरुले ती पत्थर लगाउने चलन छ।

छड्के तिलहरी महंगो भयो भन्ने सुनिन्छ। छड्के तिलहरीमा सुनै लगाउनुपर्छ भन्ने छैन। छड्के तिलहरी हामीले जेको पनि लगाउन सक्छौँ। चाँदीको पनि बनाउन सकिन्छ तामाको पनि बनाउन सकिन्छ, मलवा लाउन सकिन्छ, नक्कली बनाउन सकिन्छ।

अर्थको कुरा एकातिर छ भने यो गहनाको मौलिकपन अर्कोतिर छ। फेसन शोहरुमा पनि यसलाई प्रोत्साहन गर्न सकिन्छ। यसलाई निरुत्साहित गर्नुहुँदैन छड्के तिलहरीबाट केही पनि विकृति फैलिएको छैन। 

यसरी छड्के तिलहरी लगाउने प्रचलन आयातीत हो कि हाम्रै संस्कृति हो? 
यसलाई आयतीत भन्न मिल्दैन। हाम्रो आफ्नै हो। यसलाई हामीले निरन्तरता दिँदै जानुपर्छ। हामीले यसलाई जोगानुपर्छ। दुइटा चिजलाई जहिले पनि स्वीकार्नुपर्छः पहिलो आफ्नो जस्तो हैसियत छ, त्यस्तै लगाउनुपर्छ। नहुनेले नक्कली तिलहरी लगाए पनि हुन्छ सक्कली सुनै लगाउनुपर्छ भन्ने बाध्यता छैन।

दोस्रो कुरा, हामीले आफ्नै मौलिकपन र संस्कृति बिर्सनुहुँदैन, सबै मिलेर संरक्षण गर्नुपर्छ। 

तीज आउनुभन्दा एक महिना अगाडिदेखि पार्टी प्यालेसमा दर खाने चलनलाई चाहिँ तपाई कसरी हेर्नुहुन्छ? 
धार्मिक हिसाबले हेरेर शास्त्रको आधारमा भन्ने हो भने पार्वतीले शिवलाई पाऊँ भनेर दरको नाममा एक अञ्जुली पानी मात्रै खाएको हो। नेपालमा हाम्रो जस्तो समाजमा आज आएर अहिले अवस्था अलि फरक छ। केही महिलाहरु कमाउने भएका छन्। काठमाडौँ उपत्यकाभित्र पनि, पहाडमा पनि। 

महिलाले विवाह गरेर गइसकेपछि स्वच्छन्द रुपले, आनन्दले गीत गाउन अथवा केही मिठो पकवान खान माइती नै जानुपर्थ्यो। घरमा उसलाई कहिल्यै पनि परिवारले सम्मानपूर्वक भोज दिँदैनथे। त्यसकारण उनीहरु स्वतन्त्रताका लागि पनि माइती नै जानुपथ्र्यो। तीजसँग महिलाको स्वतन्त्रता पनि जोडिएको छ। यही चाडमा दर पनि जोडियो।

पहिला पहिला महिलाहरु बाहिर जाँदैनथे। अफिस थिएन, संघसंस्था थिएन, उनीहरुको सामाजिक जीवन थिएन। एउटा घर थियो, माइती मात्रै थियो। माइती मात्रै हुँदा एक दिन अघिल्लो दिनमात्रै दर खान्थे, ठीक थियो। अहिले एकदिनले मात्रै भ्याउने कुरा भएन । त्यसकारण म यो पनि विकृति भयो भन्दिनँ। 

एउटा संस्थाले लाखौँ रुपैयाँको अरु काम गरेको हुन्छ। एकदिन महिलाका लागि खर्च गर्दा के भयो त? हिजोसम्म घुम्टोभित्र बसेकी स्वास्नीमान्छे आज बाहिर निस्केका छन् त्यो नै ठूलो कुरा हो। पार्टी प्यालेसमा गएर खाने मात्रै होइन कि जस्तो एचआईभी एड्स, कोरोना लगाायत अन्य रोगको बारेमा पनि भन्न सकिन्छ। 

कसरी पैसा कमाउन सकिन्छ, कसरी जोगाउन सकिन्छ, कहाँ पैसा लगाउँदा सफल भइन्छ, वैदेशिक रोजगारमा जान के गर्नुपर्छ, सामान्य किसिमको जानकारी पनि दिन सकिन्छ।  पचास जना मान्छे एक ठाउँमा भेला भएर खाए भन्दैमा त्यसलाई विकृति भन्न मिल्छ र? रक्सी खाएर त्यहाँ ढल्न भएन। 

उसको आर्थिक अवस्था के हो, त्यसभन्दा बढी खर्च गर्न भएन। देखासिकी गरेर विकृति ल्याउने कुरा काम गर्नुहुँदैन। आफ्नो हैसियत विचार गर्न सक्नुपर्छ।

केटाहरुले रक्सीजाँड खाए भने केटीहरुले पनि त्यही कुरा गर्न खोज्नु विकृति हो। खराब चिज जहिले पनि खराब नै हुन्छ। तर, महिना दिन दर खाए भनेर त्यो कुरामा विरोध गर्नु गलत हो। स्वाथ्य र समयले दिन्छ भने त्यो खराब कुरा होइन। यो त महिलाले पाएको एउटा अवसर हो। पहिला एकदिन खाने ठाउँमा अहिले पाँच दिन खान थाले भने त्यो विकृति हुन्छ र?

दर भनेको धर्मसँग मात्रै जोडिएको छैन। अहिले तीजको अघिल्लो दिन खाने भनेको त साबिक खाना हो। अगाडिदेखि खाने भनेको चाहिँ दरको नाममा मनोरन्जन हो। यो स्वास्नी मान्छेले पाएको अवसर हो। 

हरेक कुराको लक्ष्मण रेखा हुन्छ त्यो रेखा सबैले खिच्न सक्नुपर्छ। मेरो लक्ष्मण रेखा के हो, मेरो दायरा के हो भन्ने कुरा आफैँले विचार गर्न सक्नुपर्छ। कसैले जिन्दगीभर दुःख गरेर विद्या आर्जन गरेको छ भने उसले आफ्नो इच्छाअनुसार काम गर्न पाउनुपर्छ। 

पछिल्लो समयमा तीज गीतमा चाहिँ विकृति फैलिएको जस्तो लाग्छ कि लाग्दैन ?
पछिल्लो समयमा तीज गीतमा धेरै विकृति फैलिएको छ। तीजको मौलिक गीत के हो त? हिजो पेटभरि सासूले खान दिँदैनथे, दिनभरि काम लगाउँथे। आज त्यो परिवर्तन भइसक्यो। सासूलाई दुःख दिने बुहारी पनि थुप्रै छन्। अब खान नपाएको गीत आउँदैन। अब गीत कस्तो आउँछ त? राजनीतिक परिवर्तन र रोजगारको गीत आउँछ। त्यसकारण समाजमा जुन कुरो भइराखेको छ, त्यहीअनुसार परिवर्तन हुन्छ, हुँदै जानु पनि पर्छ। 

तर, तीज गीतमा केटाहरुलाई समावेश गरेर रत्यौली पारामा गाउनुचाहिँ विकृति हो। रत्यौली भनेको हाम्रो अर्कै गीत छ। त्यस्तैखालका शब्दहरु प्रयोग गरिन्छन्, हाउभाउ गरिन्छन् केटीहरु पनि हुन्छन् । तर, तीज भनेको तीज हो, शिवसँग सम्बन्धित भजन हुनसक्छ। अथवा आफ्नो गाउँघरको बारेमा कुरा हुन सक्छ। यसमा चाहिँ महिलाहरुकै सहभागिता हुनुपर्छ। पुरुष पनि आउनु ठीक होइन। अहिले धेरै विकृति आएको छ, सुधार हुनुपर्छ। सरकारी निकायले यसलाई ध्यान दिनुपर्छ। 

(नाेट : यसअघि अन्तर्वार्तामा उल्लेखित ‘नक्कलीले नलगाएपनि हुन्छ’ भन्ने वाक्याशं पौडेलको आग्रहमा सच्याइएको छ। सं)

साउन २८, २०७९, शनिबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 4240505 / 4241389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
कार्यकारी निर्देशक
सुरेन्द्र रिजाल
निर्देशक, अटो संस्करण
सविन पोखरेल
लेखा तथा प्रशासन प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


विशेष संवाददाता
सागर न्यौपाने

उप–सम्पादक
खगेन्द्र गिरी
नवराज रेग्मी
रूपबहादुर विश्वकर्मा
विद्यानाथ अधिकारी
चिरञ्जीवी आचार्य

ग्लोबल अफेयर्स संयोजक
सन्तोष घिमिरे

समाचार संयोजक
ज्ञानेन्द्र खड्का

निर्वाचन सम्पादक
जेवी पुन मगर

म्यागेजिन सम्पादक
सीताराम बराल

सम्पादक
अरुण बराल

प्रधान सम्पादक
पूर्ण बस्नेत
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by.
ad ad