अन्तर्वार्ता


मैले चुनाव जित्ने ४ आधार छन् : गिरिराजमणि पोखरेल (अन्तर्वार्ता)

मैले चुनाव जित्ने ४ आधार छन् : गिरिराजमणि पोखरेल (अन्तर्वार्ता)

फाइल तस्बिर : गिरिराजमणि पोखरेल


जनार्दन पोखरेल
कात्तिक २ , महोत्तरी, बर्दिबास

माओवादी केन्द्रका उपमहासचिव गिरिराजमणि पोखरेल महोत्तरी १ बाट चौथोपटक प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेका छन्। ०६४ सालमा भएको पहिलो संविधान सभा निर्वाचनमा जनमोर्चा, नेपालका तर्फबाट विजयी भएयता उनले महोत्तरी १ बाट लगातार जित हासिल गरिरहेका छन्। ०७० र ०७४ को निर्वाचनमा माओवादीबाट विजयी भएका पोखरेललाई यो निर्वाचनमा माओवादीसँगै सत्ता गठबन्धनका दलहरूको पनि साथ छ। एमाले नेतृत्वको गठबन्धनबाट पोखरेलसँग लक्ष्मी महतोले प्रतिस्पर्धा गर्दै छन्। अघिल्लो निर्वाचनमा जसपाबाट पोखरेलसँगको प्रतिस्पर्धामा पराजित महतो यसपटक एमालेबाट पोखरेलका प्रतिस्पर्धी बनेका हुन्। उनले मनोनयनको अघिल्लो रात एमाले प्रवेश गरेर टिकट लिएका हुन्। 

महोत्तरी १ मा स्वतन्त्रबाट पोषण थापाले पनि उम्मेदवारी दिएका छन्। यातायात कार्यालय बर्दिबासको प्रमुखबाट राजीनामा दिएर थापा चुनावमा होमिएका छन्। यसपटक महोत्तरी १ मा मुख्य रूपमा पोखरेल, महतो र थापाबीच नै प्रतिस्पर्धा हुने अनुमान गरिएको छ। निर्वाचन अभियानमा रहेका पोखरेलसँग उनको निर्वाचन क्षेत्रमा पर्ने बर्दिबास–३ गौरीडाँडास्थित आफ्नै निवास ‘आधारशीला’मा नेपालखबरले कुराकानी गरेको। यसपटक पनि महोत्तरी १ मा आफैँले चुनाव जित्ने आधार रहेको उनले दाबी गरेका छन्।

प्रस्तुत छ पोरखेलसँगको कुराकानी :

तपाईं चौथोपटक महोत्तरी १ बाट संघीय संसदको उम्मेदवार बन्नुभएको छ। फेरि पनि महोत्तरीवासीले तपाईंलाई किन भोट दिने?
महोत्तरीका जनताले तीनपटक मलाई जिताइसक्नु भयो। यसको ऋण त म तिर्न सक्दिनँ। तर, यहाँबाट विजयी भएपछि सांसद र मन्त्री पदमा रहँदा मैले महोत्तरीका जनताको शिर ठाडो पार्ने गरी नै काम गरेको छु। शिर निहुरिन दिएको छैन। जनताले मलाई भोट दिने आधार धेरै छन्। मुख्य आधार यहाँको जनप्रतिनिधि भएर मैले गरेका काम नै हुन्। महोत्तरीबाट निर्वाचित भएका दुई कार्यकाल संविधान निर्माणमा बिते। यसलाई महोत्तरीवासी मतदाता, यहाँका बौद्धिक, नागरिक समाज र मिडियाका साथीहरूले बुझ्नु भएकै छ।

महोत्तरी बासीले तपाईंलाई तीन–तीन पटक निर्वाचित गरिसके, फेरि यहाँका जनतासँग तपाईं के भनेर भोट माग्नु हुन्छ?

मैले विगतमा गरेका धेरै काम अधुरा छन्। ती कामलाई निरन्तरता दिनुछ। व्यवहारमा कार्यान्वयन गर्न पहल गर्नुछ। अबका दिनमा अलि धेरै युवाहरूमा आधारित काम गर्नुपर्ने छ। अहिले पनि रोजगारीका लागि युवाहरू बाहिर जानुपर्ने बाध्यता छ। त्यसलाई अन्त्य गर्न औद्योगिकीकरणको प्रक्रिया अघि बढाउनुपर्ने छ। रोजगारी र स्वरोजगारीको वातावरण निर्माण गर्नुपर्ने छ।

बर्दिबास होटल इन्डस्ट्रिजमा निकै फस्टाएको छ। बाहिरबाट हेर्दा पनि तपाईं हामी त्यो देख्न सक्छौँ। यो इन्डस्ट्रिजलाई सपोर्ट होस् भनेर मधेश प्रदेशमा ‘म्याथम’को विस्तारित कार्यक्रमअन्तर्गत होटल म्यानेजमेन्टको पढाइ सुरु हुँदै छ। त्यसमा काठमाडौं विश्वविद्यालयले सहकार्य गरेको छ। एक प्रकारले कृषि वन विश्वविद्यालय, राजर्र्षीजनक विश्वविद्यालय, काठमाडौं विश्वविद्यालयलाई कुनै न कुनै ढंगले महोत्तरीलाई शिक्षाको केन्द्रबिन्दु बनाउने गरेर हामीले कामलाई अघि बढाएका छौँ। हामीले गरेका कामलाई गठबन्धनले साझा रूपमा ‘वनरसिप’ लिने छ। जनताले यसको अनुमोदन गर्नेछन्।

पछिल्लोपटक निर्वाचित हुँदा मैले जनताको माग र चाहनाअनुसार विकास निर्माणका कामलाई अघि बढाउने पहल लिएको छु। त्यो क्रममा महोत्तरीमा तीनवटा राष्ट्रिय महत्वका आयोजनाहरू परेका छन्। यतिबेला हामी ती आयोजनाहरूलाई कार्यान्वयन गर्ने प्रक्रियामा छौँ।

के हुन् राष्ट्रिय महत्त्वका ती कार्यक्रम?
यो १५ वर्षको बीचमा महोत्तरीमा धेरै काम भएका छन्। खयरमाराको निर्मल लामा बहुप्राविधिक शिक्षालयमा एक अर्बभन्दा धेरै बजेटमा काम अघि बढेको छ। त्यहाँ अहिले देशका २६ जिल्लाका विद्यार्थी अध्ययन गरिरहेका छन्।

गौशालामा हामीले मधेश प्रदेशस्तरीय इन्जिनियरिङ कलेज निर्माणको काम अघि बढाएका छौँ। राजर्षीजनक विश्व विद्यालयको एउटा आंगिक कलेजका रूपमा त्यो निर्माण भइरहेको छ। मेरो इच्छाचाहिँ त्यो इन्जिनियरिङ कलेजमा रेलवेको पढाइ पनि हुनुपर्छ भन्ने छ। अहिलेकै बजेटमा पनि रेलवे पढाइका लागि केही पैसा छुट्याइएको छ। मैले संसदमा रेलवेसम्बन्धी पढाइचाहिँ गौशालाको इन्जिनियरिङ कलेजलाई दिनुपर्छ भनेर आवाज पनि उठाएको छु।

संविधान बनेपछि राष्ट्रिय योजना आयोगले पहिचानमा आधारित सहर निर्माण गर्ने अवधारणा ल्यायो। त्यसमा बर्दिबासलाई पनि पार्न मैले पहल अघि बढाएँ। बर्दिबासको पहिचान के हो भन्ने खालका प्रश्न आए। मैले पहिचान त भोलिका दिनमा त्यहाँका जनताले बनाउने छन्। अहिले कम्तीमा बर्दिबासलाई शैक्षिक केन्द्र भनौँ भन्ने प्रस्ताव गरेँ। किनभने मधेश प्रदेश मानव विकास सूचकांकबाट हेर्दा कर्णाली भन्दा पछि छ। मधेश प्रदेशलाई माथि उठाउने हो भने हामीले शिक्षा र स्वास्थ्यमा निकै ठूलो लगानी गर्नुपर्ने छ। त्यो लगानीको रिजल्ट एकै वर्षमा रातारात आउने होइन।

यो अवधिमा हामीले महोत्तरीको शिक्षा र स्वास्थ्यलाई अघि बढाउन निकै ठूलो मेहनत गरेका छौँ। किसाननगरमा कृषि कलेज स्थापना भएर पठनपाठन सुरु भएको छ। भवन निर्माण क्रममा छ। लक्ष्मीनियाँमा प्रदेशस्तरीय आयुर्वेदिक कलेज सञ्चालन भैसकेको छ। भवन निर्माणको अन्तिम चरणमा पुगेको छ। भंगाहामा हामीले सीटीईभीटीको नयाँ कार्यक्रम पुर्याएका छौँ। यो वर्ष त्यो कार्यान्वयनको प्रक्रियामा जानेछ।
धेरै नमुना विद्यालयहरू निर्माणाधीन अवस्थामा छन्। सबैतिर काम अघि बढेको छ। महोत्तरी जिल्लालाई शिक्षाको एउटा केन्द्रका रूपमा विकास गरौँ भनेर नै हामीले जलेश्वरको सुगामा पनि प्राविधिक शिक्षा पुर्याएका छौँ। लचमो स्कुल, रामगोपालपुर मावि, हरिनमरिनमा पनि प्राविधिक पढाइ सुरु भएको छ। महोत्तरी विद्यापतिको जिल्ला पनि हो। त्यो कोणबाट हेर्दा यहाँ नयाँ ढंगले शिक्षाको कामलाई कसरी अगाडि बढाउन सकिन्छ भनेर हामी निरन्तर छलफलमा छौँ।

म मन्त्री हुँदा अमेरिकामा बसेका नेपालीहरूसँग पनि मैले यहाँको शिक्षा विकासका लागि पहल अघि बढाएको थिएँ। उहाँहरूको ‘इक्वयलिटी फाउन्डेसन’ छ। त्यो फाउन्डेसनले मेरै आग्रहमा महोत्तरीलाई पनि आफ्नो कार्यक्रममा छनोट गरेको छ। गौशाला र हात्तिलेटमा त्यसको ‘पाइलेटिङ’ सुरु भएको छ। १०, ११ र १२ को अध्ययन हुने सबै स्कुलमा हामी ‘डिजिटल लिटे«सी’ सुरु गर्दै छौँ।

गिरिजाबाबु प्रधानमन्त्री हुँदा देशमा दसवटा अस्पताल बनाउने निर्णय भयो। त्यसमध्येको एउटा बर्दिबास अस्पताल थियो। कोरोनाको बेला बर्दिबास अस्पतालले पीसीआर टेस्टसमेत गरेको छ। धुलिखेल अस्पतालसँगको सहकार्यममा बर्दिबासमा आईसीयू सेन्टर सञ्चालन हुँदै छ। एलोपेथिकसँगै हामीले महोत्तरीमा आयुर्वेदिक अस्पताल पनि सञ्चालनमा ल्याएका छौँ।

चुरे संरक्षणका लागि नास्टअन्तर्गत बर्दिबासमा ज्ञान केन्द्र सञ्चालनमा आएको छ। त्यसले विभिन्न विश्वविद्यालयसँग संयोजन गरेर काम अघि बढाउने छ। मानवसहितको चुरेको अवधारणामा त्यसका कार्यक्रम अघि बढ्नेछन्। यस अवधिमा ३० वटा भन्दा धेरै डिप बोरिङका कार्यक्रम महोत्तरीमा परेका छन्। कतिपय कार्यान्वयन भएका छन्। कतिपय हुने चरणमा छन्।

बर्दिबासमा मेडिकल कलेज स्थापना हुने चर्चा चलेको धेरै भयो। तर काम अघि बढेको छैन। किन? 
०७२ सालमा म मन्त्री हुँदा बुटवलमा मेडिकल कलेज खोल्नुपर्छ भनेर प्रस्ताव आएको थियो। हाम्रो मधेश प्रदेशमा एउटा पनि सरकारी मेडिकल कलेज थिएन। सबै प्रदेशमा एक–एक वटा मेडिकल कलेज स्थापना गर्ने भन्ने सोचअन्तर्गत पहिले मधेश प्रदेशलाई निर्णय गरौँ, त्यसपछि अरु ठाउँमा सोचौँला भन्ने कुरा भयो। त्यो लटमा हामीले बर्दिबास, बुटवल र सुर्खेतमा मेडिकल कलेज स्थापना गर्ने निर्णय गर्‍यौँ।
बर्दिबासमा एक हजार बेडको राम्रो मेडिकल कलेज स्थापना हुने प्रक्रियामा छ। ‘स्वायल टेस्ट’ बाट डीपीआर तयार भएर भौतिक निर्माणको प्रक्रियामा जाँदा जग्गासम्बन्धी सवालमा एउटा मुद्दा परेको छ। यही कात्तिक ५ गते त्यसको पेसी छ। संसदले पास गरेको हुँदा मेडिकल कलेज यो प्रदेशकै सम्पत्ति हो। त्यो कार्यान्वयनमा जानेछ भनेर म विश्वास दिलाउन चाहन्छु।

तपाईंले एउटै क्षेत्र महोत्तरी १ बाट निरन्तर चुनाव लड्दै आउनुभएको छ। कतिपयले चुनाव लड्न पार्टीभित्र नयाँ नेतृत्व तयार नगरेको भनेर पनि तपाईंको आलोचना गर्ने गरेका छन्। यसको खण्डन कसरी गर्नुहुन्छ?
यो मेरो मात्रै विषय नभएर हामीले अवलम्बन गरेको राजनीतिक प्रणाली र दलहरूसँग सम्बन्धित विषय हो। हाम्रो प्रणालीले यतिपटक मात्रै चुनाव लड्न पाउने भनेर हल गरिदिएको भए म स्वतः रिङबाट बाहिर हुन्थेँ। म त अहिले चौथोपटक उम्मेदवार भएको छु। तर, नेपालमा नौपटक पनि चुनाव लड्नेहरू छन्। यो प्रश्न मलाई पनि उचितै लाग्छ। म शासकीय स्वरूपमा रहेर काम गर्दा पनि यो प्रश्न उठेको थियो। कार्यकारी प्रमुखको अवधि राख्ने कि नराख्ने भनेर। त्यतिबेला त्यो खालको सहमतिमा हामी पुग्न सकेनौँ। यहाँका साथीहरूको मागअनुसार नै म यहाँबाट पुनः उम्मेदवार बनेको हो। नेतृत्वको विकासको प्रश्न समग्रतामा गाँसिएको हुन्छ।

मलाई यस्तो पनि लाग्छ – महोत्तरीको विकासको आवश्यकताका कारण पनि म यहाँ दोहोरिएको छु। अब मूल्यांकन मतदाताले गर्नुहुन्छ। म आएपछि महोत्तरीको विकास भयो कि भएन त्यसको मूल्यांकन पनि मतदाताले गर्नुपर्छ भन्ने मेरो आग्रह छ। महोत्तरीको विकास नै मेरो ध्यय हो। यसमा मेरो निजी कुरा केही पनि छैन। महोत्तरीको विकासमा काम गरेर मात्रै म जनताको ऋण तिर्न सक्छु भन्ने मलाई लाग्छ। सामाजिक न्याय र समृद्धिलाई केन्द्रबिन्दुमा राखेर विकासका थप कार्ययोजना बनाउनुपर्ने छ।

त्यसकारण यसपटक मैले माथिबाट भन्दा पनि तल वडाबाट समस्याहरू संकलन गर्ने र समाधानको मार्गचित्र तयार गर्ने काम अघि बढाएको छु। हामीले समाजवाद  उन्मुख विकास भन्दै आएका छौँ। तर, यसमा हाम्रो स्पष्टता छैन। यसमा पर्याप्त छलफल पनि भएको छैन। यो विषयमा छलफल गर्न संसद् राम्रो फोरम भएकाले अब समाजवाद उन्मुख विकास, सामाजिक न्याय र समृद्धिको प्रश्नमा केन्द्रित भएर बहस अघि बढाउने सोच पनि मैले बनाएको छु।

गएको स्थानीय तह निर्वाचनमा तपाईंको पार्टीले बर्दिवास, गौशालाजस्ता नगरपालिकामा जित हात पार्न सकेन। जुन तपाईंकै निर्वाचन क्षेत्रमा पर्छन्। अघिल्लो निर्वाचनमा जितेका पालिका पनि यसपटक गुमेका छन्। यसले तपाईंको विजय यात्रामा समस्या खडा गर्दैन?

गएको निर्वाचनमा हाम्रा कमी कहाँ कहाँ भए भनेर हामीले खोजी गरिरहेका छौँ। टंक राईजीको नेतृत्वमा पार्टीले पनि छानबिन समिति बनाएको छ। जहाँ जहाँ गल्ती भएका छन्, त्यो समितिले पत्ता लगाउने छ। गल्ती गर्नेलाई कारबाही गर्ने, नगर्नेहरूविरुद्ध लागेका आरोपहरूबारे स्पष्ट पार्ने र पार्टीलाई फेरि पुनव्र्यवस्थित गर्ने प्रक्रियामा त्यो जानेछ।

मुख्य कुरा जनताले साथ दिने कुरा हो। म आफ्ना कुरा लिएर जनतामा जानेछु। स्थानीय तहका निर्वाचित जनप्रतिनिधिहरूलाई पनि गएको अवधिमा मैले गरेका कामहरूको मूल्यांकन गरिदिन आग्रह गरेको छु।

महोत्तरीबाट तपाईं पुनः विजयी हुने आधार के–के हुन्?
यहाँबाट चुनाव जित्ने मेरा चारवटा आधार छन्। पहिलो, म गठबन्धन दलको साझा उम्मेदवार हो। गठबन्धन दलका सबै साथी मेरो पक्षमा एकढिक्का हुनुहुन्छ। दोस्रो, यहाँ माओवादीको अवस्था मजबुत छ। चुनावमा हारजित हुन्छ। तर, यो क्षेत्रमा हामी कमजोर छैनौँ। पार्टीका साथीहरू मेरो विजयका निम्ति लागिपर्नुभएको छ। तेस्रो, मैले विगतका दिनमा महोत्तरीको विकासका लागि, महोत्तरीका जनताको हितका लागि यो भेगमा धेरै ठूलाठूला कार्यक्रम लिएर आएको छु। अहिलेभन्दा अलि वर्षपछि यहाँका जनताले मलाई सम्झिनु हुनेछ। चौथो, संविधान निर्माणका क्रममा होस् अथवा पछिल्लो प्रतिनिधिसभाको अवधिमा होस्, म निरन्तर यहाँका जनतासँगको सम्पर्कमा छु। जनताको सुख दुखःमा साथ दिँदै आएको छु। मेरा कमीकमजोरी छन् भने पनि मलाई माया गरेर जनताले त्यसलाई सच्याउने अवसर दिनु हुनेछ भन्ने मेरो विश्वास छ।

लोकल चुनावमा भएका हारजितको एउटा महत्व होला। तर, म र यहाँका जनताबीचमा प्रत्यक्ष आधार र सम्बन्धहरू छन्। मेरो विजयका लागि ती मुख्य आधार हुन्।

सत्ता गठबन्धनबाट तपाईं संघको उम्मेदवार हुनुहुन्छ। तर तपाईंकै पार्टीका दुई नेताले गठबन्धनका उम्मेदवारविरुद्ध प्रदेशका दुवै क्षेत्रमा स्वतन्त्र रूपमा बागी उम्मेदवारी दिएका छन्। यसलाई कसरी लिनुभएको छ?
हाम्रो पार्टीले स्वतन्त्र रूपमा बागी उम्मेदवारी लिएका साथीहरूलाई एकपटक पुनर्विचार गर्न आह्वान गरेको छ। त्यो आह्वानका आधारमा हामीले पनि राजनजी र विष्णुजी दुवैजनालाई उम्मेदवारी फिर्ताका लागि पहल गर्छौं।

उहाँहरू पनि लामो समयदेखि यही आन्दोलनमा काम गरेर आउनुभएका साथीहरू हुनुहुन्छ। पाँच वर्षमा चुनाव आउँछ। चुनाव लड्ने चाहना राख्नु स्वाभाविक हो। तर अहिले गटबन्धनले गरेको निर्णय पालना गर्दै अघि बढ्न पनि हामी उहाँहरूलाई थप आग्रह गर्छौं। उहाँहरूको उम्मेदवारी फिर्ताका लागि थप मेहनत गर्छौं।

महोत्तरी १ (क) मा गठबन्धन दलले अझै आफ्नो आधिकारिक उम्मेदवार टुंग्याउन सकेको छैन नि?
यही विषयमा केही दिनअघि संघीय संसदमा महोत्तरीबाट उम्मेदवारी दिने म, महन्थ ठाकुर, शरदसिंह भण्डारी र महेन्द्रकुमार यादवबीच छलफल भएको थियो। लोसपा हाम्रो गठबन्धनमा आएपछि सिट बाँडफाँडको पत्रमा प्रधानमन्त्री शेरबहादुर देउवा र लोसपाका अध्यक्ष महन्थ ठाकुरले हस्ताक्षर गर्नुभएको छ। त्यसकारण यहाँको समस्याको हल प्रधानमन्त्री र लोसपाका अध्यक्षले गर्नुपर्छ भन्ने हाम्रो सुझाव छ।

जतिसक्दो चाँडै माथिबाटै यो समस्या समाधान हुनेछ। यदि समाधान नभए सहमतीबाटै मैत्रीपूर्ण प्रतिस्पर्धा पनि हुनसक्छ। 

महोत्तरी १ मा तपाईंको उम्मेदवारीलाई सत्ता गठबन्धनका अन्य दलले कसरी लिएका छन्? गठबन्धनका दलबाट तपाईंलाई पूर्ण सहयोग प्राप्त होला?
गठबन्धनका दलबाट मलाई शतप्रतिशत नै सहयोग हुने विश्वास मैले लिएको छु। पहिलाका प्रतिस्पर्धी भए पनि यतिबेला हामी सहयात्रामा छौँ। हामी हरेक दिन छलफलमै हुन्छौँ। संघको निर्वाचन परिचलन समितिमा हरेक पार्टीबाट ११–११ जना सदस्य रहेको निर्वाचन परिचानल समिति बनाउँदै छौँ। प्रदेशमा हरेक वडाबाट सबै पार्टीको एकजना सदस्य रहेको निर्वाचन परिचालन समिति बनाउने छौँ। वडा, टोल र बुथमा आवश्यकताको आधारमा निर्वाचन परिचालन समिति बन्नेछन्। यो क्षेत्रमा हँसिया हथौडामा भोट दिनुपर्ने भएपनि हामी सबै पार्टी झण्डाहरू राखेर सबै लिडर एकै ठाउँमा बसेर निर्वाचन अभियानमा जाने छौँ।

विगतमा हामी प्रतिस्पर्धी भए पनि अहिले राष्ट्रको आवश्यकताका आधारमा यो गठबन्धन निर्माण भएको हो। त्यसकरण अहिले सहयात्राको नयाँ प्रक्रिया सुरु भएको छ भनेर बुझिदिन र सहयोग गर्न पनि सबै साथीहरूमा अपिल गर्न चाहन्छु।

कतिपयले विचार, सिद्धान्त सकिएकाले माओवादी कहिले एमालेसँग, कहिले कांग्रेससँग सहकार्य गर्छ भनेर पनि आलोचना गर्छन् नि?
अहिले चुनावको कोणबाट मात्रै माओवादीलाई हेर्नु हुँदैन। माओवादीको अगाडिको इतिहास पनि हेर्नुपर्छ। पहिला सानो थियो माओवादी। ०६४ निर्वाचनपछि माओवादी देशकै एक नम्बरको पार्टी बन्यो। हामी वास्तवमा नेपालको सामाजिक–आर्थिक रुपान्तरणका लागि वामपन्थीहरूबीच गठबन्धन र पार्टी एकता गर्ने भनेर लागेको हो। केपी ओली कमरेड प्रधानमन्त्री र पार्टी अध्यक्ष बन्नुभयो। तर, त्यसको मर्म उहाँले बुझ्न सक्नुभएन। त्यो मर्म पक्रेर उहाँ जान सकेको भए यो गठबन्धनतर्फ मुलुक जाँदैनथ्यो। संसद् विघटन भएको परिवेशमा यो गठबन्धन निर्माण भएको हो।

पछिल्लो समय पार्टीका प्रभावशाली नेताहरू आफ्नो निर्वाचन क्षेत्रमा मात्रै केन्द्रित भए। राष्ट्रिय नेता बन्न सकेनन्। राज्यको बजेटलाई आफ्नो निर्वाचन क्षेत्रमा मात्रै केन्द्रित गरे। निर्वाचन जित्नेभन्दा अर्थोक सोच्न छाडे भन्नेहरू पनि छन्। के भन्नुहुन्छ?
यो समस्या हामीले अवलम्बन गरेको प्रणालीका कारण आएको हो भन्ने मलाई लाग्छ। यो क्षेत्रका लागि आएको बजेट मैले अन्यत्र लान मिल्दैन। फेरि हामीले आफ्नो निर्वाचन क्षेत्रमा मात्रै केन्द्रित भएर पनि काम गरेका छैनौँ। मैले मौरेगडीमा पोलिटेक्निकल इन्स्टिच्युट लगेको छु। देशका ६३७ वटै पालिकामा प्रविधिक शिक्षा पुर्याएको छु। मदन भण्डारी योगमाया आयुर्वेदिक विश्वविद्यालय स्थापना गरेको छ। म मन्त्री हुँदा देशका धेरै ठाउँमा शिक्षा र स्वास्थ्यको क्षेत्रमा महत्त्वपूर्ण काम भएका छन्।

महोत्तरीमा रातु नदी नियन्त्रणको काम तपाईंको प्राथमिकतामा परेको छ कि छैन?
म पहिलोपटक निर्वाचित भएपछि रातुलाई जनताको तटबन्ध कार्यक्रममा समेट्न पहल गरेँ। रातुसहित देशका १० वटा नदी यो कार्यक्रममा समेटिएका छन्। जनताको तटबन्ध कार्यक्रममार्फत रातु नदी नियन्त्रणको काम अघि बढेको छ। विगतमा रातु नदी धेरैवटा भंगाला भएर बग्थ्यो। अहिले रातु एउटा भंगालोमा केन्द्रित भएको छ। रातुको नदी उकास जमिनमा धमाधम संरचनाहरू बनिरहेका छन्। अहिले पनि रातु नदी नियन्त्रण आम्रो प्राथमिकतामै छ।

कात्तिक २, २०७९, बुधबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
कार्यकारी निर्देशक
पिनाकी राय
बिजनेश एड्भाइजर
सविन पोखरेल
लेखा तथा प्रशासन प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


विशेष संवाददाता
सागर न्यौपाने

उप–सम्पादक
खगेन्द्र गिरी
नवराज रेग्मी
रूपबहादुर विश्वकर्मा
विद्यानाथ अधिकारी

ग्लोबल अफेयर्स संयोजक
सन्तोष घिमिरे

समाचार संयोजक
ज्ञानेन्द्र खड्का

निर्वाचन सम्पादक
जेवी पुन मगर

म्यागेजिन सम्पादक
सीताराम बराल

प्रधान सम्पादक
पूर्ण बस्नेत
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by.