ad ad

अन्तर्वार्ता


दसैँमा देशभर ५० हजार प्रहरी परिचालन हुन्छन्, उपत्यकामा दोब्बर पार्छौं : डीआईजी कडायत (अन्तर्वार्ता)

दसैँमा देशभर ५० हजार प्रहरी परिचालन हुन्छन्, उपत्यकामा दोब्बर पार्छौं : डीआईजी कडायत (अन्तर्वार्ता)

डीआईजी कुबेर कडायत। तस्बिर : सरोज बैजु


उजिर कार्की
असोज २९, २०८० सोमबार १७:३७, काठमाडौँ

नेपाल प्रहरीले चाडबाडलाई लक्षित गर्दै देशभर सुरक्षा योजना बनाएर लागू गरेको छ। प्रहरी प्रधान कार्यालयले सबै युनिटलाई आफ्नो क्षेत्रको सुरक्षा अवस्था विश्लेषण गर्न र सोही अनुसारको सुरक्षा योजना बनाएर कार्यान्वयन गर्न निर्देशन दिएको थियो।

दसैँ, तिहार, नेपाल संवत र छठलाई लक्षित गरेर सुरक्षा योजना लागू गरिएको प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डीआईजी) कुबेर कडायतले बताए। 

प्रहरीले पैदल गस्ती, मोबाइल गस्ती, कर्डन, सादा पोसाकका प्रहरी, पिकेटिङ, स्ट्राइकिङ, रिजर्भ, सीसीटीभी, वाक थु्र गेट, ड्रोनबाट निगरानी बढाउने भएको छ। 

यस्तै चाडबाडका बेला हुने आवातजावतलाई मध्यनजर गर्दै ट्राफिक व्यवस्थापन र विपद् व्यवस्थापनमा पनि योजना बनाएर लागू गरेको प्रहरीले जनाएको छ। 

बैंक, वित्तीय संस्था तथा नगद र बहुमूल्य गर–गहनाको कारोबार हुने स्थानहरुमा प्रहरी निगरानी बढाइएको छ। 

यात्रुहरुको सुरक्षालाई मध्येनजर गर्दै ट्राफिक प्रहरीसहितको यात्रु सहायता कक्ष स्थापना गरिएको छ भने, मुख्य–मुख्य नाकाहरुमा आधुनिक प्रविधिका साथै केनाइन कार्यालयबाट तालिम प्राप्त कुकुरबाट जाँच (डग स्निफिङ एन्ड सर्च) गरिनेछ।

चाडबाडको बेलाका सुरक्षा चुनौती र प्रहरीका योजनाका विषयमा नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी कडायतसँग नेपालखबरले गरेको कुराकानी :

चाडबाडको बेला मुख्य सुरक्षा चुनौती के हो? 
अब विधिवत् रुपमा दसैँ सुरु भयो। चाडबाडमा दुई/तीन वटा चुनौती हुन्छ। चोरी डकैतीका घटना वृद्धि हुन्छन्। यो पहिलेदेखि नै देखिँदै आएको छ। सवारी दुर्घटना पनि बढ्ने गरेका छन्। यात्रुहरुको गुनासो बढी आउँछ, टिकट, गाडीको कुरालाई लिएर। यात्रु छतमा जानुपर्ने बाध्यता भयो भन्ने खालका गुनासा पनि छन्। 

यतिबेला दसैँ मनाउनका लागि धेरै यात्रुहरुले काठमाडौं छाड्छन्। उनीहरुलाई सुरक्षित रुपमा घरसम्म पु¥याउन नेपाल प्रहरीले, खासगरी ट्राफिक प्रहरीले के गरिरहेको छ? 
काठमाडौंबाट अहिले दैनिक २०/२५ हजारका दरले गइरहेका छन्। दसैँमा २० देखि २५ लाख जान्छन् भन्ने हाम्रो आकलन छ। त्यसका लागि ट्राफिक प्रहरीले उपत्यकामा यात्रु सहायता कक्ष १४ ठाउँमा सुरु गरेको छ। प्रहरीले ३१ ठाउँमा नागरिक सहायता कक्ष सञ्चालन गरेको छ। टिकट काउन्टरमा यात्रु नठगिऊन् र सहजीकरण पनि होस् भनेर हामीले सादा पोसाकमा प्रहरी परिचालन गरेका छौं। ट्राफिक पनि त्यहाँ बस्छ। बाटोमा कसैको गुनासो आयो भने त्यसलाई व्यवस्थापन गर्नका लागि ठाउँठाउँमा यात्रु सहायता कक्ष र नागरिक सहायता कक्षले सहयोग गर्छ। 

यातायात व्यवसायीहरुसँग पनि ट्राफिक प्रहरीले समन्वय गरिरहेको छ। बसको थप व्यवस्थापनका कुरा होलान्। यात्रा कसरी सुरक्षित, सहज र भरपर्दो बनाउन सकिन्छ भनेर काम गरिरहेका छौँ। अर्को कुरा हामीले नाकामा र अन्य ठाउँमा पनि यात्रुसँग ट्राफिकको एक मिनेट भन्ने कार्यक्रम सञ्चालन गरेका छौँ। त्यसमा हामीले यात्रुलाई दायित्व बोध गराउन कोसिस गर्छौं। तपाईंहरु ठगिनु भएको छ कि छैन भनेर सोध्छौं। क्षमताभन्दा बढी यात्रु छन् कि छैनन् भनेर सजग गराउँछौं। यात्रा गरिरहँदा बसको गतिका कुराहरु ओभर स्पिडमा गए दुर्घटना हुनसक्छ भनेर सचेत गराउँछौं। लामो यात्राका गाडीमा दुई जना चालक अनिवार्य गरिएको छ। चालक सहचालकले मापसे गरेको छ कि छैन भनेर निगरानी गर्छौं। 

चाडबाडको बेलामा यसअघिका वर्षमा ठुल्ठूला दुर्घटना पनि भएका छन्। त्यसलाई मध्यनजर गरेर केही काम भएको छ? 
अस्ति मात्रै सडकका कारण हो कि भनेर सडक विभाग र नेपाल सरकारका अन्य निकाय सडक मर्मतको काममा लागेका छन्। हामीले पनि थोत्रा गाडी नचलाउन भनेर यातायात व्यवसायीलाई पुराना गाडी समयमै सर्भिसिङ गर्न भनेका छौं। द्रुतगतिमा हुँदा दुर्घटना हुने भएकाले टाइमकार्ड लागू गरेका छौं। लामो दुरीमा दुई जना चालक अनिवार्य गराएका छौं। 

यतिबेला त धेरै मान्छे घर खाली गरेर चाडबाड मान्न गाउँ जान्छन्, उपत्यकाबाहिर जान्छन्। उनीहरुको सम्पत्तिको सुरक्षाका लागि प्रहरीले के गर्छ ?
यो चोरी लुटपाटका घटना नहोस् भनेर काठमाडौं उपत्यकासहित देशभर प्रहरी गस्ती बढाउँछौँ। ५० हजार ५३० जना प्रहरी चाडबाडको बेला परिचालन हुन्छन्। काठमाडौं उपत्यकामा मात्रै १२ हजार हाराहारी प्रहरी परिचालन गरेका छौं। सादा पोसाकमा पनि प्रहरी परिचालन हुन्छ। सीसी क्यामराबाट पनि निगरानी राख्छौं। ड्रोन पनि प्रयोग गर्छौं। सीआरभीले पनि समय समयमा गस्ती गर्छ। आवश्यकता अनुसार मोटरसाइकलमा पनि प्रहरी परिचालन भइरहेको हुन्छ। काठमाडौं उपत्यकामा सुरक्षाकर्मी दोब्बरले बढाएका छौं। यसअघि नियमित ६ हजार जति हुन्थ्यो भने अहिले १२ हजार जति परिचालन हुन्छ।

भिडिओ :

यो बेला प्रहरीले बाहिरको सुरक्षा दिएर मात्रै हुँदैन। व्यक्तिका घरको पनि सुरक्षा गर्नु पर्ने हुन्छ के, कसरी गर्नुहुन्छ? 
हाम्रो अनुरोध त यो छ कि मिल्छ भने घरै खाली गरेर नजाउँ। यदि जानै पर्ने छ भने छिमेकीलाई निगरानी राख्न अनुरोध गरौं। र नजिकै रहेको प्रहरी कार्यालयमा पनि पहिल्यै खबर गरौं। प्रहरीलाई पहिल्यै सूचना भयो भने त्यो घरमा निगरानी बढाउँछ। 

पछिल्लो समय देशका विभिन्न ठाउँमा सामाजिक, साम्प्रदायिक हिंसाका घटनाहरु पनि देखिएका छन्। कतिपय ठाउँमा त कर्फ्यु लगाउनु पर्ने अवस्था नै भएको थियो। त्यस्ता क्षेत्र र घटनाहरुलाई मध्यनजर गरेर केही सुरक्षा योजना बनेको छ? 
हामीले जिल्लागत वा क्षेत्रगत रुपमा कहाँ कहाँ के के समस्या छ, धार्मिक गुरुहरुसँग, क्लबहरुसँग, सामाजिक अभियन्ताहरुसँग समन्वय गरेर यो दसैँलाई दसैँ जसरी कसरी मनाउने आआफ्ना संस्कार–संस्कृति अनुसार एकअर्काले चाडबाड मनाउँदा एकापसमा अवरोध नहुने नहुने गरी, दुर्घटना नहुने गरी, आपराधिक क्रियाकलाप नहुने गरी मनाउनका लागि सामाजिक दायित्व पनि निर्वाह गर्छौं। हामीले नियमित लागू गर्नु पर्ने सुरक्षाका नीतिप्रति पनि हामी सजग छौं। 

चाडबाडमा यस्ता चहल पहल बढेको बेला अरु सुरक्षा चुनौती चाहिँ के हुन्छ?
यस्तो बेलामा चोरी, तस्करी, कृत्रिम अभाव फैल्याउने र कालोबजारी बढ्छन्। यही बेलामा मादक पदार्थ सेवन गरेर हो हल्ला गरिदिने, आपराधिक गतिविधिहरु गर्ने पनि हुन्छन्। त्यसलाई पनि मध्यनजर गरेर सम्बन्धित निकायले गर्नु पर्ने अनुगमन होला, चेकजाँचका कुरा होलान्। त्यही अनुसार प्रहरी परिचालित छ। 

आम नागरिकले चाहिँ सुरक्षाका लागि के गर्नुपर्छ? 
नेपाल प्रहरी समुदायमा आधारित प्रहरी हो। हरेक अपराधजन्य गतिविधिहरु समुदायमा हुन्छ। त्यसैले समुदायको ठूलो महत्वपूर्ण भूमिका छ। अपराध नियन्त्रणका कुरामा होस् वा अनुसन्धानमा। सबै नागरिक बिनाबर्दीका प्रहरी हुन्। अपराधरहित समाज हामी सबैको उदेश्य हो। त्यसैले हामीले हातेमालो गरेर अगाडि बढ्नुपर्छ। तपाईंको समाजमा कुनै पनि शंकास्पद गतिविधि भयो भने नजिकैको प्रहरी कार्यालय अथवा जिल्ला प्रशासन कार्यालयमा खबर गरिदिनुहोला।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .