नारायणगढ–मुग्लिङ सडक खण्डमा पर्ने चितवनको इच्छाकामनास्थित तुइनखोलामा गएको शुक्रबार साँझ करिब ७ बजेतिर ठूलो पहिरो खस्यो। साँझको समयमा पहिरो खसेकाले तत्काल त्यसलाई हटाउन सम्भव भएन। शनिबार बिहानदेखि पहिरो हटाउन सुरु भयो। सडक डिभिजन कार्यालय भरतपुर, जिल्ला प्रशासन कार्यालय चितवन, जिल्ला प्रहरी कार्यालय लगायतका सरोकारवाला निकायको सक्रियतामा करिब ४५ घण्टा लगाएर पहिरो हटाइयो, गाडीहरू गुड्न थाले।
पहिरो हटेर गाडी गुड्न थालेपछि दुई दिनसम्म राेकिएका यात्रुहरू खुसी भए। तर, त्यो खुसी धेरै समय टिक्न सकेन। सडकको करिब ७० मिटर माथिबाट निरन्तर पहिराे खस्ने क्रम फेरि सुरु भयो। पहिरोले बुधबार (हिजो) दिउँसोसम्म पटक-पटक समस्या सिर्जना गरिरह्यो। दिनभरको प्रयासपछि बुधबार अपराह्न ४ बजेतिर तुइनखाेलामा फेरि दुईतर्फी नै गाडी गुड्न थाले। तर त्यसको करिब १५ मिनेटमै सडक माथिको पहाड नै खस्याे। भिषण पहिरो खसेपछि अब यो सडक अनिश्चितका लागि बन्द भएको छ। दसैँ मनाउन राजधानी काठमाडौँबाट घर फर्कनेहरूको चाप बढेको अवस्थामा सडक पूर्णरुपमा बन्द हुँदा यात्रुले सास्ती भोग्नुपरेको छ। याे सडक अब कहिले खुल्ला भन्ने जिज्ञासा यात्रुकाे मनमा सिर्जना भएको छ।

तुइनखोलामा निरन्तर पहिरो खस्दा चाडपर्वकाे मुखमा यात्रुले निकै सास्ती पाइरहेका छन्। सडक डिभिजन कार्यालयले यसको अल्पकालीन र दीर्घकालीन समाधानका लागि कुनै योजना बनाएको छैन?
गत शुक्रबार खसेको पहिरो सामान्य खालकै देखिन्थ्यो। हामीले तत्कालै पहिरो रोकथाम गर्नुपर्छ भनेर स्थलगत अवलोकन पनि गरेका थियौँ। तर पछिल्लो समय त्यो सिनारियो चेन्ज हुँदै जाँदा पहिरो प्रभावित क्षेत्र निकै कमजोर खालको रहेछ भन्ने हामीलाई लाग्न थालेकाे छ।
त्यहाँ साना पहिरोका कारण चिरा परेको ठाउँबाट पानी पस्दा पहाड अझै कमजोर बनेको जस्ताे देखिन्छ। त्यसको हामीले गहिरो अध्ययन गरेका त छैनाैँ। तर बाहिरबाट हेर्दा त्यस्तै देखिन्छ। त्यसकारण अहिले माथिदेखि नै पहिरो खसिरहेको छ। अहिले यो पहिरोले अझै भयावह स्थिति सिर्जना गरेको छ। हामीले विभागबाटै यस ठाउँको अध्ययन गर्न विज्ञ टोली बाेलाएका छौँ। यसको डिटेल अध्ययन नगरी यही कारणले पहिरो गयो भन्ने अवस्था छैन।
तुइनखाेलाकाे पहिराे हटाएर अब नारायणगढ–मुग्लिङ सडक खण्ड कहिले सुचारु हाेला? पहिरो पन्छ्याउन कति समय लाग्ने अनुमान छ?
गत शुक्रबार गएको पहिरो हटाउन हामीले तीन दिनसम्म जुन लेभलको प्रयास गर्यौं, त्यो लेभलको प्रयासले मात्रै मंगलबार (हिजो) खसेको पहिरो हटाउन सकिने अवस्था छैन। बुधबार सडकमाथिबाट पहाड नै खसेको छ। करिब १६० मिटर सडक ढाक्नेगरि पहिरो झरेको छ। अझै पनि ढुंगामाटो बग्न रोखिएको छैन। रातको समयमा जोखिम हुने भएकोले गएराति पहिरो हटाउने काम गरिएन। आज स्थिति हेरेर विभागको विज्ञ टोलीले स्थलगत अवलोकन गरिसकेपछि पहिरो पन्छ्याउने काम अगाडि बढाउँछौँ। अहिलेको अवस्थामा अनुमान गर्नुपर्दा पहिराे हटाएर यातायात्र सुचारु हुन कम्तिमा पनि ४–५ दिन लाग्न सक्छ।
तर विज्ञ टोलीले पहिराेकाे स्थलगत अध्ययन गरेपछि कति दिन लाग्छ भन्ने थाहा हुन्छ। मेराे बिचारमा थोरैमा ४-५ दिनदेखि बढीमा ७-८ दिन पनि लाग्न सक्छ।
विज्ञ टोली आएपछि ले के गर्छन्?
यहाँको वस्तुस्थितिका बारेमा हामीले खबर गरिसकेका छौँ। म आफैँले हिजो सडक विभागको केन्द्रीय कार्यालयमा फोन गरेको थिएँ। आज (बुधबार) विभागको कार्यालयमै बैठक बस्ने निर्णय स्वरुप म आफैँ विभाग जाँदै छु। यहाँ छलफल गरेर रिर्पोटिङ गरेपछि विज्ञ सहितको टोली घटनास्थलमा गएर विस्तृत रुपमा अनुसन्धान गरेपछि पहिरो नियन्त्रणको दीर्घकालिन योजना बन्न सक्छ। उक्त टोलीले वस्तुस्थितिको रिपोर्टिङ गर्छ। ड्रोन लगाएर पनि पहिरोग्रस्त क्षेत्रको अध्ययन गरिनेछ र जोखिक न्यूनीकरणकाे पहल त्यसपछि सुरु हुनेछ।
नारायणगढ–मुग्लिन सडकखण्डमा १९ वटा नयाँ पुल निर्माण गरिएका छन्। जसका लागि पहाड कटिङ भयो, यही कारणले पहिरोको जोखिम उच्च भयो भन्ने गुनासो पनि छ नि।
पक्कै पनि यस सडक खण्डमा सवारी आवागमन सहज बनाउन नाराणगढ–मुग्लिङ सडक आयोजना मार्फत १९ वटा नयाँ पुलहरू बनाइएको छ। तर यही पुलका कारण पहिरोको जोखिम बढेको भन्नेचाहिँ होइन। तुइनखोलाको अवस्था र अन्य पुल भएको स्थानको अवस्था नै फरक छ। यहाँ अन्तभन्दा ठाडो खालको भिर थियो। याे सडककाे मुग्लिङ साइडमा कडा खालको पहाड छ भने नारायणगढतर्फको साइडमा कमजोर खालको पहाड छ। समग्रमा हेर्ने हो भने १९ वटा पुल भएको स्थानमध्ये सबैभन्दा धेरै जोखिम तुइनखोलामै देखिन्छ। यो भन्दैमा अन्त जोखिम नै छैन भन्न खोजिएको होइन, तर अन्य स्थानको तुलनामा यहाँ पहिले देखि नै उच्च जोखिम थियो। पहिरो गएको पहाडमा स्लोभ पनि निकै ठाडो थियो। विस्तार विस्तारै क्षयीकरण हुँदै गएर अहिले पहिराेकाे भयावह रूप देखियो।
तुइनखोलाको जस्ताे पहिरोकाे जाेखिम नारायणगढ–मुग्लिन सडकखण्डको अन्य स्थानमा छ कि छैन?
तुइनखोलाको जस्तो जोखिम त अन्त देखिँदैन। अलिकति जोखिम भनेको नाम्सेखोला पुल र कालिखोला पुलमा हाे। कालिखोला पुलमा पनि पहिला धेरै नै समस्या भएको थियो। लगातार पहिरो जाने समस्या ३-४ वर्ष नै भयाे त्यहाँ पनि। तर यतिबेला कालिखोलामा पनि त्यस्तो ठूलाे समस्या देखिएको छैन। त्यहाँ पहिरो थुप्रिएको ठाउँमा गत जेठमा नै माथिसम्म तान्नसक्ने माटाे लङबुम मेसिन लगाएर सफा गरेका थियौँ। त्यहाँ जाेखिम नै नभएको त होइन, तर तुइनखाेलाकाे जस्तो रिक्स छैन।
दसैँको बेला पहिरोले मुख्य सडक नै बन्द हुँदा यात्रुहरू पीडामा छन्, अब उनीहरूले सुरक्षित र सहज यात्रा कसरी गर्ने?
शुक्रबार पहिरो गएदेखि नै हामीले सामाजिक सञ्जालको प्लेटफर्म मार्फत जनतालाई सुशुचित गराउने काम गरिरहेका छौँ। यात्रुले यस सडकको विषयमा जानकारी लिएर मात्रै यात्रा गरुन्, अथवा वैकल्पिक मार्ग प्रयोग गरुन् भन्ने नै हाम्राे पहिलो उदेश्य हो।
यो सडकखण्ड सुचारु नभएसम्मका लागि पृथ्वी राजमार्ग भएर यात्रा गर्ने यात्रुका लागि मलेखुबाट धादिङवेशी निस्किएर गोर्खाको आबुखैरेनी हुँदै पोखरा टु-काठमाडौँको यात्रा गर्न सकिन्छ। साना सवारीहरूचितवनको जुटपानी, शक्तिखोर, मायाटार हुँदै धादिङको मलेखु निस्किन सक्छन्।
यता, काठमाडौँबाट तराई झर्ने अथवा पश्चिम जाने यात्रुहरूले काठमाडौँ–कुलेखानी–सिस्नेरी हेटौँडाको सडक प्रयोग गरेर हेटौँडा हुँदै निस्कन सक्नुहुन्छ। नौबिसे दामन हुँदै हेटौँडा निस्किने सडक पनि सुचारु छ।
ठूला सवारी र मालबहाक ट्रकहरू कान्तिपथ हुँदै हेटौँडा निस्किएर पूर्व–पश्चिमको यात्रामा लाग्न सकिन्छ। काठमाडाैँ-सिन्धुली-बर्दिवास सडक पनि छ। यी वैकल्पिक मार्गहरू प्रयोग गरेर सवारीलाई व्यवस्थित गरेर यात्रुलाई दसैँमा आफ्नो गन्तव्यतर्फ जान मेराे आग्रह छ।
Shares

प्रतिक्रिया