कर्णाली


रुकुम पश्चिममा जनार्दन शर्मालाई ५ प्रतिस्पर्धीको चुनौती

स्थानीयको परिणामले माओवादी एक्लै बलियो
रुकुम पश्चिममा जनार्दन शर्मालाई ५ प्रतिस्पर्धीको चुनौती

फाइल तस्बिर


दिनेश बुढा
कात्तिक १०, २०७९ बिहिबार ८:२, सुर्खेत

नेकपा (माओवादी केन्द्र) को गढ मानिएको रूकुम पश्चिममा तीन दलबीच चुनावी रस्साकस्सी हुने भएको छ।

आगामी मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि पाँचदलीय गठबन्धनको तर्फबाट माओवादी तथा नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवारबीच प्रतिस्पर्धा हुने भएको हो।

प्रतिनिधि सभातर्फ एक र प्रदेश सभातर्फ दुई वटा निर्वाचन क्षेत्र रहेको रूकुम पश्चिम माओवादीको गढका रुपमा चिनिन्छ।

जनयुद्धदेखि नै माओवादीको आधार इलाकाका रहेको यहाँ गणतन्त्रपछिका सबै निर्वाचनमा उसले ठूलो मतान्तरसहित जित्ने गरेको छ। 

यो अर्थमन्त्रीसमेत रहेका माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माको गृह जिल्ला हो। आफ्नो व्यक्तिगत प्रभावका अलावा माओवादीको संगठनात्मक आधारमा कारण शर्माले गणतन्त्रपछिका सबै निर्वाचन जितेका छन्। 

यसपटक वाम–लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार उनलाई जित हासिल गर्न अझै सहज हुने मानिएको छ।

जनार्दनको पकड
शर्माले १४ वर्षको उमेरका २०३४ मा तत्कालीन कम्युनिस्ट पार्टी चौमको सदस्यता लिएका थिए।

एसएलसी उत्तीर्ण गरेपछि कृषि विषय पढेका उनी राजनीतिलाई अघि बढाउन जिल्लामै जेटिएको जागिर खाएका थिए। 

रूकुमबाट दैलेख सरुवा गरिएपछि शर्माले २०४३ मा जेटिएबाट राजीनामा दिएका थिए। त्यसअघि नै उनी २०३८ मा तत्कालीन कम्युनिस्ट पार्टीको रुकुम जिल्ला सदस्य भइसकेका थिए।   

२०४६ मा बहुदलीय व्यवस्थाको पुनस्थापनापछि भएको पहिलो आमनिर्वाचन– २०४८ मा तत्कालीन संयुक्त जनमोर्चाबाट रुकुम-२ मा प्रतिस्पर्धा गरेका शर्मा नेपाली कांग्रेसका गोपालजीजंग शाहसँग पराजित भएका थिए। 

शाहले १२ हजार ४ सय ४१ मत प्राप्त गर्दा निकटम प्रतिद्वन्द्वी शर्मालाई ११ हजार १ सय २६ मत प्राप्त भएको थियो। 

२०४७ मा आफूलाई पराजित गरेका शाहसँग २६ वर्षपछि शर्माले बदला लिए। २०७४ को निर्वाचनमा शर्माले कांग्रेस उम्मेदवार शाहलाई ठूलो मतान्तरले हराए। विजयी शर्मा र पराजित शाहबीचको मतान्तर १८ हजार ७ सय ४३ थियो । 

२०५२ देखि सुरु भएको माओवादी सशस्त्र युद्धमा सुरुवातदेखि नै सहभागी शर्मा माओवादी सेनाका ४ जना डेपुटी कमान्डरमध्ये एक थिए।  

२०६४ पछिका सबै निर्वाचनका प्रतिस्पर्धी शर्मा ०६४ को पहिलो संविधान सभा निर्वाचनमा २२ हजार ५ हजार ७५ मतका साथ विजयी भए।

०७० को निर्वाचनमा ३० हजार २ हजार ७० मत प्राप्त गरेका उनले ०७४ को निर्वाचनमा ३४ हजार ४ सय २ मत प्राप्त गरी विजय हासिल गरे।

यसरी हेर्दा हरेक निर्वाचनमा उनी बढोत्तरी मतका साथ विजयी भएको देखिन्छ। 

जिल्लाबाट ह्याट्रिक गरिसकेका शर्मालाई शिक्षण पेशाबाट राजनीतिमा आएका एमालेका नन्दराम देवकोटाले चुनौति दिएका छन्।

एमाले केन्द्रीय सदस्यसमेत रहेका देवकोटा पार्टीका रूकुम पश्चिमका जिल्ला अध्यक्ष समेत हुन्। 

देवकोटा पनि एमालेभित्र खारिएका नेताका रूपमा चिनिन्छन्। उनी पहिलो पटक संसदीय चुनावको परीक्षामा छन्।

२०४६ सालबाट राजनीतिक यात्रा सुरु गरेका उनी २०५१ मा राष्ट्रिय प्रजातान्त्रिक युवा संघको कार्यालय सचिव थिए। 

२०५४ मा बाफीकोट गाविस अध्यक्ष समेत बनेका थिए। उनी २०५१ देखि निरन्तर एमालेको जिल्ला कमिटी सदस्य छन्। 

शिक्षण पेशामा रहेका बेला २०६२ मा नेपाल राष्ट्रिय शिक्षक संगठनको जिल्ला सदस्य, २०६९ केन्द्रीय सदस्य, २०७४ मा केन्द्रीय उपाध्यक्ष भए।  

‘एमाले यसपटक रूकुम पश्चिममा माओवादीको गढ भत्काउने योजनामा छ, जिल्लामा माओवादीको एकलौटीविरुद्ध एमाले बृहस्पति बनेको छ’ देवकोटाले नेपालखबरसँग भने, ‘२०५६ मा जिल्लाको एउटा निर्वाचन क्षेत्र र २०५४मा जिल्ला विकास समिति एकलौटी कब्जा गरेकाले यसपटक पनि त्यस्तै विजय हासिल गर्ने योजनामा छौँ।’  

रूकुम पश्चिममा प्रतिनिधि सभा सदस्यका लागि माओवादीबाट शर्मा र एमालेबाट देवकोटासहित ६ जना उम्मेदवार छन्।

जसमा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट दीपककुमार मल्ल, मंगोल नेशनल अर्गनाइजेसनबाट हरिबहादुर पुन तथा तारक केसी र राजन पाण्डे स्वतन्त्र उम्मेदवार छन्। 

रूकुम पश्चिममा १ लाख ४ हजार २ सय ७० मतदाता छन्। मतदानका लागि १ सय ३९ मतदान केन्द्रको व्यवस्था गरिएको छ।  

एमाले, राप्रपा, मंगोल नेशनल अर्गनाइजेसन र स्वतन्त्र उम्मेदवारहरुले शर्मालाई चुनौति दिए पनि स्थानीय तह निर्वाचनमा प्राप्त मतका आधारमा शर्मा चुनौतिहीन जस्तादेखिन्छन्।  

गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा रूकुम पश्चिममा माओवादी केन्द्रका वडाध्यक्षका उम्मेदवारले ३७ हजार १ सय २ मत पाएका थिए।

कांग्रेसका उम्मेदवारहरुले प्राप्त गरेको मत २६ हजार ६ सय २० थियो भने नेकपा एकीकृत समाजवादीका उम्मेदवारले १ सय ३० र एमालेका उम्मेदवारहरुले ६ हजार १ सय २४ मत हासिल गरेका थिए।  

स्थानीय तह निर्वाचनमा सत्तागठबन्धनले प्राप्त गरेको मत सुरक्षित गर्न सक्यो भने शर्मा निकै ठूलो मतान्तरका साथ विजयी हुने स्थिति देखिन्छ। 

प्रदेश सभा (१) 
जिल्लाका दुई प्रदेश सभामध्ये प्रदेश सभा (१)मा एमालेबाट नारायणकुमार शाह, माओवादी केन्द्रबाट महेन्द्र केसी र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट विनोदकुमार शाह उम्मेदवार छन्। 

प्रदेश सभाको यो निर्वाचन क्षेत्रमा माओवादी केन्द्रका केसी र एमालेका शाहबीच मुख्य प्रतिस्पर्धा हुने देखिन्छ। एमाले उम्मेदवार शाह पूर्व पत्रकारसमेत हुन्। शाहले २०४७ मा अनेरास्ववियूबाट राजनीति सुरु गरेका हुन्।  

यो प्रदेश सभामा ०७४ मा माओवादी केन्द्रका रातो कामी १६ हजार ८ सय १० मतसहित विजयी भएका थिए। निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका कृष्णबहादुर रोकायालाई ८ हजार ५ सय ७७ मत प्राप्त भएको थियो। 

यो प्रदेशमा बाँफीकोट गाउँपालिका, आठबीसकोट नगरपालिका र मुसिकोट नगरपालिकाका १ नम्बर वडादेखि ११ नम्बर वडा पर्दछन्।

यस निर्वाचन क्षेत्रमा गत स्थानीय तह निर्वाचनमा वडाअध्यक्षतर्फ माओवादी केन्द्रका उम्मेदवारले १७ हजार ५ सय १२, नेपाली कांग्रेसका उम्मेदवारले १२ हजार ८ र एमाले उम्मेदवारले ४ हजार २ सय ७ मत प्राप्त गरेका थिए। 

यो निर्वाचन क्षेत्रमा ५२ हजार २ सय ७२ मतदाता र ७१ वटा मतदान केन्द्र रहेका छन्।

प्रदेश सभा (२)
प्रदेश सभा (२) मा नेकपा एमालेका कर्णबहादुर घर्तिमगर, माओवादी केन्द्रका राजकुमार शर्मा र राष्ट्रिय प्रजातन्त्र पार्टीका निर्जल केसी उम्मेदवार बनेका छन्। माओवादीबाट उम्मेदवार बनेका राजकुमार शर्मा कर्णाली प्रदेशको मुख्यमन्त्रीका दाबेदार समेत हुन्। 

यस निर्वाचन क्षेत्रबाट २०७४ को निर्वाचनमा माओवादीका गोपाल शर्माले १८ हजार ५ सय ८७ मतका साथ विजयी भएका थिए।

शर्माले नेपाली कांग्रेसका खडकबहादुर डाँगीलाई पराजित गरेका थिए। डाँगीले ८ हजार १२७ मत पाएका थिए।

यो निर्वाचन क्षेत्रमा मुसिकोट नगरपालिकाको १२, १३, १४, चौरजहारी नगरपालिका, त्रिवेणी गाउँपालिका र सानीभेरी गाउँपालिका समेटिएका छन्। 

गत स्थानीय तह निर्वाचनमा वडाअध्यक्षतर्फ सबैभन्दा बढी मत माओवादी केन्द्रका उम्मेदवारले प्राप्त गरेका थिए।

माओवादी केन्द्रका उम्मेदवारहरुले १८ हजार ५ सय ९०, नेपाली कांग्रेसका उम्मेदवारहरुले १४ हजार ५ सय ४२ र एमालेका उम्मेदवारहरुले १ हजार ९ सय १७ मत प्राप्त गरेका थिए। 

यो निर्वाचन क्षेत्रमा ५२ हजार ८ मतदाता र ६४ मतदान केन्द्र रहेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .