ad ad

कर्णाली


कर्णालीमा यस्तो छ निर्वाचन सुरक्षा तयारी, तिब्बतसँग जोडिएका सबै सिमानाका बन्द

कर्णालीमा यस्तो छ निर्वाचन सुरक्षा तयारी, तिब्बतसँग जोडिएका सबै सिमानाका बन्द

रुकुम पश्चिमको आठबीसकोट नगरपालिका–४ गोतामकोटको विष्टगाउँ। तस्बिर : रासस


दिनेश बुढा
मंसिर २, २०७९ शुक्रबार २०:५०, सुर्खेत

यही मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनका लागि कर्णाली प्रदेशभरको सुरक्षा कडा पारिएको छ। १० जिल्ला रहेको कर्णाली प्रदेशका सबै जिल्लामा नर्वाचनका लागि सुरक्षा कडा पारिएको हो। कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार प्रदेशभर १४ हजार ८०७ सुरक्षाकर्मी परिचालन गरिएको छ।

कार्यालयका वरिष्ठ प्रहरी उपरीक्षक एवम् प्रवक्ता माधवप्रसाद श्रेष्ठले निर्वाचनलाई निष्पक्ष, भयरहित बनाउन मतदानस्थलमा पाँच हजार ७२९ जना नेपाल प्रहरी र नौ हजार ७८ जना म्यादी प्रहरी गरी १४ हजार ८०७ जना सुरक्षाकर्मी खटाइएको जानकारी दिए। 

श्रेष्ठका अनुसार निर्वाचनलाई शान्तिपूर्ण बनाउनका लागि प्रहरीबाट मतदानस्थल रहेको वडा क्षेत्रमा पैदल गस्ती, प्रत्येक नगरपालिका तथा गाउँपालिकामा सिनियर प्रहरी अधिकृतको कमाण्डमा गाडी मोबाइल गस्ती र रिजर्भ टोलीसमेतको व्यवस्था गरी सुरक्षा प्रबन्ध मिलाइएको छ। निर्वाचन आयोगको कर्णाली प्रदेश कार्यालयले अनुसार सबै जिल्लामा रहेका मतदान केन्द्रमा कर्मचारीहरु खटिसकेको बताएको छ। 

कर्णालीमा १० लाख ८ हजार ४०३ मतदाता रहेका छन् भने १ हजार ४७६ मतदान केन्द्र रहेका छन्। जसमा हुम्ला जिल्लामा ३२ हजार ८५७ मतदाता संख्या, मतदान केन्द्र ५९, डोल्पामा २२ हजार ७७२ मतदाता संख्या, ६६ मतदान केन्द्र, सुर्खेतमा २ लाख ४३ हजार ६१४ मतदाता र मतदान केन्द्र २९३, दैलेखमा १ लाख ५८ हजार ९५८ मतदाता संख्या र मतदान केन्द्र २८०, रुकुम पश्चिममा १ लाख ४ हजार २८० र मतदान केन्द्र १३९,  कालीकोटमा ८० हजार ७३३ मतदाता संख्या र मतदान केन्द्र १२३, जाजरकोटमा १ लाख ३ हजार ३६३ मतदाता संख्या र मतदान केन्द्र १४२, जुम्लामा ६८ हजार ६३८ मतदाता संख्या र मतदान केन्द्र १०६, मुगुमा ३५ हजार ४८५ मतदाता संख्या र मतदान केन्द्र ६६ र सल्यानमा १ लाख ५७ हजार ७०१ मतदाता संख्या र मतदान केन्द्र २०२ रहेका निर्वाचन अयोगले जनाएको छ। 

यस्तै, कर्णालीमा सुरक्षाका दृष्टिकोणले ३४५ मतदान केन्द्र अति संवेदनशील मानिएका छन् भने ४१३ मतदान केन्द्र संवेदनशील रहेका आन्तरिक मामिला मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार कुनै घटना घटेमा १५–३० मिनेट भित्र मतदान केन्द्रमा पुग्ने गरि नेपाली सेनालाई तयारी अवस्थामा राखिएको छ।     

निर्वाचन आयोग कर्णाली प्रदेश कार्यालय प्रमुख दुर्गाप्रसाद चालिसेले कर्णाली प्रदेशका डोल्पाका केही ठाउँहरूबाहेक सबै जिल्लामा मतदान अधिकृत, कर्मचारी तथा सामग्री पुगिसकेको जानकारी दिए। उनले हिमपात भएका कारण माथिल्लो डोल्पाका केही मतदान केन्द्रमा कर्मचारी र सामग्री पुग्न बाँकी रहेकोले शुक्रबार बेलुकासम्म नेपाली सेनाको सहयोगमा पुर्याइने उनले बताए।

यस्तै, माथिल्लो कर्णालीका जिल्लामा हिमपात सुरु भएका कारण हेलिकप्टर मतपेटिका ढुवानी तथा निर्वाचन सामग्री ओसारपसारको गरिएको निर्वाचन आयोगले जनाएको छ। 

सुर्खेत जिल्लाभर ३ हजार ५०० सुरक्षाकर्मी परिचालन गरिएको छ। सुर्खेतमा १३९ स्थायी तथा दुईवटा अस्थायी मतदान स्थल छन्। तीमध्ये २० वटा अति संवेदनशील, ८६ वटा संवेदनशील र ३५ वटा सामान्य मतदानस्थल छन्।

सुर्खेतका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालका अनुसार नेपाल प्रहरीका १९ वटा मोबाइल टोली, दुइटा रिजर्भ टोली, जिल्लाभर निगरानी गर्नेगरी प्रहरी नायब उपरीक्षकको कमाण्डमा एउटा टोली परिचालन गरिएको छ।

यस्तै, सुर्खेत जिल्लाभर सशस्त्र प्रहरीको १२ वटा मोबाइल टोली परिचालन गरिएको छ। सशस्त्र प्रहरीकै चार वटा स्ट्राइकिङ फोर्स र दुइटा निर्वाचन सुरक्षा बेस परिचालन गरिएको छ।

सुर्खेतका १३९ स्थायी मतदानस्थल, दुइटा अस्थायी मतदानस्थल अन्तर्गतका २९३ वटा मतदान केन्द्रमा कर्मचारी र निर्वाचन सामग्री पुगिसकेका छन्।

प्रदेशभर ३४८ कैदीबन्दीले मतदान गर्न पाउने
कर्णाली प्रदेशभर ३४८ जना कैदीबन्दीले मतदान गर्न पाउने भएका छन्। कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार मंसिर ४ गते हुने आम निर्वाचनका लागि ३४८ जना कैदीबन्दी मतदानमा सहभागी हुनेछन्।

कार्यालयका अनुसार सुर्खेतमा १०१, डोल्पामा १४, दैलेखमा ६३, रुकुम पश्चिममा ६६, जाजरकोटमा ३२, कालीकोटमा २३, सल्यानमा १८, जुम्लामा १४ र हुम्लामा १७ कैदीबन्दी मतदानमा सहभागी हुने प्रवक्ता श्रेष्ठले जानकारी दिए। 

तिब्बतसँग जोडिएका कर्णालीका सबै सिमानाका बन्द
चीनको तिब्बतसँग जोडिएका कार्णालीका सिमानाका बिहीबार राति १२ बजेदेखि नै बन्द गरिएको छ। प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनलाई लक्षित गर्दै सुरक्षा व्यवस्थालाई कडाइका लागि कर्णाली र तिब्बतसँग जोडिएका सीमा नाका बन्द गरिएको हो।

चीनको तिब्बतसँग नाका जोडिएका कर्णाली प्रदेशका हुम्ला र डोल्पा जिल्लाका सिमानाकामा सुरक्षा व्यवस्थालाई कडा पारिएको हो। हिमाली जिल्ला हुम्लामा चीनसँग जोडिएका सिमानाकाहरु भने पूर्णरुपमा बन्द गर्ने निर्णय भएको हुम्लाका प्रमुख जिल्ला अधिकारी सीता परियारले नेपालखबरलाई जानकारी दिइन्। 

हुम्लाको नाम्खा गाउँपालिकामा पर्ने हिल्सा नाकालाई तिब्बतसँग जोडिएको ठूलो नाकाको रुपमा लिइन्छ। उक्त नाका बिहीबार स्थिर समय सुरुभएदेखि बन्द गरिएको छ। हिल्सा बाहेक हुम्ला जिल्लाका अन्य लिमी लाप्चा, दोजाङ, नेप्का लगायतका साना खुला सीमाहरुमा पनि सुरक्षा व्यवस्थालाई कडा गरिएको छ।

यस्तै, डोल्पाका सायक प्रमुख जिल्ला अधिकारी मिनराज रिमालले डोल्पा र तिब्बतसँग जोडिएको तितर नाका कोभिडको समयदेखिनै आवजजावतमा पूर्ण रुपमा बन्द गरिएको जानकारी दिए। 

उनले भने, ‘हिजो आज तितर नाका बन्द अवस्थामै रहेको छ। त्यहाँ यसअघिदेखिनै कडा सेक्युरेटी प्रदान गरिएको अवस्था रहेको छ भने तितर नाकासहित खुला सिमानाका क्याटो र मरिममा पनि सुरक्षामा कडाई गरिएको छ।’

यस्तै, कर्णाली प्रदेशको राजधानी समेत रहेको सुर्खेतको बइई नाकालाई पनि निगरानी गरिएको सुर्खेत प्रशासनले जनाएको छ। कर्णालीको भारतसँग जोडिएको सीमा नाका छैन। कर्णालीको दक्षिणतर्फ सीमामा पर्ने लुम्बिनी प्रदेशका बाँके र बर्दियासँग भारतको सीमाना जोडिएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .