ad ad

कर्णाली


विनोद शाहको राजनीतिक यात्रा : प्रधानपञ्चदेखि प्रदेश मन्त्रीसम्म

विनोद शाहको राजनीतिक यात्रा : प्रधानपञ्चदेखि प्रदेश मन्त्रीसम्म

दिनेश बुढा
माघ १३, २०७९ शुक्रबार १३:४१, सुर्खेत

दैलेखका विनोदकुमार शाह कर्णाली प्रदेशको आर्थिक मामिला तथा योजनामन्त्री बनेका छन्। शाहलाई कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले अर्थ मन्त्रीमा नियुक्त गरेका हुन्।  

२०५१ सालमा नेपाल मजदुर किसान पार्टीको तर्फबाट दैलेख क्षेत्र नम्बर–२ बाट नेपाली कांग्रेसका रंगबहादुर शाहीलाई पराजित गर्दै संसदीय राजनीतिमा उदाएका हुन् शाह।

हाल नेकपा (एमाले) कर्णाली प्रदेश अध्यक्ष रहेका शाह गत मंसिर ४ गते भएको आम निर्वाचनमा दैलेख निर्वाचन क्षेत्र नम्बर–२ प्रदेश (२)बाट निर्वाचित भएका थिए। 

२०१३ वैशाखमा दैलेखको ठाँटीकाँध गाउँपालिका–१ मा जन्मिएका शाह १९ वर्षको उम्मेरदेखि राजनीतिक यात्रामा होमिए। शाहले २०३२ सालमा भारतको नैनीतालबाट स्नातक तहमा अध्ययन गरिरहेको समयमा नेपालमा बहुदलीय व्यवस्था स्थापनाका लागि संघर्षरत राजनीतिक दलको सम्पर्कमा आएर राजनीतिको सुरूआत गरेका थिए। 

उनले २२ वर्षको उमेरमा २०३५ सालमा नारायणमान विजुक्छे नेतृत्वको नेमकिपाको सदस्यता लिएर २०३५/३६ सालमा बहुदलीय व्यवस्था स्थापनाको लागि दैलेख जिल्लामा नेतृत्वदायी भूमिका खेलका थिए। त्यहीक्रममा शाहले करिब १ वर्ष जेल जीवन बिताए।

त्यसपछि उनी नेपालगञ्ज जेलबाट भागेर ७ महिना भारत हानिए। सरकारले घोषणा गरेको आममाफी पश्चात नेपाल फर्केर शाह पूर्ववत रुपमा राजनीतिमा सक्रिय रहेको नेपालखबरसँगको कुराकानीमा बताए।

शाहले २०४६ देखि २०४९ सम्म नेमकिपाको केन्द्रीय सदस्य हुँदै सचिवालय सदस्यको जिम्मेवारीमा रहेर बहुदलीय व्यवस्था स्थापनाको आन्दोलनमा सक्रियरुपमा सहभागी भए। सोही क्रममा उनी पुनः ३ महिना जेल परे।

शाह नेपाल मजदुर किसान पार्टीको जिल्ला अध्यक्ष तथा प्रतिनिधि सभा सदस्य रहेकै अवस्थामा २०५२ सालमा एमाले प्रवेश गरेका थिए।
२०५१ सालमा नेमकिपाबाट दैलेख–२ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका शाह जलस्रोत सहायक मन्त्री बनेका थिए। 

शाह २०४३ सालमा नेमकिपाको तर्फबाट दैलेख जिल्लाको तत्कालिन लकान्द्र गाउँ पञ्चायतको प्रधान पञ्चमा निर्वाचित भएका थिए। 
त्यसअघि २०३७ देखि २०४२ सालसम्म शिक्षण पेशा अँगालेका उनले त्रिभुवन माध्यमिक विद्यालय, चामुण्डा माध्यमिक विद्यालय र श्रीकृष्ण निम्न माध्यमिक विद्यालयमा अध्यापन गरेका थिए। त्यही क्रममा उनले २०४० देखि २०४२ सम्म नेपाल राष्ट्रिय शिक्षक संगठनको केन्द्रीय सदस्यको जिम्मेवारी बहन गरे।

उनले ०४९ देखि २०५२ सालसम्म नेपाल मजदुर किसान पार्टीको दैलेख जिल्ला अध्यक्षको जिम्मेवारी सम्हालेका थिए। 

एमाले प्रवेश गरेपछि ०५२ सालमा एमालेको भेरी अञ्चल समन्वय कमिटी सदस्य बनेका शाह ०५४ सालमा नेपालगञ्जमा सम्पन्न एमालेको छैटौं राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय अनुशासन आयोगको सदस्य र राष्ट्रिय परिषद् सदस्य चयन भएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .