कर्णाली


रारा म्याराथन २२ वैशाखमा हुने

रारा म्याराथन २२ वैशाखमा हुने

नेपालखबर
बैशाख ४, २०८० सोमबार २०:७, काठमाडौँ

आगामी वैशाख २२ गते रारा म्याराथन हुने भएको छ।

मुगुको प्रख्यात रारा तालबाट सुरु हुने यो म्याराथन रारा ताल किनारमै पुगेर समापन हुनेछ। 

अन्तरालको आयोजना र व्यवस्थापनमा हुने यस म्याराथनमा मुगुका सबै स्थानीय तहहरु र विभिन्न संघ संस्थाहरुले सहकार्य गर्नेछन्। 

म्याराथनको रुट रारा ताल किनारबाट सुरु भइ मुर्मा टप, मुर्मा गाउँ हुँदै चुचेमारा हिमालको ४ हजार १ सय मिटरको उचाईमा पुगेर सल्लेरीतर्फ लाग्नु पर्नेछ।

त्यहाँबाट मुगुको एकमात्र विमानस्थल ताल्चा भएर सदरमुकाम गमगढी पुगेपछि पुनः रारा तालकै किनारमा पुगेर समापन हुने आयोजकले जनाएको छ। 

यस म्याराथनको महत्वपूर्ण आकर्षणको रुपमा राराताल वरीपरी १ फन्को लगाउने १५ किलोमिटर दौड हुनेछ।

फुल म्याराथनसँगै सुरु भएर धावकहरू ताल वरीपरी घुमेर पुनः स्टार्टिङ प्वाइन्टमै पुगेर यो दौड समापन हुनेछ।

दौडमा आन्तरिक पर्यटक र सर्वसाधारणको व्यापक सहभागिता हुने अपेक्षा राखिएको छ।

‘रारा म्याराथनले पश्चिम नेपालमा खेलकुदको सम्भावनालाई त उजागर गर्ने नै छ,’ म्याराथनका अध्यक्ष तथा अन्तरालका टिम लिडर जयनारायण शाहले भने, ‘बुद्ध पुर्णिमाको दिन सुन्दर रारातालबाट भाइचारा र विश्वशान्तिको सन्देश पनि  दिनेछ।’

रारा म्याराथनले खेलकुदसँगै आन्तरिक र बाह्य पर्यटनलाई अभिवृद्धि गर्ने अपेक्षा छ। म्याराथनका संरक्षक तथा मुगुबाट प्रतिनिधि सभा सदस्य ऐन बहादुर शाहीले रारा म्याराथनले खेलकुदसँगै मुगु र कर्णालीको समग्र विकासमा योगदान पुर्याउने विश्वास व्यक्त गरे।

‘रारा म्याराथनले विश्व समुदायलाई मुगुमा आकर्षित गर्नेछ’, सांसद शाहीले भने ‘यो म्याराथन सफल पार्न सिंगो मुगु जिल्ला एकजुट भएर लागेको छ।’

रारा म्याराथनले स्थानीय खेलाडीहरु उत्पादनमा विशेष जोड दिनेछ।

यस वर्ष मुगुका खेलाडीहरुलाई म्याराथनमा भाग लिदां कुनै पनि शुल्क लाग्ने छैन। प्रत्येक स्थानीय तहलाई सिफारिसको लागि संख्या भने तोकिने छ।

कर्णालीका खेलाडीहरूलाई विशेष सहुलियत हुने आयोजकले जनाएको छ। 

युवा खेलाडीहरुलाई १ हप्ताको विशेष ओरियन्टेशनमा सहभागी गराएर दौडका लागि प्रोत्साहित गरिनेछ।

यसका लागि रारा म्याराथनकी सद्भावना दुत विश्वकिर्तिमानी अल्ट्रा म्याराथन धाविका मीरा राई सहितको टिम १ साता अघि नै मुगु पुगिसक्नेछ। 

रारा म्याराथनमा धाविका मीरा राईको अगुवाईमा संचालित मीरा राई इनिसीयटिभले पनि सहकार्य गरेको छ।

इनिसीयटिभले ‘स्तुपा टु स्तुपा’ र भोजपुर ट्रेल रेसको आयोजना गर्दै आएको छ भने देशैभरबाट किशोरीहरुलाई काठमाडौंमा लगेर दौड, क्षमता अभिवृद्धि, अग्रेंजी लगायतका भाषा तालिम आवासीय रुपमा संचालन गर्दै आएको छ। 

‘आगामी वर्षदेखि धाविका मीरा राई हरेक वर्ष कम्तिमा डेढ महिना मुगुमा भेटिनेछन्,’ शाहले भने, ‘निकट भविष्यमा मुगुका किशोरीहरुबाट अन्तराष्ट्रिय खेलाडी उत्पादन गर्ने हाम्रो लक्ष्य छ।’

सुन्दर ताल राराको नाममा तयारी शुरु गरिएको म्याराथनको सद्भावना दुत भएर काम गरिरहँदा आफुले गौरव बोध गरेको बताउँदैं मीरा राई भन्छिन्, ‘म रारामा नेपाली मात्र होइन विश्वकै खेलाडीहरुलाई निमन्त्रणा गर्दछुँ।’

विकट कर्णालीका किशोरीहरुसँग काम गर्न पाउँदा आफु निकै उत्साहित भएको उनले बताइन्।

‘पहिलो चरणमा किशोरीहरुलाई खेलकुद प्रशिक्षण सुरु गरिनेछ’ सांसद शाहीले भने, ‘निकट भविष्यमा समग्र खेलकुद समेट्ने गरी बृहत प्रशिक्षण गरिनेछ।’

म्याराथनका अध्यक्ष जयनारायण शाहले यस म्याराथनबाट  कर्णालीमा हुने दशौं राष्ट्रिय खेलकुदको आयोजनाको लागि पनि सकारात्मक सन्देश दिने बताए।

कर्णाली खेलकुद परिषदका सदस्य सचिव विश्वमित्र सञ्ज्यालले रारा म्याराथन कर्णालीको खेलकुद विकासमा एउटा कोशेढुंगा सावित हुने विश्वास व्यक्त गरे।

‘हामी दशौं राष्ट्रिय खेलकुदको तयारीमा जुटिरहेका बेला हुन लागेको रारा म्याराथनलाई परिषदले पुर्ण रुपमा सघाउनेछ,’ सदस्य सचिव सञ्ज्यालले भने, ‘रारामा राष्ट्रिय, अन्तराष्ट्रिय धावक र पाहुनाहरुलाई स्वागत गर्न कर्णाली खेलकुद परिषद् आतुर छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad