कर्णाली


वीरेन्द्रनगरमा ८ सय अटो दर्ता, गुड्छन् २२ सयभन्दा बढी

क्षमता साढे ९ सय मात्रै
वीरेन्द्रनगरमा ८ सय अटो दर्ता, गुड्छन् २२ सयभन्दा बढी

दिनेश बुढा
बैशाख १५, २०८० शुक्रबार ७:४७, सुर्खेत

कर्णाली प्रदेशको राजधानीसमेत रहेको वीरेन्द्रनगर नगरपालिकामा दिनप्रतिदिन मानिसहरुको चाप बढ्दो छ। उच्च शिक्षाको अध्ययनसँगै रोजगारी, विभिन्न लोकसेवा तथा शिक्षक सेवा आयोगको तयारीका लागि पनि अन्य जिल्लाबाट मानिसहरु वीरेन्द्रनगर झर्ने क्रम बढ्दो छ।

मानिसहरुको चाप बढेसँगै वीरेन्द्रनगरमा अटो रिक्साको संख्यासमेत बढेको छ। अटोको संख्या बढ्दा वीरेन्द्रनगरमा यात्रालाई सहज त भएको छ भने अर्कोतर्फ दुर्घटनासमेत बढाएको छ। अटोको व्यवस्थापन हुननसक्दा वीरेन्द्रगर बजार क्षेत्र अवस्तव्यवस्त त छ नै, कतिपय अटोमा यात्रा गर्ने यात्री अटो चालकबाटै ठगिने गरेका घटना पनि देखिन थालेका छन्। 

केही अटो सञ्चालकहरुले उचित गन्तव्यसम्म पुर्याउनुको साटो यात्रुलाई लुटेर पैसा कमाउने उदेश्यले अटो चलाउने गरेको गुनासो आउने गरेको छ। वीरेन्द्रनगरमा सञ्चालनमा भइरहेका अटोका चालकहरु आधिकांश २० देखि ३० वर्ष उमेरका भेटिन्छन्। उनीहरुले वीरेन्द्रनगगर नगरपालिकाले तोकेको भाडा दर भन्दा मनलाग्दी तरिकाले यात्रुबाट असुल्ने गरेका यात्रुहरुको गुनासो छ। 

अटो चालकबाट ठगिएको कुरा प्रहरीलाई सुनाएपनि कुनै सुनुवाइ नभएको वीरेन्द्रनगर–४ बस्ने १८ वर्षीया निमा क्षेत्रीले गुनासो गरिन्।

उनले भनिन्, ‘हिजो आजको समय गर्मी छ। बिहान स्कुल जान्छु। कोठामा फर्किंदा बिहान ११ बजिसकेको हुन्छ। गर्मीले हिँड्न गाह्रो भएपछि कहिलेकाहीँ अटोमा घर फर्किन्छु। कहिले ३०, कहिले ४०, कहिले ५० त कहिले ६० रुपैयाँ तिर्नुपर्छ।’

उनले थपिन्, ‘अटो कुन यातायात प्रालिमा दर्ता गरिएको हो? त्यो पनि अटोमा नाम उल्लेख गरेको हुँदैन। भाडादर पनि अटो चालकले आफूसँग कहिल्यै राखेका हुँदैनन्। पैसा छैन भन्दा पनि मान्दैनन्। उनीहरुले जति मागे उति नै दिनुपर्छ। नदिएपछि विभिन्न प्रकारको धम्की दिने जहाँबाट आएको हो त्यहीँ लगेर पुर्याइदिन्छु भन्दै अटो मोड्न थाल्छन्।’

साथै, उनले अटो चालकले यसरी ठग्दै आएको कुरा प्रहरीलाई भन्छु भन्दा केही अटो चालकले ‘भने पनि केही हुँदैन ट्राफिक प्रहरीलाई हामीले दैनिक सय रुपैयाँ तिर्ने गरेका छौँ’ भन्दै जवाफ फर्काउने गरेको बताइन्। 

उनले भनिन्, ‘अधिकांश अटो चालकलाई राम्रोसँग चलाउन पनि आउँदैन। अटो चालकको लागि लाइसेन्स पनि हुँदैन। त्यसैले होला प्रहरी पनि अटोचालकसँग मिलेको।’ 

उनले अटोचालकले भनेजस्तै ट्राफिक प्रहरीले दैनिक प्रत्येक अटोबाट एक सय रुपैयँउठाउने गरेको कुरा सत्य हो भने नगरपालिकाले अनुगमन गरी कारबाही गर्नुपर्ने बताइन्।

कतिपय अटो चालकले यात्रुलाई ठगेको समेत पाइएको छ। घर, घडेरी किन्नका लागि माथिल्लो कर्णालीका जिल्लाहरु सँगै दैलेखबाट सुर्खेत झरेका अशिक्षित वृद्धाहरु ठगीको सिकार हुने गरेका छन्। उनीअरु अटोमा बसेर यात्रा गर्दै गर्दा घर/घडेरीका खरिदका बारेमा आफन्त तथा साहुसँग फोनमा गरेको कुराकानीका आधारमा लुटिने गरेको पीडितको गुनासो छ। 

रुट पर्मिट नलिई अटो सञ्चालन
यस्तै, वीरेन्द्रनगर नगरपालिकाको उद्योग तथा नियमन शाखाले गत चैत २८ गते नगर क्षेत्रभित्र सञ्चालनमा रहेका अटो तथा ई रिक्साहरुलाई शीघ्र दर्ता प्रक्रियामा ल्याउन अनुगमन गरेको थियो। शाखा प्रमुख टेकप्रकाश लामिछानेको संयोजकत्वमा भएको अनुगनमा क्रममा विभिन्न समस्या देखिएको थियो।

जसमा धेरैजसो अटो चालकले रुट पर्मिट नलिई नगर क्षेत्रभित्र अटो र ई–रिक्सा सञ्चालन गरिरेको समितिले जनाएको छ।

यस्तै, कतिपय अटो चालकले अटो सञ्चालनका लागि आवश्यक पर्ने कागजात नबोकी हिँड्ने, पाकिङ्ग गर्नुपर्ने ठाउँमा पार्किङ्ग नगरेको, यात्रु सुरक्षाका उपाय अवलम्वन नगरेको, भाडादरमा एकरुपता नभएको जसले गर्दा यात्रुबाट मनलाग्दी भाडा असुल्लने गरेको अनुगमनका क्रममा देखिएको छ। यस्तै, अनुगमनबाट नियमानुसार स्टिकर नलिइएको, अटोसम्बन्धी यातायात प्रा.लिमा दर्ता नगराई निजी अटोमा भाडामा यात्रु ओसारपसार गरेको पत्ता लागेको छ। 

नगरपालिकामा ८ सय दर्ता, गुड्छन् २२ सय बढी अटो 
वीरेन्द्रनगर नगरपालिकाले नगरपालिकमा हालसम्म करिब ८४६ मात्रै अटो तथा ई रिक्सा दर्ता भएका जनाएको छ। नगरपालिका पालिकाले अटो व्यवस्थापन सम्बन्धी बनाएको कार्यविधी–२०७४ अनुसार वीरेन्द्रनगरमा अटोको क्षमता साढे ९सय हो।

तर, यहाँ २२ सय भन्दाबढी गुड्ने गरेका छन्। नगर भित्र सञ्चालन हुने अटोको संख्यामा हालसम्म दर्ता हुनुपर्ने ९४५ वटा हुन्। हालसम्म साढे ८ सय मात्रै दर्ता भएका छन्। आवश्यक भन्दा धेरै अटो वीरेन्द्रनगरमा भित्रिएपछि दुर्घटनासँगै अन्य जोखिमहरु हुने गरेका छन्। 

नगरपालिकाले अन्य १३ सय दर्ता नभएका अटो वीरेन्द्रनगरमै सञ्चालन हुने भए दर्ता प्रक्रियामा आएर मात्रै चलाउने पाउने जनाएको छ। साथै, दर्ता नगरेर अटो सञ्चालन गर्दा दर्ता प्रक्रियामा आएका अटोलाई अफ्ठ्यारोका साथै सडक सुरक्षा असुरक्षित भएको नगरपालिकाको ठहर छ।

उद्योग शाखाका चक्रबहादुर थापाले अटो सञ्चालक, यातायात कार्यालय, जिल्ला प्रशासन, वीरेन्द्रनगर नगरपालिका मिलेर सडकलाई सुरक्षित बनाउनु पर्ने बताए। 

उनले भने, ‘सडकलाई सुरक्षित र व्यवस्थित बनाउनका लागि हाअी सबै भूमिका रहेको हुन्छ। जसका लागि चालकहरुले अटोका दर्ता प्रक्रिया टुङ्गाउनु पर्छ। राज्यले हामीलाई सबै सेवा सुविधा दिनुपर्छ भन्ने तर, आफूले गर्नुपर्ने काम, कर्तव्य पालना गर्नुपर्छ।’ 

थापाले अटो सञ्चालकहरुले नगरपालिकामा गएर दर्ता, रुटपर्मिट, यातायात कार्यालयमा गएर ब्ल्युबुक नवीकरणका सँगै राज्यलाई कर पनि तिर्नुपर्ने र राज्यबाट उपलब्ध हुने सुविधामा पनि माग गर्ने सकिने बताए। 


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .