कर्णाली


इजरायलबाट परिवारलाई पदमको अन्तिम म्यासेज- ‘म मरेँ’

इजरायलबाट परिवारलाई पदमको अन्तिम म्यासेज- ‘म मरेँ’

फाइल तस्बिर : पदम थापा


दिनेश बुढा
असोज २४, २०८० बुधबार १३:५२, सुर्खेत

डोटीको आर्दश गाउँपालिका–५ साविकको लामिखाल गाविस–८ का २३ वर्षीय पदम थापा गत भदौ अन्तिम साता इजरायल उडे। सिक्दै कमाउँदै कार्यक्रमअन्तर्गत सूदुरपश्चिम विश्वविद्यालयको कृषि संकायका विद्यार्थीसँगै पदम पनि इजरायल पुगे। 

इजरायल पुगेको महिना दिन नपुग्दै अन्य विद्यार्थीसँगै पदम पनि आक्रमणमा परे। थापासँगै १० नेपाली विद्यार्थी गत शनिबार इजरायलमा प्यालेस्टाइनी लडाकु समूह हमासको हमलामा मारिए।

पदमले डोटीस्थित घरमा रहेका आमा/बुबासँग दुई दिनअघि मात्रै कुराकानी गरेका थिए। उक्त भिडिओ संवादमा पदमले भनेका थिए, ‘हामी सबै साथीहरुको काम सँगै पढाइ पनि राम्रो चलेको छ। अबको दुई/चार दिनमा पहिलो तलब पनि आउँछ होला। मेरो कुनै चिन्ता नलिनिुहोला।’

घरमा बुबा-आमासँग कहिलेकाहीँ कुरा गरे पनि जेठो दाइ दानबहादुर थापा र उनको श्रीमति जेठी भाउजूसँग भने पदम म्यासेन्जरमा कुरा गरिरहन्थे।

पदमका दाइ नाता पर्ने प्रेम थापाले पदमले इजरायलबाट परिवारका सदस्य जेठी भाउजूलाई अन्तिम सन्देश म मरेँ भनेर पठाएको बताए।

उनले भने, ‘जेठो भाउजू  (दानबहादुर थापाको श्रीमती) ले पदमलाई म्यासेन्जरमा आज यता नि भूकम्प आयो भनेर भन्नुभएको रहेछ। उताबाट केही सयमपछि एक्कासि रिप्लाई ‘म मरेँ’ भनेर आएछ’, प्रेमले भावुक हुँदै थपे, ‘पदम त्यतिबेला घाइते थियो वा के थियो म मरेँ भनेर म्यासेज पठाएछ। भाउजूले म्यासेज तत्काल हेर्न पाउनु भएन। पछि यताबाट ढिलागरी के भयो भनेर पठाएको म्यासेजको रिप्लाई नै आएन। तर, साँझ एकैचोटि सञ्चारमाध्यममा मृत्युको खबर आयो।’

प्रेमकाअनुसार पदमको जेठो दाइ दानबहादुर थापा आर्दश गाउँपालिकामा इन्जिनियर हुन् भने उनको श्रीमती पनि ओभरसियर हुन्। उनी दिपालयमा काम गर्छन्। 

पदमको घरमा बुबाआमासँग धेरैजसो कुरा नभए पनि दाइ दानबहादुर र भाउजूसँग भने निरन्तर सम्पर्कमा हुन्थे। दानबहादुरका अनुसार उनका दुईवटा छोरी छन्। छोरीलाई पमद औधी माया गर्थे। दैनिकजसो पदम दाइ दानबहादुरकी छोरी (भतिजी) सँग कुरा गर्थे, खबर सोधिरहन्थे। 

पदमका जेठो दाइ दानबहादुरले दसैँमा टीका लगाएको परिवारको फोटो सामाजिक सञ्जालमा राख्दै लेखेका छन्, ‘मेरो एउटा दीयो निभ्यो। कान्छा तेरो मात्र झलझली याद आउँछ। न निद्रा लाग्छ। न भोक लाग्छ। मेरो यस्तो परिवारमा को दैवको आँखा लाग्यो’ 

पदम सानै उमेरदेखि मेहनती थिए। उनले सरकारी विद्यालयबाट आधारभूत तहको शिक्षा आर्जन गरे। पदमले कक्षा १ देखि १० सम्म गाउँकै विद्यालयमा अध्ययन गरेका थिए। विज्ञान विषय लिएर ११-१२ भने पदमले धनगढीबाट पास गरेका थिए।  त्यसपछि सूदुरपश्चिम विश्वविद्यालयअन्तर्गत कृषि संकाय आईएस्सी सकेर सिक्दै कमाउँदै कार्यक्रमअन्तर्गत इजरायल गएका थिए। 

पदमका बुबाआमा गाउँमा किसानी काम गर्छन्। माइलो दाइ भीमबहादुर थापाले दिपायल डोटीमा बोर्डिंङ स्कुलमा पढाउँछन्।

पदमकी एउटी दिदी छन्, उनको विवाह भइसकेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .