ad ad

कर्णाली


जाजरकोटमा भूकम्पपीडितमा स्वास्थ्य समस्या बढ्दो, मृतकको संख्या १४ पुग्यो, के छ सरकारको प्रयास?

जाजरकोटमा भूकम्पपीडितमा स्वास्थ्य समस्या बढ्दो, मृतकको संख्या १४ पुग्यो, के छ सरकारको प्रयास?

जाजरकोटमा भूकम्पले घर भत्किएपछि त्रिपालमा बसिरहेका स्थानीय।


दिनेश बुढा
मंसिर १०, २०८० आइतबार ७:४०, सुर्खेत

बस्ने घर भूकम्पका कारण भत्किएपछि जाजरकोटमा चिसोले एकपछि अर्काे भूकम्पपीडितले ज्यान गुमाइरहेका छन्।

कठ्यांग्रिँदो चिसोमा खुला चौरमा त्रिपालको भरमा रात बिताइरहेका भूकम्पपीडितमा स्वास्थ्य समस्याले पनि सताइरहेको छ। 

चिसोकै कारण जाजरकोटमा अहिलेसम्म १४ जनाको मृत्यु भइसकेको छ।

स्थानीय जनप्रतिनिधिले उपलब्ध गराएको विवरणअनुसार हालसम्म जाजरकोटमा चिसोका कारण छेडागाड नगरपालिका–१३ थानबाडाकी ५६ वर्षीया मनसरी कामी, जुनीचाँदे गाउँपालिका–४, लुहादहकी ८९ वर्षीया सुगिली नेपाली, भेरी नगरपालिका–४, तल्याउनका केशव भडेल, भेरी-२ का ८८ वर्षीय धुलेश्वर कार्की र २ की एक महिने बालिका निरुता पुनको मृत्यु भएको हो। 

यसैगरी चिसोका कारण नलगाड नगरपालिका–४ की ४८ वर्षीया पम्फा रावल, ८४ वर्षीय गोपालबहादुर रावल र वडा नम्बर ८ टापुकी ७० वर्षीया विष्णुकुमारी खत्री, बारेकोट गाउँपालिका बयालाका ६० वर्षीय कर्णवीर विक र बारेकोट–६ ताँसीका ५५ वर्षीय वीरबहादुर विकको पनि मृत्यु भएको स्थानीय जनप्रतिनिधिले जनाएका छन्। 

बारेकोट गाउँपालिका–१, रामीडाँडाका ७० वर्षीय डुमे पुन र वडा नम्बर ४ जिरीका नरेन्द्रबहादुर सिंह, कुशे गाउँपालिका–५ की ६५ वर्षीया देवी मल्ल र वडा नम्बर ६ का ५५ वर्षीया गथु शाहीको पनि चिसोका कारण मृत्यु भएको स्थानीय जनप्रतिनिधिले जानकारी दिएका छन्। 

गत कात्तिक १७ गते राति ११:४७ बजे जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर गएको ६.४ म्याग्निच्युडको भूकम्पबाट जाजरकोट र रुकुम-पश्चिममा गरी १५४ जनाको मृत्यु भयो भने हजाराैँ घाइते भए। 

भूकम्पका कारण घर भत्किएपछि त्रिपालमुनि बस्न बाध्य भूकम्पीडितमा बालबालिका, सुत्केरी महिला, अशक्त तथा वृद्धवृद्धा बढी चिसोको मारमा परेका छन्। मृत्यु हुनेमा अधिकांश दीर्घरोगी छन्। 

नागरिक जोगाउन के गर्दै छ स्थानीय सरकार? 

हिउँदयाम सुरु भएसँगै जाजरकोटमा अत्यधिक चिसो बढेको छ। पहाडी जिल्ला भएका कारण यहाँका उच्च पहाडी तथा हिमाली भेगमा हिउँ पर्छ। चिसोको मारमा परेका नागरिकलाई न्यानो कपडा वितरण, तत्काल अस्थायी बास निर्माणलगायतका काममा अग्रसर भइरहेको दाबी स्थानीय सरकारले गरेको छ। 

छेडागाड नगरपालिकाका उपप्रमुख चन्द्रबहादुर थापाले भूकम्पपीडित नागरिकमा रुघाखोकी, निमोनियाजस्ता श्वासप्रश्वाससम्बन्धी समस्या देखिन थालेको बताए।

‘हाम्रो पालिकामा चिसोका कारण महिला, बालबालिका, विपन्न नागरिक, सुत्केरी महिला तथा ज्येष्ठ नागरिक बढी प्रभावित भएका छन्। मौसम परिवर्तनले ज्वरोलगायतका समस्या देखिन थालेको छ। दम तथा दीर्घरोगीमा झन् समस्या बढेको छ, उनले भने, भूकम्प प्रभावितहरूको त्रिपालमुनि बास भएका कारण सरुवा रोगको संक्रमण फैलिनसक्ने पनि देखिन्छ। रोग फैलिन नदिन पालिकाले आफैँ स्वास्थ परीक्षण गरी उपचार गर्ने योजना बनाएको छ।’

यस पालिकामा भूकम्पबाट ६ हजार ८ सय ७२ घरमा क्षति पुगेको छ। जसमा ४ हजार ५ सय परिवारको बास त्रिपालमा भएको उपप्रमुख थापाले बताए। 

पालिकाका सबै वडामा वडाध्यक्षको नेतृत्वमा विपद् व्यवस्थापन समिति गठन गरी सहयोगी/दाताबाट प्राप्त राहत सामग्री भूकम्पपीडितलाई वितरण गर्ने क्रम जारी रहेको नगरपालिकाले जनाएको छ। 

अस्थायी टहरा निर्माणका लागि स्थानीय सरकारले तत्काल काम थाल्ने, स्वास्थ्य शाखाबाट भूकम्पप्रभावितको स्वास्थ्य चेकजाँच गर्नेलगायत कार्यक्रम सञ्चालन गर्ने तयारी भइरहेको उपप्रमुख थापाले बताए।

यस्तै पालिकाका केही वडाका स्थानमा राहत सामाग्री वितरण जारी नै रहेको उनको भनाइ छ।

उनले भने, ‘भौगोलिक विकटताका कारणले केही ठाउँमा राहत सामाग्री पुर्‍याउन सकिएको छैन। प्रभावित क्षेत्रमा राहत पुर्‍याउने उद्देश्य पालिकाको छ र पुर्‍याउने प्रयास पनि जारी छ। हाम्रो पालिकामा केही रिमोट एरिया छन्। जस्तो : वडा नम्बर ७ को एउटा गाउँ जुम्ला जिल्लासँग सिमाना जोडिएको छ। त्यहाँ पनि एकसरो पाल, कम्बललगायतका सामग्री पठाइरहेका छौँ।’

उक्त स्थानका १८० घरधुरीध्ये ९० प्रतिशत प्रभावित भएका छन्। 

यस्तै बारेकोट गाउँपालिकाका उपाध्यक्ष नरबहादुर गिरीले भूकम्प प्रभावित नागरिकलाई राहत वितरण तथा अस्थाई टहरा निर्माण लगायतका विषयमा छलफलका लागि कार्यापालिकाको बैठक बसेको जानकारी दिए। 

उनले भने, ‘मंसिर २ गते कार्यापालिकाको बैठक बसेको छ। उक्त बैठकले पालिकाभित्र रहेका भूकम्पबाट प्रभावित नागरिकहरुलाई विभिन्न चार भागमा विभाजन गरेर काम अगाडी बढाउने निर्णय गरेको छ। जसमा पहिलो प्रथामिकतामा २२५ घरधुरीलाई राखेका छौँ। दोस्रो प्रथामिकतामा उच्च जोखिममा रहेका ५२५ घरधुरी, तेस्रोमा जोखिम र चौथोमा सामान्य क्षति भएका घरधुरीलाई छुट्टाएर राहत वितरण, टहरा निर्माण गर्ने योजना बनाएका छौँ।’ 

उपाध्यक्ष गिरी थपे, ‘स्थानीय, प्रदेश र संघ सरकारको बजेटबाट गर्न सकिन्छ त्यो सबै व्यवस्था मिलाएका छौँ। प्रभावित बालबालिका, महिला, वृद्धावृद्धा, सुत्केरी तथा गर्भवतीलाई पालिकाको कार्यापालिका बैठकले पहिलो प्रथामिकतामा राखेर काम गर्ने निर्णय गरेको छ।’

बारेकोट गाउँपालिकाका ९ वटै वडामा राहत वितरणलगायत काम समान ढंगबाट वितरण गरेर सकिएको पालिकाले दाबी गरेको छ। 

यस्तै उपाध्यक्ष गिरीले भूकम्पका कारण भेरी नगरपालिका खलंगामा रहेको आफ्नो घरमा पनि पूर्ण रुपमा क्षतिसँगै दुई छोरी घाइते भएको दुखेसो पोखे।

‘गत कार्तिक १७ गते रातिदेखि नै जनताको काममा निरन्तर खटिएको छु। जनप्रतिनिधि भएका कारण बारेकोटका सबै वडामा खटिएको छु। भूकम्पले घाइते छोरीहरूसँग भेटघाट समेत भएको छैन’, उनले भने। 

चिसो बढ्दै गएकाले बारेकोटका भूकम्पपीडित दीर्घरोगीमा समस्या देखिन थालेको छ। यसका लागि यही मंसिर १० गते काठमाडौँबाट चिकित्सकसहितको टोली झिकाएर बारेकोट गाउँपालिकाको केन्द्रमै स्वास्थ्य शिविर सञ्चालन गर्ने गर्ने पालिकाले जनाएको छ।

यस्तै नलगाड नगरपालिकाका नगर प्रमुख डम्बरबहादुर रावतले आफ्नो पालिकामा चार हजारभन्दा बढी नागरिकको बास त्रिपालमै भइरहेको जानकारी दिए। उनका अनुसार नलगाड नगरपालिका–१ देखि ७ नम्बर वडासम्मका भूकम्पपीडित त्रिपालमुनि रात कटाइरहेका छन्। 

नगरप्रमुख रावतले त्रिपालमै बास बसेका नलगाड नगरपालिका–४ का ८४ वर्षीय गोपालबहादुर रावल र सोही वडाकी ४८ वर्षीया पम्फा रावलको मृत्यु भएको बताए।

उनले भने, ‘उहाँ दुई जना पनि भूकम्पबाट पीडित नागरिक हुनुहुन्थ्यो। त्रिपालमै बस्नुभएको थियो। दीर्घ रोगका कारण मृत्यु भएको हो।’ 

यस्तै नगरप्रमुख रावतले स्थानीयलाई रुघाखोकी तथा श्वासप्रश्वाससम्बन्धी समस्या पनि देखिन थालेको बताए।

‘अस्थायी टहरा बनाउँदा ढिला भयो भने पुस-माघ महिनामा अलि बढी समस्या हुने देखिन्छ। नागरिकलाई चिसोबाट बचाउन अस्थायी टहरा बनाउँदा पहिला खर वा पराल त्यसमाथि पाल राखेर टहरा निर्माण गर्ने सल्लाह सुझाएका छौँ। त्यसैगरी नमुनाका रुपमा दुई/तीनवटा टहरा पनि बनाएका छौँ। नगरपालिकाका प्रभावित सबैको तथ्या‌ंक संकलन गरेर अस्थायी टहरा निर्माणका लागि कामको सुरुवात गरेका छौँ’, उनले भने। 

उनका अनुसार भूकम्प प्रभावितले पहिलो चरणको राहतका रुपमा कम्बल, पाल, न्यायो, लुगा र खाद्यान्नलगायतका सामग्री पाइसकेका छन् भने अब दोस्रो चरणमा ५० हजार रुपैयाँ बराबरको अस्थायी टहरा बनाउने गरी नगरपालिकाले तयारी थालेको छ। 

भूकम्पबाट जाजरकोटका ९ हजार ७ सय १४ घर पूर्ण रुपमा क्षति पुगेको छ।  सात स्थानीय तह रहेको जाजरकोटमा ९ हजार १८६ घरधुरीका ६७ हजार १ सय ७४ परिवार विस्थापित भएका छन्। 

यस्तै ३४ हजार ५ सय १ घरधुरीका एक लाख ७९ हजार बढी जनसंख्या प्रभावित भएका छन् भने २४ हजार ७०७ घरमा आशिंक क्षति पुगेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .