ad ad

कर्णाली


राष्ट्रिय सभा निर्वाचन : माओवादी हुम्लाका ८ जनप्रतिनिधिले मतदान नगर्ने

राष्ट्रिय सभा निर्वाचन : माओवादी हुम्लाका ८ जनप्रतिनिधिले मतदान नगर्ने

दिनेश बुढा
पुस २२, २०८० आइतबार २१:२९, सुर्खेत

आगामी माघ ११ गते हुने १९ सिटका लागि राष्ट्रिय सभा निर्वाचनमा हुम्लाका ८ जना जनप्रतिनिधिले भाग नलिने निर्णय गरेका छन्। स्थानीय तहका माओवादी केन्द्रका ६ जना र दुई जना कर्णाली प्रदेशसभामा गरि ८ जना जनप्रतिनिधिले मतदान नगर्ने निर्णय गरेका हुन्।

शनिबार (पुस–२१) गते माओवादी केन्द्रका केन्द्रीय सदस्य समेत रहेका सिमकोट गाउँपालिका अध्यक्ष विजय भण्डारीको अध्यक्षतामा जनप्रतिनिधिहरुको बैठक बसेर उक्त निर्णय गरेको हो।  

यसरी मतदान नगर्ने निर्णय गर्नेमा माओवादीबाट कर्णाली प्रदेश सभामा रणसिंह परियार, समानुपातिक सांसद जुम्कीत लामा, सिमकोट गाउँपालिका अध्यक्ष विजय भण्डारी, ताँजकोट गाउँपालिका अध्यक्ष लालकेश जैशी, नाम्खा गाउँपालिका अध्यक्ष प्रेम लामा, अदानचुली गाउँपालिका उपाध्यक्ष कर्ण रोकाया, खार्पुनाथ गाउँपालिका उपाध्यक्ष ज्ञानबहादुर सिंह र सर्केगाड गाउँपालिका उपाध्यक्ष चन्द्रसिंह कार्की रहेका छन्।

माओवादी केन्द्रका केन्द्रीय सदस्य विजय भण्डारीले राष्ट्रिय सभाको मात्रै नभई पालिका तथा जिल्ला भन्दामाथि पार्टीका कुनै पनि गतिविधिमा साथ नदिने अवस्था रहेको नेपालखबरसँग बताए।

उनले भने, ‘हामीले अहिले राष्ट्रिय सभाको निर्वाचनका लागि मात्रै यो निर्णय गरेका हैनौं। यसपछि हुने पार्टीका पालिकास्तर हुँदै जिल्लास्तर सम्मको गतिविधिमा हामी सहभागी हुन्छौँ। त्यहाँ भन्दामाथिका पार्टीका कुनै पनि गतिविधिमा हामी सहभागी हुदैनौं। पार्टीलाई साथ दिदैनौं।’

उनीहरूले टिकट वितरणमा नेताहरु हावी भएको कर्णाली प्रदेशका १० जिल्ला मध्ये माओवादीले रुकुमपश्चिम, जाजरकोट र कालिकोटलाई मात्रै प्राथामिकता दिने हुम्लालाई सधैं उपेक्षामा राखेको भन्दै राष्ट्रिय सभाको निर्वाचनमा मतदानमा भाग नलिने निर्णय गरेका हुन्।

सत्ता गठबन्धनबीच राष्ट्रियसभाको सिट बाँडफाँड गरेको अवस्थामा नेतृत्वकर्ता दलका जनप्रतिनिधिले लिखित रुपमा गरेको यस्तो निर्णयले गठबन्धन दलहरूमा तरंग पैदा गरेको छ।

माओवादी केन्द्र हुम्लाले यसअघि राष्ट्रिय सभा निर्वाचनका लागि माओवादी जिल्ला समन्वय समितिका संयोजक डा. दिपेन्द्र रोकायालाई राष्ट्रिय सभाका लागि एकल नाम सिफारिस गरेको थियो। तर, गठबन्धनमा भागबण्डा गर्दा निर्वाचन हुने कर्णालीतर्फका तीन सिट मध्ये माओवादीका भागमा एक सिट मात्रै परेको छ। जसमा दलिततर्फ कालीकोटका विष्णु विश्वकर्माको नाम माओवादीले टुंगो लगाएको छ।

उनीहरूले पार्टीको तर्फबाट रुकुमपश्चिम, जाजरकोट र कालीकोटले मात्रै लाभ लिएको पार्टी नेतृत्वले हुम्लालाई सधैं बेवास्ता गरेको भन्दै असन्तुष्टि जनाएका छन्।

शनिबार भएको उक्त निर्णय माओवादी हुम्लाले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)लाई बुझाइसकेको भण्डारीले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .