कर्णाली


स्कुलमा ननाचेको भन्दै शिक्षकबाट कुटिए ८ वर्षीय बालक

स्कुलमा ननाचेको भन्दै शिक्षकबाट कुटिए ८ वर्षीय बालक

दिनेश बुढा
फागुन १७, २०८० बिहिबार १५:४, सुर्खेत

रुकुमपश्चिमको चौरजहारीमा रहेको एक विद्यालयमा शिक्षकबाट विद्यार्थी कुटिएका छन्।

चौरजहारी नगरपालिका–१२ सानाखोलामा रहेको जनकल्याण माध्यमिक विद्यालयमा कक्षा ३ मा पढ्ने ८ वर्षीय बालक धीरज आचार्यलाई शिक्षक खडक रोकायाले कुटपिट गरेको आफन्तको आरोप छ।

बालकले नाच्न नजानेपछि शिक्षकले कुटपिट गरेको आफन्तले दाबी गरेका छन्।

‘विद्यालयमा बच्चाहरू गोलो घेरा हालेर नाचिरहेका रहेछन्। अरु सबै विद्यार्थी नाच्दै थिए। हाम्रो बाबुले आफूलाई नाच्न आउँदैन् भनेर नाचेनछ’ उनले भने, ‘अनी खडक सरले आएर बाबुलाई पिट्नु भएछ।’

यस्तै, बालक धीरजले पनि विद्यालयमा शिक्षक रोकायाले आफूमाथि कुटपिट गरेको बताएका छन्।

बालकले भने, ‘स्कुलमा गोलो घेरा हालेर विद्यार्थीहरु नाचिरहेका थिए। हामी नाचेनौं। अरु विद्यार्थीहरूले गएर शिक्षकसँग ननाचेको कुरा भनिदिएपछि शिक्षकले आएर मलाई हान्नु भएको हो।’

शिक्षकको कुटपिटबाट धीरजको टाउकामा चोट लागेको छ भने ज्याकेटसमेत च्यातिएको आफन्तले बताए। बाहिरी रुपमा चोट पटक नदेखिए पनि टाउकोको भित्री भाग दुखिरहेको धिरजले बताएका छन्।

यता विद्यालयका प्रधानाध्यापक झुपलाल शर्माले विद्यार्थीमाथि शिक्षकले कुटपिट गरेको स्वीकार गरेका छन्। हिजो भएको उक्त घटना आफूलाई पनि जानकारी भएको तर, विद्यार्थीलाई त्यस्तो बाहिरी चोटपटक नलागेको उनले बताए।

प्रधानाध्यपक शर्मा भने, ‘कुटिएका भनिएका विद्यार्थी बालक बेलुका लाइन लगाएपछि पिटी खेलेर घर फर्किएका हुन्। तालुमा हल्का चोट देखिएको थियो। ठूलो समस्या कुनै हैन।’

प्रधानाध्यापक शर्माका अनुसार दिउँसो विद्यार्थीहरुको सामान्य झगडापछि आफूले बालकलाई हातले पिटेको शिक्षक खडक रोकायाले स्वीकार गरिसकेका छन्।

यस्तै, प्रधानाध्यापक शर्माले घटना घटेको दिन विद्यार्थी घर पुगिसकेपछि अभिभावकले घटनाको बारेमा फोनबाट सम्पर्क गरेपछि आज विहान १० बजे विद्यालयमा बोलाएको बताए।

उनले भने, ‘घटनाको विषयमा छलफलका लागि अभिभावकलाई विद्यालयमा आउनु भनेको थिएँ। तर, उहाँहरु उपचारमा जानु भएछ। बाहिर चोट देखिएको छैन। भित्री चोट लागेको भए उपचार गर्नुपर्ने हुन्छ। यदी त्यसो भएको खण्डमा उपचारमा लाग्ने सबै खर्च शिक्षकले ब्यहोर्नुपर्ने हुनसक्छ।’

विद्यार्थीका आफन्तले बालकको उपचार रुकुमपश्चिममै रहेको चौरजहारी अस्पतालमा गराएको र थप उपचारका लागि अस्पतालले बाहिर पठाउनुपर्ने बताएको आफन्तको भनाइ छ।

साथै, विद्यार्थीको कुटपिटको विषयलाई लिएर आवश्यक छलफलका लागि भन्दै दामोदर आचार्यले ईलाका प्रहरी कार्यालय जौरजहारीमा निवेदन समेत दिएका छन्।

यस्तै, केही दिन अगाडि सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–११ गाग्रेतालमा रहेको नेपाल राष्ट्रिय चन्द्रगंगा माध्यमिक विद्यालय कक्षा ५ मा पढ्ने ११ वर्षीय विद्यार्थी ललित रेग्मी पनि शिक्षिकाबाट कुटिएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .