कर्णाली


कर्णाली प्रदेश कृषि मन्त्रालयले थाल्यो स्वीकृत कार्यक्रम कार्यान्वयनको सहजीकरण

कर्णाली प्रदेश कृषि मन्त्रालयले थाल्यो स्वीकृत कार्यक्रम कार्यान्वयनको सहजीकरण

नेपालखबर
पुस १८, २०८१ बिहिबार १५:३७, सल्यान

कर्णाली प्रदेश सरकारको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले चालु आर्थिक वर्ष २०८१।०८२ मा स्वीकृत वार्षिक कार्यक्रम कार्यान्वयनको सहजीकरण थालेको छ।

मन्त्रायले कर्णाली प्रदेशका १० वटै जिल्लामा रहेका मातहत कार्यालयमा गर्ने उदेश्यका साथ प्राङ्गारिक कृषि पाठशाला सञ्चालन अभिमूखीकरण तथा प्राविधिक सहजीकरण सल्यान जिल्लाबाट सुरु गरेको हो।

बुधबार अन्तरक्रिया कार्यक्रममा कृषि तथा सहकारी सम्बन्धी कार्यक्रम (सञ्चालन तथा व्यवस्था) कार्यविधी २०८१, मूल्यवान लोगो, कृषक पाठशाला तथा व्याज अनुदानमा भएका कानूनीय व्यवस्थाका विषयमा छलफल गरिएको छ।

कृषि विकास कार्यालय र पशु अस्पताल तथा पशु सेवा कार्यालय सल्यानमा कार्यरत कर्मचारीहरुको उपस्थिति रहेको उक्त छलफल कार्यक्रममा मन्त्रालयका प्रवक्ता धनबहादुर कठायतले मन्त्रालयले प्राङ्गारिक कृषि पाठशाला सञ्चालन अभिमूखीकरण तथा प्राविधिक सहजीकरण मूल्यवान लोगो, व्याज अनुदान र कार्यविधीको बारेमा मन्त्रालयले छलफल थालेको बताए।

कठायतले सल्यान जिल्लाबाट सुरु गरेर रुकुमपश्चिम, जाजरकोट हुँदै १० वटै जिल्लामा छलफल तथा अन्तरक्रिया गर्ने मन्त्रालयले योजना बनाएको बताए।

सल्यानमा भएको अन्तरक्रियामा आफ्नो प्रस्तुतिकरण राख्दै प्रवक्ता कठायतले दिगो तथा जलवायु उत्थानशील कृषि व्यवसाय प्रवर्द्धनको लागि मन्त्रालयले बनाएको कार्य सञ्चालनको ढाँचाको बारेमा चर्चा गरे।

यस्तै, उक्त सहजीकरण अन्तरक्रिया कार्याक्रममा पशु अस्पताल तथा पशु सेवा कार्यालय सल्यानका प्रमुख गोविन्दबहादुर महतले आफ्नो कार्यालयका सबै कार्याक्रमहरुको कार्यान्वयनको अवस्था सन्तोकजनक रहेको दाबी गरे।

उनका अनुसार गत आर्थिक वर्षमा सल्यानमा ५ लाख ६६ हजार बाख्राको संख्या भएकोमा २२ हजार खसी, बोका बिक्री गरेर ५७ करोड र १५ हजार लिटर दूधबाट १ करोड ६२ लाख रकम आम्दानी भएको बताए।

स्रोत केन्द्रको अभाव, कार्यालय सञ्चालनको लागि बजेटको अभाव, कार्यविधी समयमै नआउने र एआई कार्यक्रमहरु गर्ने लगायतका समस्या भएको प्रमुख महतले बताए।

कृषि विकास कार्यालय सल्यानका प्रमुख महेश आचार्यले साना सिंचाई, लक्षित वर्ग, व्याज अनुदान लगायतका कार्यक्रमहरु कार्यान्वयनमा गइसेका बताए। भूकम्प प्रभावित जिल्लाका लागि कार्यक्रम कार्यान्वयनमा समस्या आएको बताउँदै उनले कार्यविधीमा स्पष्ट उल्लेख हुनुपर्ने बताए।

अन्तरक्रियामा बोल्दै कृषिमन्त्री विनोदकुमार शाहले सल्यानका किसानहरु मेहनती र लगनशील रहेका बताउँदै कृषि जनशक्ति र किसानकाबीचको समन्वयलाई प्रभावकारी बनाएको खण्डमा कृषिमा थप प्रगति गर्न सकिने बताए।उनले भने, ‘तपाईंको सीप तथा अध्ययनलाई किसानका माझमा पस्किनुभयो भने कृषि क्षेत्रको विकासमा सकारात्मक नतिजा आउने अपेक्षा लिएको छु।कृषि विज्ञहरुले ज्ञान किसानको खेतबारीमा हुनुपर्छ।’

मन्त्री शाहले किसानहरुको मनोविज्ञान बुझेर, उनीहरुका समस्यालाई ध्यानमा राखेर, कृषिलाई एउटै क्षेत्रमा नभइ पर्यटन, शिक्षा लगायतका क्षेत्रलाई जोडेर काम गर्न कृषि विज्ञ कर्मचारीहरुलाई सुझाव दिए। यस अन्तरक्रियाले प्रत्येक जिल्लामा उत्पादन हुने कृषि उपजहरुको अध्यान, मूल्यांकन, बजारीकरण तथा कृषिमा थप विकासका लागि आगामी वर्षका लागि मन्त्रालयले रणनीतिक योजना बनाउन सहज हुने मन्त्री शाहले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad