कर्णाली


मध्यपश्चिम विश्वविद्यालयको स्ववियु निर्वाचनमा २८६४ विद्यार्थीले गरे मतदान

मध्यपश्चिम विश्वविद्यालयको स्ववियु निर्वाचनमा २८६४ विद्यार्थीले गरे मतदान

नेपालखबर
चैत १८, २०८१ सोमबार १८:५, सुर्खेत

मध्यपश्चिम विश्वविद्यालयमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को मतदान सम्पन्न भएको छ। सोमबार बिहानदेखि सुरु भएको मतदानमा २८ सय ६४ विद्यार्थीले मतदान गरेका छन्। 

निर्वाचन अधिकृत खगेन्द्रप्रसाद अधिकारीका अनुसार समानुपातिकतर्फ २८ सय ६२ मत खसेको छ। चार हजार ३८३ मतदाता रहेको विश्वविद्यालयमा एक हजार ५१९ विद्यार्थी मतदानमा सहभागि भएनन्। 

निर्वाचन समितिका अनुसार मतपेटिका संकलन पश्चात बस्ने सर्वपक्षिय बैठकपछि मतगणना सुरु हुनेछ। मतदानबाट तीन पदाधिकारीसहित १७ सदस्यीय कार्यसमिति चयन हुनेछ। 

स्ववियु निर्वाचन कार्यविधिअनुसार अध्यक्ष, सचिव र कोषाध्यक्ष गरी तीन पदाधिकारी र सात जना सदस्य मतदाताबाट प्रत्यक्ष निर्वाचित हुन्छन् भने सात जना सदस्य समानुपातिक पद्धतिबाट निर्वाचित हुने प्रावधान छ। 

दुवै प्रणालीबाट निर्वाचित १४ जना सदस्यमध्येबाट कार्यसमितिले एक उपाध्यक्ष र एक सहसचिव चयन गर्ने व्यवस्था छ। त्यसपछि कार्यसमितिमा पाँच पदाधिकारी र १२ जना सदस्य रहन्छन्। 

स्ववियु नेतृत्वविहीन भएको ६ वर्षपछि विश्वविद्यालयमा निर्वाचन भएको हो। ८ भदौ २०७३ मा भएको पहिलो स्ववियु निर्वाचनबाट निर्वाचित पदाधिकारीको अवधि २०७६ मा सकिएपछि एमयूको स्ववियु नेतृत्वविहीन छ। 

२०७३ भदौमा सम्पन्न पहिलो निर्वाचनबाट नेविसंघका झक्कबहादुर शाही स्ववियु अध्यक्षमा निर्वाचित भएका थिए। तर, तत्कालीन उपकुलपति उपेन्द्र कोइरालाले कार्यकाल पूरा नहुँदै २०७५ मंसिरमा स्ववियु विघटन गरिदिएका थिए। 

तत्कालीन रजिस्ट्रारलाई बर्खास्त गरिएको विषयमा स्ववियुले विरोध जनाएपछि कोइरालाले उक्त कदम चालेका थिए।

अनेरास्ववियुले जगतजंग शाहीलाई स्ववियु अध्यक्षको उम्मेदवार बनाएको छ। नेविसंघले विवेक खड्का र अखिल क्रान्तिकारीले प्रकाश विकलाई अध्यक्षको उम्मेदवार बनाएका छन्। अखिल नेपाल विद्यार्थी युनियन (समाजवादी) बाट अध्यक्षमा चिनबहादुर सहकारी र नेपाल क्रान्तिकारी विद्यार्थी संघबाट अस्मिता सुनार उम्मेदवार बनेकी छन्। 

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (छैठौं) बाट लेलिनकुमार रेग्मी, राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनबाट विकल्प वली र मिलन विसीले स्वतन्त्र उम्मेदवारी दिएका छन्। 

सचिव र कोषाध्यक्षमा पनि दुई जनाले स्वतन्त्र उम्मेदवारी दिँदा सदस्यमा ३३ जनाले उम्मेदवारी दिएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad