कर्णाली


काँक्रेविहार खोज, अनुसन्धान तथा पर्यटन महोत्सव हुँदै

काँक्रेविहार खोज, अनुसन्धान तथा पर्यटन महोत्सव हुँदै

नेपालखबर
असार १२, २०८२ बिहिबार १६:१५, सुर्खेत

सुर्खेतको प्रमुख धार्मिक तथा ऐतिहासिक पर्यटकीय गन्तव्य काँक्रेविहारमा ‘खोज, अनुसन्धान तथा पर्यटन महोत्सव’ आयोजना हुने भएको छ। सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–९ नम्बर वडाले काँक्रेविहारको ऐतिहासिक, पुरातात्त्विक, सांस्कृतिक र धार्मिक पक्षको गहन अध्ययन, समीक्षा तथा प्रचारप्रसार गर्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागेको हो।

भोली शुक्रबारदेखि महोत्सव सुरु हुने वीरेन्द्रनगर नगरपालिका–९ का वडाध्यक्ष ऋषि गिरीले जानकारी दिए। 

उनले ऐतिहासिक, सांस्कृतिक, धार्मिक तथा पर्यटकीय दृष्टिले अनुपम सम्पदाको रूपमा स्थापित काँक्रेविहार परिसरमा ‘काँक्रेविहार खोज अनुसन्धान तथा पर्यटन महोत्सव’ र ‘युवा, बालबालिका तथा विद्यार्थी सम्मेलन’ हुने बताए।

उनले भने, ‘महोत्सवको मूल उद्देश्य काँक्रेविहारको ऐतिहासिक, पुरातात्त्विक, सांस्कृतिक र धार्मिकपक्षको गहन अध्ययन, समीक्षा तथा प्रचारप्रसार गर्नु हो। यस महोत्सव तथा सम्मेलनले काँक्रेविहारलाई शैक्षिक विमर्श, बौद्धिक अन्तर्क्रिया र सांस्कृतिक अभिव्यक्तिको साझा मञ्च बनाउने विश्वास हामीले लिएका छौँ।’

उनकाअनुसार महोत्सव तथा सम्मेलनमा काँक्रेविहारसम्बन्धी महत्त्वपूर्ण कार्यपत्र प्रस्तुत गरिनेछ भने, विद्वत् टिप्पणी तथा खुला बहस पनि आयोजना गरिनेछ।

यस महोत्सवले स्थानीय समुदायमा सांस्कृतिक स्वामित्वको भावना अभिवृद्धि गर्ने तथा कर्णाली प्रदेशको आन्तरिक पर्यटन प्रवर्द्धनमा समेत नयाँ दिशाहरू खोल्ने तथा महोत्सवमार्फत काँक्रेविहार सम्पदास्थलको संरक्षण, प्रवर्द्धन र दिगो विकासका सम्भावनाहरू पहिचान गर्न सहयोग पुग्ने विश्वास लिइएको बिहीबार आयोजित पत्रकार सम्मेलनमा वडाध्यक्ष गिरीले बताए।

यस्तै, वडा कार्यालयले महोत्सवमा काँक्रेविहारको ऐतिहासिक, सांस्कृतिक र पर्यटकीय महत्त्वका विषयमा वक्तृत्वकला प्रतियोगिता ९कक्षा ९–१२०, सपनाको काँक्रेविहार शीर्षकमा चित्रकला प्रतियोगिता ९कक्षा ६–८०, स्थानीय कला संस्कृति झल्किने नृत्य प्रतियोगिता ९कक्षा १–५० आयोजना गरिने जनाएको छ।

काँक्रेविहार एक प्राचीन बौद्धविहार हो। यसको निर्माण करिब १२औँ शताब्दीमा भएको मानिन्छ। विभिन्न अभिलेखहरू तथा उत्खननबाट प्राप्त मूर्तिहरूले यस स्थानलाई लिच्छवि र मल्लकालीन युगसँग जोड्दछ। यहाँ बुद्ध, अवलोकितेश्वर, तारादेवी र अन्य बौद्ध देव–देवीहरूका मूर्तिहरू अवस्थित छन्।

काँक्रेविहार सुर्खेत उपत्यकाको सांस्कृतिक पहिचान मात्र नभएर समग्र कर्णाली प्रदेशको गौरवशाली इतिहास, धार्मिक सहिष्णुता र कलात्मक सम्पन्नताको प्रतीकको रूपमा रहेको एक महत्त्वपूर्ण स्थल भएकाले यसको प्रचारप्रसारका लागि महोत्सवको अयोजना गरिएको वडा कार्यालयले जनाएको छ।

साथै, महोत्सवमा समाजका विभिन्न क्षेत्रमा योगदान पुर्‍याएका महत्त्वपूर्ण व्यक्तित्वलाई सम्मानका साथै विद्यालयस्तरीय विज्ञान तथा शैक्षिक प्रदर्शनी, स्थानीय थारू, भोटे र अन्य आदिवासी समुदायहरूको सांस्कृतिक प्रस्तुति प्रदर्शन गरिनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad