कर्णाली


उपचारका लागि नेपालगन्ज जाँदै थियो केसी परिवार, गाडी पल्टिँदा बिरामीसहित ३ जनाको गयो ज्यान

मृतक पबीका छोराछोरी पनि घाइते
उपचारका लागि नेपालगन्ज जाँदै थियो केसी परिवार, गाडी पल्टिँदा बिरामीसहित ३ जनाको गयो ज्यान

आइतबार सल्यानमा सडकबाट खसेको फोर्स गाडी। दुर्घटनामा एकै परिवारका ३ जनाको मृत्यु भएको छ।


दिनेश बुढा
असोज १२, २०८२ आइतबार ९:४७, सुर्खेत

राप्ती राजमार्गअन्तर्गत सल्यानको कपुरकोट गाउँपालिका-३, चोरखोलामा आज बिहान फोर्स गाडी दुर्घटना हुँदा एकै परिवारका ३ जनाको मृत्यु भएको छ। 

प्रहरीका अनुसार बिहान करिब ४ बजेतिर लु २ ख ६५०२ नम्बरको फोर्स गाडी दुर्घटनामा परेको हो।

दुर्घटनामा एकै परिवारका तीन जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन्।

सल्यान जिल्ला प्रहरी कार्यालयका अनुसार दुर्घटनामा रुकुमपश्चिमको बाँफीकोट गाउँपालिका ५ बस्ने अन्दाजी ६८ वर्षीया पबी केसी, उनका देवरका छोराहरू अन्दाजी २५ वर्षीय प्रकाश केसी र अन्दाजी २७ वर्षीय शशीधर केसीको मृत्यु भएको हो।

उनीहरूको मृत्यु घटनास्थलमै भएको प्रहरीले जनाएको छ। 

यस्तै दुर्घटनामा अन्दाजी ४७ वर्षीय खगेन्द्र केसी र ३६ वर्षीया बिना केसी घाइते भएका छन्। उनीहरू पनि मृतक पबीका आफ्नै छोराछोरी हुन्। 

घाइते दुवैलाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुर दाङमा सामान्य उपचारपश्चात् थप उपचारका लागि आज बिहान ६ बजेतिर बाँकेको नेपालगन्ज रेफर गरिएको प्रहरीले जानकारी दिएको छ।

बाँफीकोट गाउँपालिका-५ का वडाध्यक्ष मनु शाहीका अनुसार पबी केसीलाई उपचारका लागि नेपालगन्ज लाँदै गर्दा गाडी दुर्घटनामा परेको हो। 

‘उहाँहरू एउटै घरपरिवारका सदस्य हुनुहुन्छ। पबी केसीलाई पेटको समस्या भएका कारण उपचारमा जाँदै हुनुहुँदो रहेछ उनले भने, तर, दसैँको मुखैमा दु:खद घटना घट्यो।’

वडाध्यक्ष शाहीका अनुसार पबी केसी पहिलादेखि नै पेटको समस्याले पीडित थिइन्। धेरैपटक बाहिर लगेर पनि उपचार गरिएको थियो।

उनले भने, केही दिनअघि मात्रै चौरजहारी अस्पतालमा चेकअफ गर्न लैजाने भन्दै मेरो घरमा रहेको स्ट्रेचर पनि मागेर लगेका थिए। त्यहाँ जाँच गरेपछि नेपालगन्ज लैजान रेफर गरेको हुनुपर्छ।’

गाडी पनि केसी परिवारभित्रकै रहेको वडाध्यक्ष शाहीले बताए। गाडी सडकबाट करिब चार सय मिटर तल खसेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad