राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानकी पूर्वउपकुलपति डा संगीता भण्डारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरुद्ध १२ करोड रुपैयाँ भ्रष्टाचार गरेको अभियोगसहित विशेष अदालतमा मुद्दा दायर गरेको हो।
उनले एमआरआई मेसिन खरिदमा घोटाला गरेको अख्तियारको अनुसन्धानले देखाएको छ।
यस प्रकरणमा भण्डारीसहित १३ जना प्रतिवादी छन्।
प्रतिष्ठानका तत्कालीन कामु रजिष्ट्रार झन्कार लामिछाने, तत्कालीन फाईन्यान्स मेनेजर कैलाश प्रसाद देव, बोयोमेडिकल इन्जिनियर शरद भण्डारी र त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पताल महाराजगञ्ज, काठमाडौँका बायोमेडिकल ईन्जिनियर अमित कुमार चौधरीविरुद्ध मुद्दा दायर भएको छ।
यस्तै, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका डेपुटी फाइनान्स मेनेजर नितिन कुर्मी, शाखा अधिकृत छायाँ डिसी, शाखा अधिकृत श्रीराम चौधरी, आईटी अफिसर हिरालाल भण्डारी, तत्कालीन सिभिल इन्जिनियर मदन भण्डारी, तत्कालीन वरिष्ठ सहायक अन्जु शर्माविरुद्ध पनि अख्तियारले मुद्दा दायर गरेको हो।
स्वास्थ्य सेवा विभागका तत्कालीन बायोमेडिकल इन्जिनियर सुजाता भट्टराई र लुम्बिनी हेल्थकेयर प्रालि तथा उक्त कम्पनीका मुख्य भई कार्य गर्ने अध्यक्ष पोष्ट राज ज्ञवालीलाई पनि अख्तियारले प्रतिवादी बनाएको छ।
Shares

प्रतिक्रिया