कर्णाली प्रदेश सरकारले सहिद तथा जीवन निर्वाह विशेष भत्ताका लागि विनियोजन गरेको रकम मध्ये झन्डै ५ करोड रुपैयाँ तत्काल अख्तियारी दिने निर्णय गरेको छ।
मंगलबार बिहान बसेको कर्णाली प्रदेश सरकार मन्त्रिपरिषद्को बैठकले उक्त विनियोजन बजेट स्थानीय तहका निकासा दिन अख्तियारी पठाउने निर्णय गरेको हो।
कर्णाली सरकारका प्रवक्ता एवं भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विनोदकुमार शाहले विगतका वर्षहरुमा हरेक चालु आर्थिक वर्षमा अन्त्य दिँदै आएको अख्तियारी यस वर्ष स्थानीय तहको माग अनुसार बीचमा पनि दिनका लागि सरकारले निर्णय गरेको जानकारी दिए।
प्रवक्ता शाहले कर्णाली प्रदेश विनियोजन ऐन, २०८२ को दफा ५ को उप दफा ३ बमोजिम सहिद स्मृति भत्ता वितरणका लागि २ करोड ५५ लाख ७२ हजार रुपैयाँ र जीवन निर्वाह विशेष भत्ता वितरणका लागि २ करोड २९ लाख ८० हजार रुपैयाँ गरी कुल ४ करोड ८५ लाख ५२ हजार रुपैयाँ स्थानीय तहमा अख्तियारी पठाउन स्वीकृति दिने निर्णय भएको जानकारी दिए।
यो रकम आर्थिक मामिला तथा योजना मन्त्रालयमार्फत पठाइने छ। यसले सहिद परिवार र जीवन निर्वाहमा कठिनाइ भोगेका नागरिकलाई राहत पुग्ने अपेक्षा गरिएको प्रवक्ता शाहले जानकारी दिए।
यस्तै, मन्त्रिपरिषद् बैठकलले प्रदेशको विकास, सुशासन र सामाजिक न्यायसँग सम्बन्धित विभिन्न ६ वटा कार्यविधि तथा निर्देशिकालाई समेत स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ।
जसमा आयोजना प्रस्ताव तथा छनौट प्रक्रिया सम्बन्धी (दोस्रो संशोधन) कार्यविधी २०८२, कर्णाली प्रदेश समपूरक अनुदान सम्बन्धी (पहिलो संशोधन) कार्यविधि, २०८२, कर्णाली प्रदेश विशेष अनुदान सम्बन्धी (पहिलो संशोधन) कार्यविधि, २०८२, कर्णाली प्रदेश सशर्त अनुदान सम्बन्धी (पहिलो संशोधन) कार्यविधि, २०८२ र लैङ्गिक हिंसा प्रभावितका लागि घटना व्यवस्थापन तथा प्रेषण प्रक्रिया निर्देशिका, २०८२ लाई पनि स्वीकृति प्रदान गरिएको छ।
Shares

प्रतिक्रिया