कर्णाली


राउटेलाई नागरिकता दिँदै गुराँस गाउँपालिका, स्थायी बसोबासका लागि विशेष वडा घोषणा गरिने

राउटेलाई नागरिकता दिँदै गुराँस गाउँपालिका, स्थायी बसोबासका लागि विशेष वडा घोषणा गरिने

दिनेश बुढा
माघ २, २०८२ शुक्रबार १६:२१, सुर्खेत

दैलेखको गुराँस गाउँपालिकाले राउटे समुदायलाई नागरिकता प्रदान गर्ने तयारी गरेको छ। पुस २९ गते सम्पन्न भएको १७औँ गाउँ सभाको अधिवेशनमा गुराँस गाउँपालिका–८ का वडाध्यक्ष तथा सुशासन समिति संयोजक दीपेन्द्र वीलीले राउटे समुदायको हक, अधिकार र अस्तित्व सुनिश्चित गर्ने उद्देश्यसहित प्रस्तुत गरेको जरुरी सार्वजनिक महत्वको प्रस्ताव गाउँसभाबाट बहुमतले पारित भएको छ। 

प्रस्तावमा नेपालको संविधानको धारा ५६ को उपधारा (५) मा व्यवस्था गरिएको विशेष वा स्वायत्त क्षेत्रको अवधारणालाई आधार मानेर गुराँस गाउँपालिकाभित्र बसोबास गर्ने फिरन्ते राउटे समुदायलाई लक्षित गरी गैरभौगोलिक विशेष वडा गठन गर्ने व्यवस्था अघि सारिएको छ। जसमा विशेष वडा गुराँस गाउँपालिका–९ नम्बर वडाको रूपमा घोषणा गरिनेछ। 

यस्तै, राउटे समुदायलाई पहिलो पटक औपचारिक रूपमा नेपाली नागरिकताको प्रमाणपत्र वितरण गर्ने र मताधिकारसमेत प्रदान गर्ने स्पष्ट उल्लेख गरिएको छ। राउटे समुदायलाई राज्यको मूल प्रवाहमा जोड्ने ऐतिहासिक कदमको रूपमा यसलाई हेरिएको छ।

यस्तै, राउटे समुदायको परम्परागत संस्कार, संस्कृति र जीवनशैली मासिन नदिने कुरामा विशेष जोड दिँदै फिरन्ते जीवनशैलीलाई सुरक्षित र सम्मानजनक ढंगले निरन्तरता दिनुपर्ने, साथै समुदायभित्रको आन्तरिक नेतृत्व संरचना पनि उनीहरूको परम्पराअनुसार नै रहने व्यवस्था प्रस्तावमा उल्लेख गरिएको छ।

एकजनालाई वडाध्यक्ष (महामुखिया)को रूपमा चयन गरिने
यस्तै, प्रस्तावअनुसार राउटे समुदायका कलेल, राष्कोटी र स्ववंशी सन्तानबाट एक–एक जना गरी तीन जना सदस्य (उनीहरूको भाषामा मुखिया) निर्वाचित गरिनेछ। ती तीन जनामध्ये एक जनालाई वडा अध्यक्ष (महामुखिया)को रूपमा चयन गरिनेछ भने एक जना महिलालाई महिला सदस्य को रूपमा प्रतिनिधित्व गरिने व्यवस्था गरिएको छ। 

राउटे समुदायलाई राज्यको कार्यपालिका र व्यवस्थापिकामा पुर्‍याउने, निर्णायक सहभागिता र आत्मनिर्णयको अधिकार सुरक्षित गर्ने, राउटेको नाममा हुने गलत गतिविधि नियन्त्रण गर्ने तथा उनीहरूको संस्कार, संस्कृति, जीवनशैली र अस्तित्व जोगाउने लक्ष्य यसमा समेटिएको छ। 

साथै, राज्यबाट उपलब्ध गराइने शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षा लगायतका सेवासुविधामा उनीहरूको सहज पहुँच सुनिश्चित गर्ने उद्देश्य पनि प्रस्तावमा उल्लेख गरिएको छ।

गुराँस गाउँ सभाबाट पारित भएको उक्त प्रस्ताव प्रदेश सभा र प्रदेश सरकारमा सिफारिस गरिनेछ। त्यसपछि प्रदेश तहबाट संघीय सरकार र संघीय व्यवस्थापिकामा सिफारिस भई अन्तिम स्वीकृति लिइने व्यवस्था गरिएको छ। संघीय तहबाट स्वीकृति प्राप्त भएपछि राउटे समुदायका नागरिकलाई नागरिकता प्रदान गरी मतदाता सूचीमा समावेश गरिनेछ।

राज्यको मूल प्रवाहमा ल्याउनुपर्छ: अध्यक्ष बिसी
गाउँपालिकका अध्यक्ष टोपबहादुर बिसीले राउटेहरूलाई पालिकाले विगतेदेखिनै सेवा–सुविधा दिँदै आएकोमा त्यसलाई थप विस्तार गरेर राज्यको मूलप्रवाहमा ल्याउनका लागि नागरिकता दिन लागिएको बताए।

उनले भने, ‘राउटे समुदाय गुराँस गाउँपालिकाको स्थानीय नागरिक हुन् भनेर दाबी र सेवा–सुविधा त्यहीँ अनुसारको प्रदान गरिरहँदा उनीहरू नेपाली नागरिक भएको आधिकारिक कागजातहरू केही पनि छैन। कहिलेकाँही यहाँदेखि जंगलको बाटो हिँड्दा–हिँड्दै भारत पुगेपछि त्यहाँ फर्काएर ल्यउँदा हाम्रा नागरिकहरू हुन् भनेर भन्ने प्रमाण पनि छैन। त्यसैका लागि पालिकाले यो कदम चाल्नु परेको हो।’

साथै, अध्यक्ष बिसीले राउटेका नाममा विगतदेखिनै सरकार तथा विभिन्न नामका संघ–संस्थाहरूले काम गरेपनि राउटेहरूलाई कसैले नागरिकता दिन नसकेको बताए। नागरिकता दिने प्रक्रिया अगाडि बढेको पनि अध्यक्ष बिसीले दाबी गरे।

उनले भने, ‘हामी आफू नागकिरकता दिने सक्ने निकाय नभएकाले संघीय सरकारको सहयोग लिनुपर्ने भएकाले पुस २९ गते भएको गाउँसभाले राउटेको नागरिकता सम्बन्धित प्रस्ताव पारित गरेको छ।’

यस्तै, अध्यक्ष बिसीले राउटेहरूलाई नेपाली नागरिक बनाउन र नेपाल सरकारले राउटेहरूलाई आफ्नो नागरिक हुन् भनेर स्वीकार गर्न तथा राउटेलाई पनि यो देशका नागरिक हौँ भन्ने बोध गराउँन यो पक्रिया अगाडि बढाइएको बताए। 

‘राउटेलाई यो देशले प्रदान गरेका सेवा–सुविधाहरू पाउन, नागरिकको हक अधिकारहरु र आधारभूत आवश्यकता पुरा गर्नका लागि विधिगत रुपमा नागरिकता प्रदान गर्दैछौँ’ अध्यक्ष बिसीले भने, ‘नेपालको लोपउन्मुख समूदाय तथा अल्पसंख्यक भएकोले राउटेका मुखियालाई जनप्रतिनिधि बनाउने कुरा प्रस्तावमा छ।’

यस्तै, ८ वटा वडा रहेको गुराँस गाउँपालिकामा राउटेहरू स्थायी रुपमा बसेपछि भौगोलिक वडा थप गरी ९ बनाउने र उनीहरू नबसेको खण्डमा राजनीतिक र प्रशासनिक केन्द्रको रुपमा गैरभौगोलिक विषेश वडा बनाउने अध्यक्ष बिसीको भनाइ छ। 

यसअघि राउटेहरुलाई गाउँपालिकाले २०७६/०७८ मा पहिलो पटक र २०८० मा गरी दुई पटक परिचय–पत्र प्रदान गरेको थियो। तर, अस्थायी परिचय पत्रले गणना गर्ने, जन्मदर्ताको व्यवस्थापन, चिन्ने काम मात्रै भएको तर, त्यो परिचय पत्रका आधारमा बैंक खाता पनि नखुल्ने, भत्ता वितरण लगायत अन्य सेवा सुविधा प्रदान गर्नमा समस्या भएको उनले बताए। 

आम नागरिकहरूले गर्ने हरेक कामहरूमा राउटेलाई जोडेर लैजाने र अन्य नागरिकहरू सरह राउटेलाई पनि स्वीकार गर्नुपर्ने जिल्ला प्रशासन कार्यालय दैलेखलाई गाउँपालिकाले चिठी लेखेर पठाएको र थप प्रक्रियामा अगाडी बढ्ने गुराँस गाउँपालिकाले जनाएको छ। 

२०८४ मा हुने स्थानीय तहको निर्वाचनसम्म नागरिकता प्रदान गर्नका लागि पालिकाले पहल गरिरहेको बताए। 

नागरिकता लिन्छौँ राउटे मुखिया 
यस्तै, राउटे समुदायका मुखिया शेरबहादुर शाहीले सेवा–सुविधा पाउँनेभएपछि राउटेले नागरिकता बोक्ने बताए। उनले भने, ‘पहिला–पहिला राउटेले केही पनि बोक्दैनँ थियो। मोबाइल पनि बोक्दैनँ, नागरिकता पनि बोक्दैन्, लेखापढी पनि गर्दैन्। सरकारले रोउटेलाइ सेवा–सुविध दिन्छ भने नागरिकता बोक्छौँ।’

मुखिया शाहीले पछिल्लो समय विस्तारै–विस्तारै राउटेकोहरुको जीवनशैलीमा पनि परिवर्तन आउन थालेको बताए।

उनले भने, ‘पहिला राउटेको चोला (राउटेको जीवनशैली) असामान्य थियो। लुगा नलगाउँदा पनि चिसो हुँदैन थियो। काठका भाडाकुँडा बनाएर खान्थ्यौँ। आजभोलि त्यस्तो गर्नुपदैन। अहिले चामल किन्नु पर्दैन, भत्ता पनि आउँछ। धेरै सुविधा भएको छ।’

हाल १३७ जना जनसंख्या रहेको राउटे समुदाय सुर्खेतको लेकबेशी नगरपालिकाको गंगटेमा अस्थायी रुपमा बसोबास गरिरहेको छ। 
 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad