कर्णाली


कर्णालीका १२ क्षेत्रमा १३८ मध्ये ११ महिला उम्मेदवार, एमाले र नेकपाले योग्य ठानेनन्

कर्णालीका १२ क्षेत्रमा १३८ मध्ये ११ महिला उम्मेदवार, एमाले र नेकपाले योग्य ठानेनन्

दिनेश बुढा
माघ ८, २०८२ बिहिबार २१:१५, सुर्खेत

आगामी २१ फागुनमा सम्पन्न हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कर्णालीबाट १३८ जनाले उम्मेदवारी दिएका छन्।

निर्वाचन आयोगका अनुसार कर्णालीका १० जिल्लाका १२ निर्वाचन क्षेत्रमा विभिन्न राजनीतिक दल तथा स्वतन्त्र गरी १३८ उम्मेदवारले मनोनयन दर्ता गरेका थिए। 

कर्णालीमा प्रमुख राजनीतिक दल नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी (नेकपा), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वाप), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय जनमोर्चा, उज्यालो नेपाल पार्टी, श्रमसंस्कृति पार्टी, विप्लव नेतृत्वको नेकपा माओवादी लगायतले उम्मेदवारी दर्ता गराएका छन्। 

११ महिला मैदानमा, ठूला दलले स्थान दिएनन्
निर्वाचन आयोगको कर्णाली प्रदेश कार्यालय सुर्खेतका निमित्त प्रदेश निर्वाचन अधिकारी नन्दराम चौलागाईँका अनुसार उम्मेदवारको प्रकाशन प्रारम्भिक नामावलीमा ११ जना महिला उम्मेदवार छन्।

ठूला दलले उपेक्षा गर्दा कर्णालीमा साना दलले महिलालाई केही जिल्लामा अवसर दिएका छन्। तर, उनीहरूले जित्ने सम्भावना भने कमै देखिन्छ।  

नेपाली कांग्रेसले दैलेख निर्वाचन क्षेत्र नम्बर–१ मा बासना थापालाई प्रतिनिधिसभा सदस्यको टिकट दिएको छ। अन्य निर्वाचन क्षेत्रबाट उम्मेदवार आकांक्षीका रुपमा सिफारिस भएपनि महिलाहरूले अवसर पाएनन्। 

यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टी रास्वापाले कर्णालीका दुई निर्वाचन क्षेत्रमा महिलालाई अवसर दिएको छ। रास्वपाले जुम्लाबाट विनिता कठायतलाई उम्मेदवार बनाएको छ। उनी २०७९ को प्रतिनिधिसभा निर्वाचनमा रास्वपाबाट समानुपातिक प्रणालीबाट निर्वाचित भएकी थिइन। 

रास्वपाले हुम्लाकी टासी ल्हान्जोमलाई पनि प्रतिनिधिसभा सदस्यमा प्रत्यक्षतर्फको टिकट दिएको छ। रास्वपाले सुरुमा टासीको नाम समानुपातिक सूचीमा राखेको थियो। 

यस्तै, सुर्खेत–२ मा नेपाल मजदुर किसान पार्टीबाट तुल्छी खड्का, दैलेख–२ मा राप्रपाबाट बविता शाही, आम जनता पार्टीबाट तिर्थाकुमारी वंशी मगर उम्मेदवार छन्। 

दैलेख–१ मा आमजनता पार्टीबाट मेनका श्रेष्ठ, रुकुमपश्चिममा आमजनता पार्टीबाट प्रेमा दमाई, सल्यानमा राप्रपाबाट अनिशा नेपाली र राष्ट्रिय जनमोर्चाबाट कमला डांगी प्रतिनिधिसभा सदस्यतर्फ प्रत्यक्षका उम्मेदवार बनेका छन्। 

नेकपा एमालेले भने कर्णालीबाट प्रत्यक्षतर्फ योग्य महिला नै भेटाएन। आकांक्षीको रुपमा केही जिल्लाबाट महिलाहरू सिफारिस भएको भएपनि अन्ततः चुनावनको टिकट भने पुरुषले नै पाए। 

तत्कालीन माओवादी हालको नेकपाले पनि महिलालाई अवसर दिन चाहेन। २०७९ सालको निर्वाचनमा नेकपा (साविकको नेकपा माओवादी केन्द्र)ले जुम्लाबाट गोमा गौतम कुँवरलाइ उम्मेदवार बनाएको थियो। उनी १० हजार ८६० मतान्तरले राप्रपाका ज्ञानेन्द्र शाहीबाट पराजित भएकी हुन्। 

यस्तै, २ निर्वाचन क्षेत्र रहेको सुर्खेतबाट २८ पुरुष र २ महिला गरी ३०, डोल्पाबाट ८ पुरुष र १ महिला गरी ९, मुगुबाट ७ पुरुष, जुम्लाबाट १ महिला र ९ पुरुष गरी १०, कालीकोटबाट १४ पुरुष, हुम्लाबाट १ महिला र ७ पुरुष गरी ८, रुकुमपश्चिमबाट ११ पुरुष र १ महिला गरी १२, जाजरकोटबाट ११ पुरुष, डोल्पाबाट ८ पुरुष र १ महिला गरी ९, देलैख क्षेत्र नम्बर–१ बाट १ महिला र ९ पुरुष गरी १० र क्षेत्र नम्बर–२ बाट २ महिला र ९ पुरुष गरी ११ जनाले प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका छन्। 

यी मध्ये १४ जना उम्मेदवार स्वतन्त्रबाट छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad